Butwal Today

गाईको हेरचाहमा ‘सेन्सर बोल्ट’

१० श्रावण २०८०, बुधबार
अ+
अ-

बुटवल, १० साउन ।  प्रत्येक गाईको घाँटीमा एउटा/एउटा ‘सेन्सर बोल्ट’ राखीएको छ । फार्म भित्र गाई खुल्ला छन् । गाईखुल्ला रूपमा हिँड्डुल गर्छन् । प्रत्येक गाईको छुट्टा–छुट्टैै नम्बर दिइएको छ । कुन गाई कहाँ, छ, कस्तो अवस्थामा छ, उसको शरीरको तापक्रम कति छ ?, रोग पो लागेको छ की, शरीरको चाल के छ ? सम्बन्धी सबै तथ्यांक सोही सेन्सरमार्फत जोडीएको उच्च प्रविधिले कम्प्युटरमा देखाउँछन् । जसको मोनिटरिङ्ग गरिरहेका हुन्छन एक जना प्राविधिक समेत रहेका पशु चिकित्सकले ।

रूपन्देहीको रोहीणी गाउँपालिका वडा नम्बर २ बोधबारमा रहेका आनन्द एग्रो ईन्डष्ट्रिजकोमा पालिएका गाईको विवरण हो । झट्ट हेर्दा कुनै विदेशी फार्ममा गएको जस्तो गरी निर्माण गरिएको संरचनाका सञ्चालक नवलपरासीका मनोज कुमार यादव हुन । उनी परासीमा आफ्नै राईस मिल सञ्चालन गर्दै आएका थिए । पशुपालन क्षेत्रमा उच्च प्राविधिक सहितको फार्म स्थापना गरेका उनको फार्ममा अहिले २ सय भन्दा बढि गाई छन् । दैनिक ९ सय ७५ लिटर दुध संकलन हुने उनको फार्ममा भैरहवा देखि परासी हँुदै देवदह र बुटवल सम्म दैनिक दूध आउने गर्दछन् ।
सेन्सर जडान गरिएको कारण कुन गाई कतिखेर, कुन समयमा साढे खोजेको हुन्छ, कति बेला उसले दूध दिन्छ, खाना कति मात्रामा खायो, विरामी छ या रोगी के छ भन्ने विषयमा समेत सबै विवरण थाहा हुने उक्त फार्ममा कार्यरत पशु चिकित्सक तथा प्राविधिक डा. श्यामविर बर्मा बताउँछन् । उनी यसैका लागि भारतदेखि आएर रोजगारी गरिरहेका छन् ।

२७ कठ्ठा क्षेत्रफलमा फैलिएको फार्मको लागि छुट्टै १२ विघाक्षेत्रफलमा घाँस खेती समेत गरिएको छ । फार्मले पशुको गोबर बाट पाउडर मल (कम्पोष्ट धुलो मल) बनाएर विक्रि वितरण समेत गर्दै आएको छ । निकट भविश्यामा प्याकेजिङ्ग सहितको मल उत्पादन गर्ने योजना बनाइएको फार्म सञ्चालक मनोज कुमार यादव बताउँछन् । फार्मममा अधिकांश उपकरण जोडीएका छन्, गाईको चिसोका लागि प्रत्येक पोलमा पंखा जडान गरिएको छ, दूध दुहुने स्थान अलग्गै छन्, जहाँ पनि प्रविधिमार्फ दुध दुहिन्छ । दुहुनो गाई, व्याउन लागेका गाई र थाकेका गाईहरूलाई समेत अलग–अलग राखेर निगरानी गरिँदै आएको छ ।

कम्पाउन्ड भित्र निर्माण गरिएको सेडमा खुल्ला रूपमा गाईले आहारा खाने, आराम गर्ने स्थान बनाइएको छ । जहाँ गाईलाई कुनै पनि दाम्लो प्रयोग गरिएको छैन । सरसफाई लगायतका हेर्ने गरी दर्जन कर्मचारी समेत व्यवस्थापन गरिएको छ । १० करोड भन्दा बढि लगानी गरिएको फार्ममा जर्मन बाट ल्याएको प्रविधिको प्रयोग गरिएको हो । जसको लागि मोनीटङ्गि गर्नको लागि ठुलो टावर समेत निर्माण गरिएको जर्मनी कम्पनीको शाखा भारतबाट यसको नियमित मोनिटरिङ्ग समेत अनलाईन विधि बाट हुदै आएको छ ।

दैनिक बिहान साँझा गरी ३० लिटरसम्म दुध दिने गाई फार्मममा रहेका छन् । ती गाई सबै होलिष्टीन जातका हुन । फार्मको सुधारका लागि विभिन्न उपकरणहरू नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलले सहयोग गरेको छ भने कम्पोष्ट मल सञ्चालनका लागि जिल्लाको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुदान समेत दिएको छ । नयाँ जडान गरिएको प्रविधिको कारण कुन गाईको अवस्था के कस्तो छ, उसले कती खेरा गर्भधारण गर्न परिपक्क हुन्छ, उसको शरिरको तापक्रम कति छ भन्ने विषयमा थाहा हुने भएको कारण उक्त फार्ममा पालिएका कुनै पनि गाईमा बाँझोपनाको समस्या नभएको सञ्चालक मनोज कुमार यादव बताउँछन् ।

उक्त फार्मा नेपाल लाईभस्टक सेक्टर इनोभेषन आयोजनाबाट ७४ लाख रूपैयाँ अनुदान प्रदान गरिएको छ  भने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट कम्पोष्ट मल निर्माणका लागि उपकरणमा साढे १५ लाख सहयोग गरिएको छ । अझै करिब ६० लाख रूपैयाँ लागत मा बल्ल फार्ममा गाईको गोबर बाट त्यसमा गाईकै पिसाब तथा अन्य म्युटेनहरू मिलाएर प्याकेजिङ्ग गोबर मल (धूलो) उत्पादन गर्न सकिने यसको तयारीमा लागेको सञ्चालक यदाव बताउँछन् । उनी भन्छन्–‘अझै करिब ६० लाख लाग्ने अनुमान गरेको छु, अहिले सम्म १० करोड बढि लगानी लागेको छ । यसो भएमा हामी गोठबाट सिधै बोरामा प्याकेजिङ्गको धूलो (गोबर मल) कम्पोष्ट मल बिक्री वितरण गर्न सक्छौं ।’

अहिले पनि उत्पादित मल धुलो बनाएर (पानी विहिन) अवस्थामा बिक्री वितरण भैरहेको उनको भनाइ रहेको छ । तर प्याकेजिङ्गको लागि अझै केही उपकरण थप्ने गरी योजना बनाइएको उनको भनाइ छ । युरिन सहितको २५÷२५ किलोको मल प्याकेजिङ्ग गरेर उत्पादन गर्ने गरी तयारी अगाडी बढाइएको उनको भनाइ छ । सेन्सर वेल्टले गाईको खानपानदेखि स्वास्थ्यसम्मको जानकारी लिन सकिने बरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्याय बताउँछन् । उनका अनुसार पछिल्लो समय पशुमा बाँझोपनाको समस्यासमेत बढ्दै गएको छ । तर अब सेन्सरमार्फत् गरिने निगरानीका कारण पशुको स्वास्थ्यमा सुधार त ल्याउन सकिएको छ नै बाँझोपनाको समस्यासमेत टर्ने गर्दछन् ।

जसरी गोठमा प्रविधिको नविनतम् प्रयोग भएको छ, त्यसरी नै संरचना पनि आधुनिक बनाइएको गोठलाई चार भागमा बाँडिएको छ । गाईलाई खुवाउन, आराम गर्न, हिँड्डुल गर्न छुट्टाछुट्टै संरचना छन् । आधुनिक प्रविधिको प्रयोगबाट गरिएको पशुपालनले उत्पादन र उत्पादकत्व पनि बढाएको बढाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रूपन्देहीका प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत दिपक भुषाल बताउँछन् ।
नेपालमै नमूनाका रूपमा विकास भइरहेको फार्मले प्रयोग गरेको प्रणालीबाट पशु धनमा हुने क्षतिसमेत कम गर्न सकिने आंकलन समेत गिरिएको छ ।

रामपुरमा परिक्षण सफल
राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनले सुरु गरेको नेक कोलार सिस्टम (गाईको घाँटीमा बाँधिने सेन्सर माला) प्रभावकारी बनेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले गत वैशाख महिनादेखि सुरु गरेको नेक कोलार सिस्टम प्रभावकारी बन्दै गएको देखिएको हो ।

अनुसन्धान कार्यक्रमको फार्ममा रहेका २०५ वटा गाई तथा बाच्छाबाच्छीमध्ये २० वटा गाईमा नेक कोलार लगाउन सुरु गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा सुरु भएको नेक कोलार (गाईको घाँटीमा बाँधिने सेन्सर माला) कार्यक्रमलाई निरन्तरता दिन यो वर्ष पनि बजेट विनियोजन गरिएको छ । नेक कोलार सिस्टमले फार्ममा रहेका गाईहरूको वास्तविक अवस्था के छ भनेर सजिलै पहिल्याउन सकिन्छ । घाँटीमा लगाएको मालाले उसको अवस्थाका बारेमा टावरमा पठाउँछ, टावरबाट कम्प्युटरमा, एप्समा पठाएर ग्राफ देखाउँछ । त्यही ग्राफको सन्देश मोबाइलमा एसएमएस पठाएपछि गाईंको अवस्था बारेमा जानकारी पाईन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?