© २०२३
बुटवल, १ साउन । रूपन्देहीको कोटहीमाई गाउँपालिका ४ का किसान अम्बका प्रसाद यादवले ४ विघा क्षेत्रफलमा अघिल्लो पटक गहुँ खेती गरे । उनले उत्पादन गरेको सबै गहुँ सोही गाउँपालिका वडा नम्बर ४ नुनिहवामा रहेको नवदूर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले निर्माण गरेको प्राथमिक प्रसोधन उद्योग स्थलमा आयो । उनले त्यहाँ आफ्नो खेतमा उत्पादन भएको गहुँको ग्रेडीङ्ग गरे, बीउको लागि उपयुक्त गहुँ त्यही सहकारीमा बेचेर गए ।
तेनुहवाकै सावित्रा यादवले पनि गत सिजनमा डेढ विघा क्षेत्रफलमा गहुँ खेति गरिन् । उनले उत्पादित गहुँको आफूलाई उपभोग गरेर बीउको लागि अहिले सहकारीमा नै लगेर राखेकी छिन् । विगतका दिनहरूमा गहुँको बीउको लागि भारत धाउने मर्चवार क्षेत्रका किसानहरू अव भने तुनिहवामा स्थापना भएको बीउ विजन भण्डारणबाट लिने भएका हुन् । किसान अम्बका यादव भन्छन्–‘बीउको लागि अव भारत जाने अवस्था आउने छैन, यहि नै उपलब्ध हुने बीउ बाट हामीले खेती गर्ने छौं ।’
गहुँको मात्रै होईन, धानको बीउ पनि किसानले सोही सहकारीबाट नै लिएर खेतमा लगाउँदै आएका छन् । नवदूर्गा स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दुर्गा प्रसाद कुर्मीका अनुसार ३ हजार हेक्टरमा गत बर्ष नेपाली जात को गहुँको बीउको लागि उत्पादन गरिएको थियो । उत्पादन भएको गहुँको बीउ किसानले ग्रेडीङ्ग गरे आवश्यक बीउ उपचारपछि गोदाम घरमा राखेर वा बिक्री गरेर जाने गरेका छन् । आवश्यक बखतमा किसानले सोही सहकारी बाट नै खरिद गरेर लैजाने गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई रूपन्देहीको सहयोगमा अहिले कोटहीमाई गाउँपालिमा गहुँ जोन लागू भएको छ । सोही अनुसार परियोजनाले बीउ बिजन÷खाद्यान्न भण्डारण घर निर्माण गरिदिएको छ भने प्राथमिक प्रसोधन उद्योग समेत स्थापना गर्नको लागि अनुदान प्रदान गरेको हो । जसबाट तुनिहवामा प्रसोधन उद्योग र भण्डारण गृह निर्माण भएका छन् । जसले गर्दा किसाने उत्पादन गरेको बीउ वा खाद्यान्न ल्याएर सुरक्षित साथ भण्डारण हुँदै आएको छ भने बीऊको लागि समेत थप ग्रेडीङ्ग, बीउ उपचार पश्चात उपलब्ध गराउँदै आएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रूपन्देहीका कार्यालय प्रमुख नारायण काफ्लेका अनुसार नवदुर्गा स्वाबलम्बन बहुउद्देश्य सहकारी संस्थालाई प्राथमिक प्रसोधन उद्योग स्थापनाका लागि ३० लाख र बीउ विजन÷खाद्यान्न भण्डारण घर निर्माणका लागि २५ लाख रूपैयाँ अनुदान प्रदान गरिएको छ ।
बीऊ विजन÷खाद्यान्न भण्डार गृह कुल ४२ लाख ८ हजार ७ सय ५२ रूपैयाँ रहेकोमा २५ लाख परियोजनाले अनुदान दिएको छ । यस्तै कोटहीमाई गाउँपालिका बाट थप ५ लाख र सहकारीले १२ लाख ८ हजार ७ सय ५२ रूपैयाँ लगाएर कुल ४२ लाख ८ हजार ७ सय ५२ रूपैयाँमा भौतिक संरचना निर्माण भएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गहुँ जोनका रोटाभेटर सहितको सिड रिपर लगायतका अन्य यान्त्रिक उपकरण समेत प्रदान गरेको छ । सहकारीमा आवद्ध रहेका ४ हजार ५ सय ७६ जना सदस्यहरूले आफूले चाहिएको गहुँ र धानको बीउ सोही सहकारीबाट सहुलियतमा लिँदै आएका छन् ।
धानको बीउको लागि अझै केही परनिर्भरत रहेको भएपनि गहुँको बीउको लागि भने भारत जानुपर्ने अवस्था नरहेको सहकारीका अध्यक्ष दुर्गा प्रसाद यादव बताउँछन् । साथै परियोजनाले ५० हेक्टरमा ५० प्रतिशत लागत साझेदारीमा गहुँको बीउ समेत उपलब्ध गराएको थियो । यो बर्ष आफ्नै भवन, बीउ प्रसोधन केन्द्र निर्माण भएको कारण सोही स्थानबाट सेवा प्रवाह हुने छ । सहकारीमा करिव ४० करोड पुँजी रहेको छ ।
३ वटा पालिकाका किसान सहकारीमा आवद्ध रहेका छन् । कोटहीमाई, सम्मारीमाई र मर्चवारी गाउँपालिकाका किसानहरूले सोही सहकारीमा अवद्ध भएर बीउ तथा खद्यान्न भण्डारको काम साथै उपलब्ध भएका आधुनिक उपकरण गहु छर्ने मेसिन, रोटावेटर, अन्य उपकरण प्रयोग गर्दै आएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाई रूपन्देहीका प्रमुख नारायण काफ्ले ले गहुँजोन बाट किसानहरू लाभावित भएको बताए ।उनले यन्त्रीकरणको प्रयोगबाट उत्पादन वृद्धिमा समेत विशेष भूमीका निर्वाह भएको बताउँदै यसका तिन पालिकाका किसानले प्रत्यक्ष लाभ लिएको बताउँछन् ।