© २०२३
आज विश्व जनसंख्या दिवस । विश्व जनसंख्या दिवस मंगलवार विश्वभरी विविध कार्यक्रम गरि मनाईदैछ । पछिल्लोसमय जनसंख्या बृद्धि चुनौतिका रूपमा देखापर्दैछ । नेपालले समेत जनसंख्या बृद्धिको चुनौति सामना गर्नुपर्ने अवस्था देखापरेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले चार महिना अघि जारी गरेको तथ्याँक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । पछिल्लो दसकमा नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ ।
यो जनसंख्या बृद्धिदर त्यतिधेरै चुनौतिको बिषय त होइन तर जनसंख्या बृद्धिको अनुपात नियन्त्रणमै राख्नुपर्छ भन्ने जनसांख्यिक मान्यता रहेकोले नियन्त्रणमा ध्यान दिनु जरुरी छ । त्यसमाथि लुम्बिनी प्रदेश नेपालमा तेश्रो धेरै जनसंख्या हुने प्रदेश बनेको छ । जनगणना अनुसार लुम्बिनी प्रदेशमा नेपालको १७.५६ प्रतिशत जनसंख्या रहेको छ । प्रदेशको जनसंख्या ५१ लख २२ हजार ७८ पुगेको जनगणनाको नतिजाले देखाएको छ । लुम्बिनी प्रदेशमा एक दशकमा ६ लाख २२ हजार ८०६ जनसंख्या थपिएको छ ।
यही रफ्तारमा जनसंख्या बृद्धि हुँदै जाने हो भने नेपालका लागि पनि जनसंख्या बृद्धि चुनौति हुनेछ । पछिल्लोसमय विश्वका बढी जनसंख्या भएका चीन, भारत र रुसले जनसंख्या बृद्धि नियन्त्रणका भिन्न शैली अपनाईरहेका छन । ती देशहरूले जनसंख्या नियन्त्रणका लागि देश अनुसारको योजना र कार्यक्रमलाई कार्यान्वयन तहमा लगेका छन । निश्चित रूपमा विश्व जनसंख्या बृद्धिको मारमा थिचिएको छ । जनसंख्या बृद्धिले पु¥याउने असरका विषयमा अहिलेदेखि नै सचेत हुन सकिएन भने त्यसले आगामी भविष्यमा निम्त्याउने समस्याको अन्दाज गर्न सकिदैन । त्यसकारण विश्वले जसरी जुलाई ११ लाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने गर्दछ । त्यो दिवसलाई सार्थक वनाउन जनसंख्या नियन्त्रणका सवालमा एक कदम अघि बढेर सोच्नु जरुरी भएको छ ।
पछिल्लोसमय बसाईसराई जनसंख्या बृद्धिको चुनौतिका रूपमा देखापरेको छ । जसका कारण तराईका शहर र समथर भू–भाग जनसंख्या बृद्धिको तीव्रमारमा परेका छन । जहाँ बस्ती बाक्लो छ, ती क्षेत्रमा जनसंख्या बृद्धि दिन दुगुना रात चौगुनाका दरले बढिरहेको छ । अर्कोतर्फ परिवार नियोजनका साधनको प्रयोगमा देखिएको बेवास्तापनि त्यसको एक कारण हो भन्दा अत्युक्ति नहोला । पछिल्लोसमय परिवार नियोजन गर्नेहरूको संख्या तीव्ररूपमा घटिरहेको छ । पछिल्ला वर्षमा नेपालले प्रसूतिजन्य मृत्युदर घटाउन, तालिम प्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति गराउन, प्रजनन दर, परिवार नियोजनको साधनको पहुँच तथा उपलब्धताका क्षेत्रमा सुधार गरेको छ तर ती क्षेत्रमा दुई वर्षयताका सूचाङ्कमा उल्लेखनीय सुधार देखिँदैन । नेपालले सुरक्षित मातृत्व रणनीति, प्रजनन स्वास्थ्य रणनीति, सुरक्षित गर्भपतनलाई कानूनी मान्यता दिएको छ ।
तर त्यसले मात्रै जनसंख्या चुनौति समाधान हुन सक्दैन । अझै पनि नेपाल बालविवाह हुने देशभित्र पर्दछ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार ३७ प्रतिशत किशोरीको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ । पन्ध्रदेखि १९ वर्ष उमेर समूहका एक चौथाई विवाहिता महिलाले चाहेर पनि परिवार नियोजनका साधन पाइरहेका छैनन् । परिवार नियोजनका साधनको प्रयोगमा समेत रुची कम हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन । जसका कारण जनसंख्या बृद्धि हुनुको अर्को एक कारण रहेको देखिएको छ ।
यो दिवसले कम्तीमा पनि जनसंख्या बृद्धिबाट व्यक्ति, परिवार र समाजलाई पर्ने असरका विषयमा गंभीर ढंगले बहस गर्नु जरुरी छ । जनसंख्या बृद्धि चुनौतिमात्र होइन यो भावी पिँढीको भविष्यका लागि पनि उत्ति नै खतराको रूपमा रहेको छ । जनसंख्या बढ्दै जाने तर सोही मात्रामा विश्वको भू–भाग नबढ्ने प्रकृतिको नियम नै हो । तसर्थ यही रफ्तारमा जनसंख्या बृद्धिको भार विश्वले कतिसम्म थेग्न सक्छ ? प्रश्न उठ्नु स्वाभाविकै हो । अव जनसंख्या बृद्धि नियन्त्रण गर्न नेपाल सरकारले समेत दिर्घकालीन कार्ययोजना बनाउनु आवश्यक छ ।