© २०२३
दाङ, ८ असार ।
राष्ट्रिय जनगणना २०७८ अनुसार दाङको कुल जनसंख्या ६ लाख ७४ हजार ९ सय ९३ जना पुगेकोे छ । जसमा ३ लाख ५४ हजार ४ सय २० जना महिला र ३ लाख २० हजार ५ सय ७३ जना पुरुष रहेका छन् ।
तथ्यांक कार्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा दाङ जिल्लाको जनगणनाको अवस्थासहित समग्र बस्तुस्थिती बारे जानकारी गराईएको हो । दाङको जनगणनाका बारेमा गराईएको जानकारी अनुसार सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाको जनसंख्या रहेको छ । घोराहीको जनसंख्या २ लाख ५ सय ३० जना पुगेको छ । घोराहीमा अहिले पुरुष ९३ हजार ८ सय ६ जना र महिला एक लाख ६ हजार ७ सय २४ जना रहेको तथ्यांक कार्यालय दाङले जानकारी गराएको छ ।
यसैगरी, तुलसीपुर उपमहानगरपालिकाको १ लाख ७९ हजार ७ सय ५५ जनसंख्या रहेकामा महिलाको जनसंख्या ९४ हजार ९ सय ९१ र पुरुषको जनसंख्या ८४ हजार ७ सय ६४ रहेको छ ।
लमही नगरपालिको जनसंख्या ५९ हजार ५० रहेको छ । जसमा ३० हजार ५ सय ४९ महिला र २८ हजार ५ सय १ पुरुष जनसंख्या रहेको छ । राप्ती गाउँपालिकामा ५२ हजार १ सय २३ कुल जनसंख्या रहेकामा २७ हजार ३ सय ८ महिला र २४ हजार ८ सय १७ पुरुष जनसंख्या रहेको छ । बंगलाचुली गाउँपालिकाको जनसंख्या २२ हजार ३ सय ७३ जना रहेको छ । जसमा १२ हजार ५ सय ५१ महिला र ९ हजार ८ सय ३२ पुरुष रहेका छन् ।
जिल्लाको गढवा गाउँपालिकामा ४५ हजार ८ सय ९८ जनसंख्या रहेको छ । जसमा २३ हजार ५ सय ९० महिला र पुरुषको जनसंख्या २२ हजार ३ सय ८ रहेको छ । शान्तिनगर गाउँपालिकाको जनसंख्या २७ हजार ६ सय ४१ जना रहेको छ । जसमा १४ हजार ८ सय ४० महिला र १२ हजार ८ सय १ पुरुष रहेका छन् । राजपुर गाउँपालिकाको कुल जनसंख्या २८ हजार ३ सय ४६ रहेको छ । जसमा १४ हजार २ सय ८८ महिला र १४ हजार ५८ पुरुष रहेका छन् । यसैगरी, संस्थागत तर्फ ४ हजार ६ सय ४१ जनसंख्या रहेकोमा ४ हजार ४३ पुरुष र ५ सय ९८ जना महिला रहेका छन् ।
बबई गाउँपालिकाको जनसंख्या ३० हजार ९ सय ६८ रहेको छ । जसमा १६ हजार ५ सय २२ महिला र १४ हजार ४ सय ४६ पुरुष रहेका छन् । दंगीशरण गाउँपालिकाको कुल जनसंख्या २३ हजार ६ सय ६८ रहेको छ । जसमा १२ हजार ४ सय ७१ महिला र ११ हजार १ सय ९७ जना पुरुष रहेका छन् । यसैगरी, राष्ट्रिय स्तर, प्रदेश स्तर र दाङ जिल्लाका सबैमा आवासीय प्रयोगकालागि सबैभन्दा बढी करीव तीन चौथाई घर प्रयोग भएका छन् भने जिल्लामा आवासीय पछि धन्सारमा करीव ९ दशमलव ९ प्रतिशत घर प्रयोग भएका छन् ।
दाङमा करीव ८० प्रतिशत परिवार आफ्नै घरमा बस्छन् । ९ दशमलव ४ प्रतिशत परिवार भाडामा बस्ने गरेका छन् । भाडामा बस्नेमा परिवारको हिस्सा सबैभन्दा बढी घोराहीमा १३ दशमलव ६ प्रतिशत र तुलसीपुर उपमहानगरपालिकामा १३ प्रतिशत रहेको छ ।
यसैगरी, दाङमा सबैभन्दा बढी ५० दशमलव ६ प्रतिशत परिवार बस्ने घरका जग माटोको जोडाई भएको ईटाद्वारा बनाईएको तथ्यांक छ । दोस्रोमा सिमेन्टको जोडाई भएका ईटा वा ढुंगाद्वारा बनाईएका २२ दशमलव ७ प्रतिशत र ढलान पिलर सहितको २१ दशमलव २ प्रतिशत रहेका छन् । ढलान पिलरसहितका घरमा बस्ने परिवारको प्रतिशत सबैभन्दा बढी राप्ती गाउँपालिका र सबैभन्दा कम बंगलाचुली गाउँपालिकामा रहेका छन् ।
राष्ट्रिय र प्रदेशको तुलनामा दाङमा घरको बाहिरी गारोमा माटोको जोडाई भएका ईटा र ढुंगा प्रयोग बढी भएको देखिन्छ । दाङमा सबैभन्दा बढी सिमेन्टको जोडाई भएका ईटा डुंगा ४५ दशमलव ८ प्रतिशत, दोस्रोमा माटोको जोडाई भएको ईटा ढुंगा ४४ दशमलव २ प्रतिशत रहेका छन् ।
समग्र देश र प्रदेशको तुलनामा दाङमा बाहिरी गारो माटोको जोडाई भएका घरमा बस्ने परिवारको हिस्सा बढी देखिएको छ । पालिकास्तरमा हेर्दा यस्तो परिवारको हिस्सा सबैभन्दा बढी बंगलाचुली गाउँपालिकामा र सबैभन्दा कम राप्ती गाउँपालिकामा देखिएको छ ।
जिल्लाका जस्ताको टीनको प्रयोग भएका घरको छानामा बस्ने परिवार सबैभन्दा बढी अर्थात ५३ दशमलव ६ प्रतिशत रहेका छन् । यो लुम्बिनी प्रदेश र नेपालको तुलनामा बढी देखिन्छ । यसैगरी, दोश्रोमा सिमेन्ट ढलान भएका घर ३६ दशमलव ४ प्रतिशत र खर परालको घरका छाना ७ प्रतिशत रहेको छ ।
परिवारमा खानेपानीको मुख्य श्रोतहरुमा धारा पाईपको पानी खाने परिवारको हिस्सा राष्ट्रिय स्तर र प्रदेश स्तरको तुलनामा दाङमा बढी देखिएको छ । जिलामा सबैभन्दा बढी अर्थात ४० दशमलव ४ प्रतिशतले परिवारले घर परिसर बाहिर पाईप धाराको पानी पिउने गरेको पाईएको छ । दोश्रोमा घर परिसर बाहिर धारा पाईपको पानी खाने १५ दशलमव ८ प्रतिशत र हातेपम्पको पानी खाने १२ दशमलव १ प्रतिशत परिवार रहेका छन् ।
जिल्लामा ५२ दशमलव ९ प्रतिशत परिवारले दाउराले खाना पकाउने गरेका छन् । यसैगरी, पालिका स्तरमा हेर्दा बंगलाचुली गाउँपालिकामा दाउराबाट खाना पकाउने परिवारको हिस्सा सबैभन्दा बढी ९७ दशमलव ७ प्रतिशत देखिन्छ । राप्ती गाउँपालिकामा सबैभन्दा कम ३५ दशमलव ५ प्रतिशत रहेको देखिन्छ ।
नेपालभर करीव ९२ दशमलव २ प्रतिशत परिवारले बत्ती बाल्न बिजुली प्रयोग गर्ने गरेकोमा लुम्बिनी प्रदेशमा ९३ दशमलव ७ प्रतिशत रहेको छ । जिल्लामा ९२ दशमलव १ प्रतिशत परिवारले बत्ती बालन अक्सर बिजुली प्रयोग गर्ने गरेका छन् । जिल्लाका स्थानीय तहअनुसार सबैभन्दा बढी बिजुलीको प्रयोग गर्ने परिवारको हिस्सा राप्ती गाउँपालिकामा ९७ दशमलव ३ प्रतिशत र सबैभन्दा कम प्रयोग गर्ने बंगलाचुली गाउँपालिका रहेको छ । त्यहाँ ३७ दशमलव १ प्रतिशत परिवारले बत्ती बाल्न सौर्य उर्जा प्रयोग गर्ने गरेका छन् ।
नेपालभर करीव ४ दशमलव ५ प्रतिशत परिवारमा चर्पी नभएकोमा लुम्बिनीमा ५ दशमलव ६ प्रतिशत परिवारको चर्पी नभएको तथ्यांक छ । जिल्लामा राष्ट्रिय र प्रदेश स्तरको तुलनामा चर्पी नभएकोे परिवारको हिस्सा थोरै अर्थात २ दशमलव ६ प्रतिशत रहेको छ । जुनचाँही सरसफाईको दृष्टिकोणले दाङ राम्रो अवस्थामा देखिएको छ ।
जिल्लामा चर्पी नभएको परिवारको अंश सबैभन्दा बढी राजपुर गाउँपालिकामा रहेको देखिन्छ । सबैभन्दा कम शान्तिनगर गाउँपालिकामा रहेको छ । अर्थात शान्तिनगर गाउँपालिकामा अधिकांश सबै परिवारको चर्पी भएको देखिन्छ । केवल ० दशमलव २ प्रतिशत परिवारको मात्रै चर्पी नभएको देखिन्छ ।महिलाको नाममा घर र जग्गा दुवै नभएका परिवार नेपालभर करीव ७४ दशमलव ६ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशमा ७४ दशमलव ८ प्रतिशत र दाङमा ७१ दशमलव २ प्रतिशत रहेको छ । जिल्लामा महिलाको नाममा घर र जग्गा दुवै भएका १३ दशमलव २ प्रतिशत रहेका छन् भने जग्गा मात्र भएका ११ दशमलव ७ प्रतिशत र घर मात्र भएका २ प्रतिशत मात्रै परिवार रहेका छन् ।
जिल्लामा कुल १ लाख ६२ हजार २ सय ६६ परिवारमध्ये कृषि बाहेकका साना घरेलु व्यवसाय संचालन गर्ने परिवार ८ दशमलव २ प्रतिशत अर्थात १३ हजार २ सय ९४ रहेका छन् । ती मध्ये ५२ प्रतिशतले व्यापार, १७ दशमलव ९ प्रतिशतले घरेलु उद्योग र ९ दशमलव ६ प्रतिशतले सेवा संचालन गरेको तथ्यांक छ ।
राष्ट्रिय र प्रदेश स्तर भन्दा कृषि बाहेकका साना घरेलु व्यवसाय गर्ने परिवार दाङमा ८ दशमलव २ प्रतिशत मात्रै रहेको छ । जिल्लाका स्थानीय तहहरुमध्ये यस प्रकारका व्यवसाय गर्ने परिवार सबैभन्दा धेरै राप्ती गाउँपालिकामा रहेका छन् । सबैभन्दा कम बंगलाचुली गाउँपालिकामा रहेका छन् । जिल्लामा कृषि बाहेकका साना घरेलु व्यवसाय गर्ने कुल ९५ हजार ६ सय १६ परिवारमध्ये सबैभन्दा बढी ४९ दशमलव ३ प्रतिशत परिवारले व्यापार, २० दशमलव ८ प्रतिशतले घरेलु उद्योग र ११ दशमलव ७ प्रतिशतले सेवा सम्बन्धी व्यवसाय गरेका छन् ।
जिल्लामा उमेर र लिंग अनुसार गणनाको समयभन्दा ठीक एक वर्षअघि भएको मृत्युको संख्या अनुसार, पचास वर्षभन्दा माथिको उमेरमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । एक वर्षमुनिको शिशुको मृत्यु १ सय ९ रहेको छ भने पाँच वर्षमुनिको बाल मृत्यु १ सय ७६ रहेको छ । यसैगरी, मृत्यु हुनेमा महिलाको भन्दा पुरुषको संख्या प्राय सबै उमेर समुहमा बढी देखिएको छ ।