© २०२३
दाङको भालुबाङलाई स्थायी राजधानी तोकिएसंगै जिल्लाका स्थानीयतहहरुले प्रशासनिक कामकाज पनि राजधानीवाटै हुनुपर्ने माग गरेका छन् । प्रदेश सरकार सञ्चालनकालागी पुर्वाधारको अभाव नरहेकोले सरकार सञ्चालन राजधानीबाटै हुनुपर्ने उनीहरुले बताएका हुन् ।
प्रदेश सरकार सञ्चालनकालागी राप्ति गाँउपालिकामा पुर्वाधारको अभाव नरहेको अध्यक्ष नुमानन्द सुवेदी बताउछन् । “भालुबाङ आफैमा सानो बजार भएकोले सवैले पुर्वाधार नभएको भन्ने सुन्नमा आएको छ, तर हामीले सरकार अहिले नै आएपनि सरंचना अभाव हुन दिन्नौ” अध्यक्ष सुवेदीले भने । अध्यक्ष सुवेदीले प्रदेश सरकारकालागी आवश्यक पर्ने जग्गा र पुर्वाधार अभाव नहुने दावि गरे । प्रदेश सभा, मन्त्रालय, विषयगत कार्यालय र आवास राख्नसकिने र संरचना ब्यवस्थापन गर्न सकिने उनले बताए । “तत्काल सदन बस्नको लागी भवन, मन्त्रालय, आवासको लागी राप्ति प्राविधिक विद्यालयमा रहेको छ, कुनै कुराको कमी छैन” सुवेदीले भने । गाँउपालिकाले व्यवस्थापन गर्न सक्ने विद्यालय २२ विगाह जमिनमा रहेको र प्रसस्त भवनहरु रहेकोले सरकार सञ्चालनको लागी आवश्यक पर्ने पुर्वाधार समेत रहेको उनले बताए ।
राप्ति गाँउपालिकाका अनुसार तत्काल जग्गा र पुर्वाधारमा कमि नहुनेगरी राप्ति शिक्षालयले उपभोग गर्दै आएको घरजग्गा प्रयोग गर्न सकिने छ । २०५० सालमा स्थापना भएको शिक्षालयहाता भित्र २२ वटा पक्कि भवन सहित ३ सय मानिस अटाउन सक्ने सभाहल समेत रहेको छ । तत्काल नयाँ संरचना निर्माणमा ढिलाईहुने र आर्थिक भार समेत हुने भएकोले यसवाटै सरकार चलाउन अध्यक्ष सुवेदीले आग्रह समेत गरेका छन् । “भैरहेका संरचना प्रयोगहुन सके राज्यकोषमा आर्थिकभार समेत नपर्ने र ति भवनहरु पनि प्रयोगमा आउनसक्ने थिए” अध्यक्ष सुवेदीले भने । त्यस्तै गढवा गाँउपालिकाका अध्यक्ष सहजराम यादवले पनि सरकार सञ्चालन अव राजधानीवाटै हुनुपर्ने बताउछन् । “तत्कालिन संघिय सरकारले अस्थायी मुकाम तोकेपछि बुटवलवाट सञ्चालन भयो तर, प्रदेशसभाले राजधानी राप्ति उपत्यका तोकेकोले अव यतैवाट सञ्चालन हुनुपर्छ, सहयोगका लागी हामी तयार छौ” अध्यक्ष यादवले भने । गढवागाँउपालिकाको १, २ र ३ नं वडामा प्रसस्त सरकारी जमिन रहेको बताउदै अध्यक्ष यादवले संरचना निर्माणकालागी गाँउपालिकाको सहयोग रहने बताए ।
अहिले राप्ति गाँउपालिकाले सरकार सञ्चालनका लागी आवश्यक पर्ने भवनहरु व्यवस्थापन गरेकोले लुम्विनी प्रदेश सरकार अव राजधानी भालुबाङबाटै सञ्चालन गर्नुपर्ने उनको भनाई छ । “हाम्रो पालिकामा रहेका सामुदायीक भवनहरु प्रयोग गर्न सकिने भएकोले सरकार आउदा समस्या छैन” यादवले भने । त्यस्तै प्रदेशको नाम र राजधानी घोषणामा नेतृत्वले वैज्ञानिक निर्णय गरेकोले अव कामकाजपनि राजधानिवाटै हुनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताएका छन् । राजधानी भालुबाङ र नाम लुम्बिनी राखेकोप्रति खुसी व्यक्त गर्दै उनले सबैलाई न्याय भएको बताए । भौगोलिक दृष्टिले उपयुक्त ठाउँमा राजधानी घोषणा भएको उल्लेख गर्दै प्रदेशका मन्त्रालय र कार्यालयहरुको व्यवस्थापनका लागि आफुहरु तयार रहेको समेत बताए । “व्यवस्थापनका हिसाबले प्रदेश सरकारलाई हरेक तवरले सघाउन हामी तत्पर रहेका छौ” नगर प्रमुख पाण्डेले भने ।