© २०२३
कपिलवस्तुका राजा शुद्धोधनका पुत्रको रुपमा लुम्बिनी बगैँचामा गौतमबुद्धको जन्म भएको कुरा विश्वभरका बौद्धमार्गीहरुलाई मात्र हैन धर्म, सस्कृति, ईतिहास र पर्यटनमा रुची राख्नेहरुलाई अब बताइरहनु पर्दैन । उनै शाक्यमुनि बुद्धको जन्मस्थान लुम्बिनीको नामबाट प्रदेशको नामाकरण भएको छ । दोश्रो विश्व बौद्ध सम्मेलनले पहिचान गरेका नेपालका प्रमुख ४ बौद्ध स्थलहरु यही प्रदेशमा रहेका छन् । वृहत्तर लुम्बिनी क्षेत्रमा समेटिएका कपिलवस्तु, रुपन्देही र नवलपरासी (पश्चिम) मा २०० भन्दा बढी बौद्धकलीन पुरातात्विक सम्पदाहरु रहेको अनुमान छ । कपिलवस्तुको तिलौराकोट, कुदान, गोटिहवा, निग्लिहवा, सिसहनिया, रुपन्देहीका सैनामैना, बुटवल र देवदह, नवलपरासीका पण्डितपुर, रामग्राम, अनोमाघाट, ककरपत्ता, बुद्धमंगल, तानसेन नगरका बौद्ध गुम्बा र चैत्यहरुले पर्यटक आकर्षण गर्ने क्षमता राख्छन् । यहाँ भएका सबै बौद्ध स्थलहरु विश्वभरका बौद्धमार्गी र बौद्ध पर्यटकहरुको लागि आस्थाका केन्द्रहरु हुन् । लुम्बिनीलाई विश्व शान्ति शहरको रुपमा विकास गरिदैछ । मायादेवी मन्दिरको उत्खनन, पुनर्निर्माण र सौन्दर्यीकरण भैरहेको छ । लुम्बिनी चिनाउने अशोक स्तम्भ समेत रहेको मायादेवी मन्दिर परिसर अहिले मुख्य बौद्ध आध्यात्मिक केन्द्र बनेको छ । यी बाहेक विभिन्न देशहरु र बौद्ध समुदायले बनाएका बौद्ध विहार, मन्दिरहरु बौद्ध धर्मावलम्बी र पर्यटकहरुको लागि आकर्षण बनिरहेका छन् .। बाँकेको बालापुर, कम्दी छेउँछाउँ प्राचिन बौद्धकालिन श्रावस्ती नगर हुनसक्ने सम्भावनाहरु भेटिएका छन् । लुम्बिनी प्रदेश बाहिर हेर्ने हो भने समग्र काठमाण्डौ उपत्यका र हिमाली क्षेत्र बौद्ध सम्पदा र संस्कृति सम्पन्न छ. । बौद्ध धर्मका प्रमुख सम्प्रदाय महायानी, बज्रयानी र थेरवादी सम्प्रदायका मौलिक अभ्यासहरू नेपालमा पाइन्छन् । यी सबै बौद्ध स्थल, बौद्ध संस्कृति र अभ्यासहरू नेपालमा बौद्ध पर्यटनका आधारहरु हुन् ।
बुद्धको महापरिनिर्वाणको धेरै पछि मौर्य सम्राट अशोक बुद्धका पाइलाहरु पच्छ्याउँदै लुम्बिनीसम्म आइपुगे । उनले क्रकुच्छन्द, कनकमुनी र गौतम बुद्धको जन्म भएका स्थानहरु गोटिहवा, निग्लिहवा र लुम्बिनीमा स्तम्भ खडा गरे र लुम्बिनीमा स्थापना गरेको स्तम्भमा “ शाक्यमुनी बुद्धको जन्म भएको स्थान“ भनी उल्लेख समेत गराए । पाँचौ र सातौ शताब्दीमा घुम्दै आएका चिनिया यात्रीहरु फाहियान र हुयान साङले आफ्नो यात्रा वृतान्तमा लुम्बिनीको बारेमा वर्णन गरे । लुम्बिनीलाई संसार सामु चिनाउने यी प्रारम्भिक प्रयास थिए । सन् १८९० को दशकमा बौद्ध स्थलहरुको खोजी शुरु भयो र कपिलवस्तु, लुम्बिनी र रामग्राम पहिचान भयो । सन् १८९९ जापानी भिक्षु इकाई कावागुची र सन् १९२० को दशकमा प्रसिद्ध भारतीय विद्वान् महापण्डित राहुल साँस्कृत्यायनले धेरैपटक लुम्बिनी भ्रमण गरेर लेख र पुस्तकमा उल्लेख गरेपछि लुम्बिनीले बौद्धमार्गी बीचमा परिचित हुन पाएको थियो । संयुक्त राष्ट्रसंघका तेस्रा महासचिव ऊ थान्तले सन् १९६७ लुम्बिनीको भ्रमण गरेका थिए । त्यसपछि उनको पहलमा बुद्ध जन्मस्थलको विकासका लागि भन्दै एउटा अन्तर्राष्ट्रिय समिति गठन भएको थियो । विभिन्न १५ देशका प्रतिनिधिहरू सदस्य रहेको त्यस्तो अन्तर्राष्ट्रिय समिति गठन भएपछि मात्र लुम्बिनी विश्वभरि राम्ररी परिचित हुन थालेको हो । त्यो भ्रमण लुम्बिनीको योजनाबद्ध विकास र प्रचारप्रसारमा त्यो कोसेढुङ्गा सावित भएको छ । गतवर्ष बुद्ध पूर्णिमाको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गरेका थिए । पछिल्ला ६० वर्षमा लुम्बिनीमा धेरै राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख, राजदुत र अन्य उच्चपदस्थ व्यक्तिहरुले भ्रमण गरिसकेका छन् ।
अहिले लुम्बिनी नेपालकै धेरै आन्तरिक पर्यटक पुग्ने स्थान बनेको छ.। कोरोना सुरु हुनु भन्दा पहिला वार्षिक १९ लाख मानिसहरु लुम्बिनी पुगेका थिए । बीचमा ३ वर्ष सुस्ताएको लुम्बिनी दर्शन अहिले फेरि उकालो लागेको छ । कुनै भवितव्य परेन भने सन् २०२३ मा २० लाख मानिसहरु लुम्बिनी पुगेर दर्शन गर्नेछन् र फोटो खिचाएर फर्कनेछन् । लुम्बिनीमा बुद्ध र बौद्ध दर्शन बुझेका र बुझ्न खोज्नेहरु भन्दा घुमघाम गर्न र रमाईलो गर्न मानिसहरु जाने भएकोले उनीहरु एकाध घण्टा भन्दा बढी समय लुम्बिनीमा बस्दैनन् । लुम्बिनीमा ठुलो संख्यामा घुमन्ते र दर्शनार्थीहरु पुग्ने भएपनि नजिकैमा तिलौराकोट, कुदान, निग्लिहवा, सैनामैना, देवदह, पण्डितपुर, रामग्राम र अन्य प्राचिन बौद्ध क्षेत्रमा एक प्रतिशत पर्यटक सम्म पनि पुग्दैनन् । नेपालगञ्ज नजिकको बालापुर÷ कम्दी क्षेत्रपनि बौद्ध क्षेत्र हुनसक्छ भन्ने कुरामा कसैले ध्यान नै दिदैनन् । लुम्बिनीदेखि टाढाको कांक्रेविहारको त कुरै छोडौ– पर्यटकहरु बुटवल र तानसेनका चैत्य र विहारसम्म पनि पुग्दैनन् । लुम्बिनी जस्तै मान्यता प्राप्त भारतका बौद्ध स्थलहरुमा वर्षेनी लाखौ बौद्धमार्गी, दर्शनार्थी, पर्यटक र अध्येताहरु पुगिरहेका भएपनि नेपालका बौद्धस्थलमा पुग्ने, बुझ्न खोज्ने मानिसहरुको संख्या निकै कम छ । यसले गर्दा बौद्धमार्गिहरुले आध्यात्मिक लाभ र समुदायले बौद्ध पर्यटनको लाभ लिन सकिरहेका छैनन् ।
विश्वमा बौद्ध दर्शन पस्किएको २६ सय वर्ष भयो र पर्यटन बजारमा लुम्बिनी पस्कन थालेको पनि ६ दशक पुगिसकेको छ । यति लामो अवधि वितिसक्दा पनि लुम्बिनी प्रदेशका बौद्ध स्थलहरुलाई न त बौद्ध अध्यात्मको केन्द्र बनाउन सकिएको छ, न त पर्यटकलाई नै ल्याएर, बसालेर आर्थिक लाभ लिन सकिएको छ । हामी कहाँनेर चुकेका छौ त ? यसको समीक्षा गर्नुपर्ने बेला आईसकेको छ । यो क्षेत्रमा बौद्ध पर्यटन नफस्टाउनुको मुख्य कारण यहाँको आध्यात्मिकता हो । भारतका बौद्ध स्थलहरुमा पुग्ने अधिकांश मानिसहरु आध्यात्मिकताले तानिएर गएका हुन्छन् । बौद्ध स्थलमा पुगेपछि ध्यान, प्राथना गर्ने, बौद्ध प्रवचन सुन्ने, बौद्ध वातावरणमा भुल्ने चाहना मानिसहरुको हुन्छ. तर हाम्रा बौद्ध स्थलहरुमा त्यो अवसर प्राप्त हुदैन । कंक्रिटको संरचनाले घेरिएको कोलाहलयुक्त लुम्बिनीमा आस्थावानहरु लामो समय अडिन सक्दैनन् । लुम्बिनीको अवस्था देखेपछि कपिलवस्तु र रामग्राम पुग्ने जाँगर देखाउँदैनन्, त्यो भन्दा उनीहरु भारतकै आध्यात्मिक स्थल जान चाहन्छन् । यसले गर्दा बौद्ध पर्यटनमा प्रतिकूल प्रभाव परिरहेको छ ।
अहिले लुम्बिनीको ३ वर्ग किमी क्षेत्रलाई बौद्ध स्थलको रुपमा विकास गरिदैछ, सिँगारिदै छ । तर यो भन्दा बाहिर हेर्दा बेग्लै संसार देखिन्छ । लुम्बिनीको कम्पाउण्ड बाहिर आउँदा त्यो स्थान शान्तिको मुहान भनिएकै ठाउँ हो र ? भन्ने सोच्न बाध्य बनाउँछ । बौद्ध स्थलको साँघुरो घेराभन्दा बाहिर बौद्ध वातावरण र बौद्ध समाज छैन । बौद्ध दर्शन सिकाउने, बुझाउने र प्रयोग गर्ने गराउने निकाय र समुदाय छैन । बौद्ध अध्यात्म र बौद्ध पर्यटनसंग स्थानीय वासिन्दाहरु जोडिन सकेका छैनन् । बौद्ध स्थलहरु विकसित हुदै जाँदा आफुहरु विस्थापित हुनुपर्छ भन्ने डर स्थानीयमा छ । स्थानीय वासिन्दाहरु बुद्धद दर्शन नजान्ने र बौद्ध स्थलको विकासप्रति अपनत्व बोक्न रुची नदेखाउने भएकोले पनि बौद्ध पर्यटन कमजोर बनेको पाइन्छ । लुम्बिनी असुरक्षित भन्दै बेलाबेलामा मिडियाले पस्कने सामग्री, लुम्बिनी प्रदुषित छ भन्दै जानी नजानी प्रवाह गरिने सन्देश, लुम्बिनी निश्चित जात र समुह विशेषको हो भन्दै गरिने दन्तबझान जस्ता तत्वहरुले पनि लुम्बिनी र अन्य बौद्ध क्षेत्रमा पर्यटकलाई लैजान, बसाल्न, घुमाउन र लाभ लिन समस्या परेको छ ।
बुद्ध लुम्बिनीमा जन्मेका हुन् र लुम्बिनी नेपालमा छ भन्ने कुरा संसारका सबै बौद्धमार्गीलाई थाहा भैसकेको छ । अबका प्रयास जानकारी पाएका बौद्धमार्गीलाई लुम्बिनी र छेउँछाउँका बौद्ध स्थलमा कसरी ल्याउने भन्ने हुनुपर्नेमा “बुद्ध वाज वर्न इन नेपाल“ भन्ने राग अलाप्नमै धरै व्यस्त भएको पाइन्छ । देशका सबै पर्यटकीय स्थानसँग लुम्बिनी प्रदेशका बौद्ध स्थलहरु सडक मार्गबाट जोडिएका छन् । तर विश्वका प्रमुख बौद्ध मुलुकसंग लुम्बिनी क्षेत्र हवाई मार्गबाट जोडिन सकेको छैन । लुम्बिनी र सेरोफेरोमा आउने बौद्ध तीर्थयात्री र पर्यटकहरु भारतीय बौद्ध स्थल घुमेर भारतीय गाईडको निर्देशन अनुसार नै नेपालमा घुम्न आउँछन् । भारतका सवारी साधन र भारतीय सुविधा प्रयोग आउने पर्यटक÷ तीर्थयात्रीहरु नेपालमा लामो समय बस्दैनन् । धार्मिक मनले आएकाहरु समेत लुम्बिनीमा धेरै समय नबसी भारततिरै फर्कन्छन् । विदेशबाट पर्यटक ल्याएर बौद्ध पर्यटन विकास गर्ने भनेर गत वर्ष संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बेकामे भएर बसेको छ । स्थानीय र प्रदेश सरकारले बौद्ध पर्यटनबाट लाभ लिने थुप्रै कुराहरु गरिरहेका भएपनि लुम्बिनी विकास कोष, संघीय सरकार ,प्रदेश सरकार र स्थानीय सरकार अलगअलग हिड्न खोजिरहेका छन् । यस्ता सबै प्रवृतिले गर्दा बौद्ध पर्यटनका अवसरहरु गुमिरहेका छन् ।
हरेक बर्ष बुद्ध पुर्णिमामा ठुलो तामझाम हुन्छ । बुद्धको दर्शन र बौद्ध स्थलहरुको महत्वको बारेमा पनि छलफल हुन्छ । लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध पर्यटनको केन्द्र बनाउने सपनाहरु पनि देखाईन्छ । यो क्रम वर्षौदेखि चलिरहेको छ । पर्यटनका कुरा र बौद्ध दर्शनका कुराहरुलाई बेग्लाबेग्लै राखेर नेपालमा बौद्ध पर्यटनको लाभ लिन सकिदैन । अहिलेलाई कम्तिमा पनि बौद्ध धर्मावलम्बिहरु धेरै भएका मुलुकबाट भैरहवासम्म सिधा हवाई उडानको व्यवस्था गर्ने, बौद्धस्थलहरुमा र वरिपरी बौद्ध अध्यात्मिक र पर्यावरणीय वातावरण निर्माण गर्ने, स्थानीय वासिन्दाहरुलाई बौद्ध दर्शन र पर्यटनसंग जोड्ने जस्ता काम गर्न सकियो भने बौद्ध पर्यटनको बलियो आधार तयार गर्न सकिन्छ । नेपालको मौलिक बौद्ध सस्कृतिलाई विश्व बौद्ध समाजमा प्रस्तुत गर्ने, बौद्धमार्गीले प्रयोग गर्ने सामग्री स्थानीय वासिन्दालाई उत्पादन र विक्री गर्न लगाएर आर्थिक लाभको बाटो सुनिश्चित गर्ने, लुम्बिनी बौद्ध विस्वविद्यालयलाई बौद्ध अध्ययनको सबल केन्द्र बनाउने जस्ता कामहरु गर्न सकियो भने नेपालका बौद्ध स्थलहरु अब्बल बौद्ध आध्यात्मिक केन्द्र र बौद्ध पर्यटनको केन्द्र बन्न सक्नेछन् । यी कामहरु गर्न बुद्धपुर्णिमा कुरिरहनु पर्दैन ।
थचपबलमभ२िनmबष्।िअयm