© २०२३
रोल्पा, वैशाख- माओवादी सशस्त्र द्वन्द्वकालमा रोल्पाको तत्कालिन कुरेली गाविसको भित्रिवन क्षेत्रले महŒवपूर्ण योगदान गरेको भन्दै सो क्षेत्रलाई युद्ध पर्यटनको रूपमा विकास गर्नुपर्ने स्थानीयहरूको माग छ । सामरिक दृष्टिकोणले समेत सहज मानिने सो स्थानमा तत्कालिन नेकपा माओवादीको केन्द्रीय स्तरका ठूलठूला कार्यक्रम सम्पन्न भएका थिए ।
हाल परिवर्तन गाउँपालिका वडा नं. १ मा पर्ने सो स्थानमा द्वन्द्वको समयमा माओवादी सेनाको केन्द्रीय सैन्य तालिम केन्द्र थियो । माओवादीका सेनाहरूले सोही स्थानमा लामो समय तालिम सम्पन्न गरेका थिए । भित्रिवनको सर्सुवारी, ठूलो नाङ्गी, धुपिनेटा र वाङघारीमा माओवादी सेनाको केन्द्रीय स्तरको तालिम चलेको थियो । सोही ठाउँको पुवाखोरेमा केन्द्रीय प्राविधिक कार्यालय स्थापना गरिएको थियो । प्राविधिक कार्यालयमा एटीवान हतियार र सेल, ग्रिनेट, डिस्चार्ज कप, बन्दुक, टुईन्च मोटार सेल, व्यारल लगायतका हतियार निर्माण तथा मर्मत गरिन्थ्यो स्थानीय मनबहादुर वुढामगरले भने । निर्माण गरिएको हतियार पनि सोही स्थानमा परिक्षण गरिएको बुढामगर स्मरण गर्छन । हतियार परिक्षण गर्दा एक पटक २ जना प्रशिक्षार्थीको मुत्यु समेत भएको थियो बुढामगरले भने ।
सर्सुवारीको मुख्यडेरामा जनशैन्य प्रतिष्ठान समेत स्थापना गरिएको थियो । द्वन्द्वकालमै सोही स्थानमा अखिल क्रान्तिकारीको केन्द्रीय समितिको बैठक समेत वसेको स्थानीयहरूको भनाइ छ ।
सरावाङमा ४५ दिनसम्म माओवादी सेनाका लडाकुहरूलाई उपचार गर्नका लागि ओ लेभलको स्वास्थ्य तालिम समेत दिइएको स्थानीय प्रविण वुढामगर वताउछन । स्वास्थ्य तालिम लिएकाहरू घाईते माओवादी सेना, नेता कार्यकर्ताको उपचारमा संलग्न हुने गर्थे वुढामगरले भने । तीनै स्वास्थ्यर्मीहरूको संलग्नतामा नेकपा माओवादीले जनस्वास्थ्य विभाग समेत गठन गरेको थियो ।
२०५८ सालमा थवाङको फुन्टीवाङ वैठकको नामले चर्चित माओवादीको दोश्रो राष्ट्रिय सम्मेलन समेत कुरेलीको बालकल्याण मावि उपावाङमा भएको थियो । थवाङको फुन्टीवाङमा वस्नेगरि तय गरिएको उक्त सम्मेलनको सबै सूचना सरकारले प्राप्त गरेको माओवादीले थाहा पाएपछि सम्मेलन रातारात त्यहाँ सारिएको स्थानीयहरूको भनाइ छ । सोही ठाउँमा २ महिने पार्टी प्रशिक्षण समेत चलेको थियो । सोही ठाउँमा डाक्टर वावुराम भट्टराईको अध्यक्षतामा संयुक्त क्रान्तिकारी जनपरिषद र जनमुक्ती सेनाको घोषणा गरिएको थियो । माओवादीले सोही स्थानमा गठित संयुक्त क्रान्तिकारी जनपरिषदलाई सरकार र जनमुक्ती सेनालाई सेना भन्दै समानान्तर सत्ता संचालन गरेको घोषणा गरेका थिए । पूर्व उपराष्ट्रपति नन्दवहादुर पुनको कमाण्डमा सोही स्थानमा पहिलो पटक वटालियनको घोषणा तथा माओवादी अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डलाई जनमुक्ती सेनाको सर्वोच्च कमाण्डरको रूपमा घोषणा गरिएको थियो ।
माओवादी सशस्त्र द्वन्द्व शान्ति प्रकृयामा रूपान्तरण भएको लामो समय सम्म देशका विभिन्न क्षेत्रहरू युद्ध पर्यटनको रूपमा विकास हुँदै गर्दा यति महत्वपूर्ण क्षेत्रलाई वेवास्ता गरिएको प्रति स्थानीयहरू असन्तुष्ट छन । द्धन्दको समयमा आधार ईलाकाको रूपमा विकास गरि नेतृत्वको संरक्षण गरेको यो क्षेत्र अहिले नेताहरूले विर्सिएको उत्तरी रोल्पाकै संस्थापक कम्युनिष्ट सदस्य रहेका मनवहादुर वुढामगरले दुखेसो पोखे । द्वन्द्वमा योगदान नगरेका ठाउँहरू पनि भनसुन र पहुँचका आधारमा युद्ध पर्यटकीय क्षेत्र घोषणा भए हाम्रो गाउँ कसैको प्राथमिकतामा परेन वुढामगरले भने । सशस्त्र द्वन्द्व ईतिहास भएपनि द्धन्दको समयमा महŒवपूर्ण भूमिका खेल्ने गाउँहरूको भूमिका प्रति राज्य जिम्मेवार हुनु पर्छ वुढामगरले भने ।