© २०२३
सुनवल, ९ बैशाख
भारतीय अतिक्रमणको चपेटामा पर्दे आएको पश्चिम नवलपरासीको सुस्तामा जनता आवास कार्यक्रम अन्र्तगत सुरु गरिएको घर निर्माणको काम अलपत्र परेको छ । बजेट अभावका कारण आर्थिक वर्ष २०७७÷०७८ देखि सुरु भएको काम अहिलेसम्म पुरा हुन सकेको छैन् । चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले जनता आवासका लागि बजेट व्यवस्थापन नगर्दा काम ठप्प बनेको हो ।
भारतीय अतिक्रमणको चपेटामा पर्दे आएको नारायणी पारीको सुस्ता गाँउमा १ सय ९४ ओटा आवास निर्माण गर्ने लक्ष्य अनुरुप दुई वर्ष अगाडी देखि काम सुरु भएको हो । तर हाल सम्म जम्मा ३४ ओटा मात्र घर निर्माण भएको छ । गत आर्थिक वर्षमा ७० लाख रुपैयाँको लागतमा ३४ ओटा घर बनेपनि बाँकि घरको काम अलपत्र छ ।
बाँकि १ सय ६० मध्ये केहि टिनले छाउन बाँकि छ भने ३१ ओटाको बेसको मात्र काम भएको लुम्बिनी प्रदेश अन्र्तगतको शहरी विकास तथा भवन कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका निमित्त प्रमुख शान्तीराम अर्यालका अनुसार बजेट अभावमा बाँकि घरको काम हुन सकेको छैन् ।
अहिले २ करोड ७३ लाख रुपैयाँ बजेट रकमान्तरका लागी सरकार संग माग गरिएको अर्यालले बताए । ईटा, पिल्लर र टिनको छानो सहितको दुई कोठे घरका लागी प्रदेश सरकारले प्रति घर ३ लाख ३६ हजार रुपैयाँ व्यक्तिलाई दिदै आएको छ । सुस्ताका स्थानियले उपभोक्ता समिति बनाएर घर निर्माणको काम गर्दे आएपनि अहिले काम ठप्प भएको हो । निर्माण सम्पन्न हुन बाँकि रहेका घर अहिले झारपातले भरिएका छन् ।
अधिकांश गरिब विपन्न परिवार रहेको नारायणी पारीको सुस्तामा छिटो निर्माण सम्पन्न गर्ने गरी जनता आवासको काम सम्पन्न गर्ने भनिएपनि बजेट अभावका कारण काम हुन नसक्नु विडम्बना भएको सुस्ताबासीको भनाई छ । बनेका घर पनि पुरा नहुदा झारपातले ढाक्न थालेको छ ।
सुस्ता गाँउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले अलपत्र अवस्थामा रहेका आवसको व्यवस्थापनका लागी आफुहरुले पहल गर्ने बताए । तर नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएको यतिका समय हुदा सम्म पनि पालिकाले आवासको काम सक्न पहल भने गरेको छैन् । अध्यक्ष उपाध्यायले प्रदेश सरकार लगाएत संघिय सरकार संग पनि आफुहरु काम सक्न पहल गर्ने योजनामा रहेको सुनाए ।
झन्डै ३ सयको हाराहारीमा घरधुरी रहेको पारी सुस्तामा ३३ सय मानिसको बसोबास छ । ति मध्ये धेरैको नागरिकता छैन् । जसका कारण जनता आवासको सुविधा पाउन सकेका छैनन् । हामिले पनि घर पाउनुपर्ने हो तर के गर्नु नागरिकता नहुदा हाम्रो घर कसैले बनाईदिएन् छोरोले जागिर पनि पाएको छैन् जिवन कसरी चलाउने हो सुस्ताकि रमावती गौडले दुखेसो पोखिन् । तर जनता आवासको घरमा पाएकाहरुले पनि घर पुरा नहुदा आशामा मात्र बस्नुपरेको गुनासो गरेका छन् । ‘खै घर पाईन्छ भनेर आशा गरेको पनि यति वर्ष भईसक्यो घर बनेर सकिने छाँटकाट छैन्’ स्थानिय अंगत चमारले गुनासो गरे । सरकारले गरिब दुखिको काहाँ सुन्छ र आफैले भोट हालेर जिताएका प्रतिनिधिले पनि सुन्दैनन् सुस्ता खाली राजनिति गर्ने थलो मान बन्यो उनले भने ।
तीनतिर भारतको बिहार र एकातर्फ नारायणी नदीले घेरिएको सुस्ताको कुल क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टरमध्ये भारतले १४ हजार हेक्टर अतिक्रमण गरेर आफ्नो कब्जामा लिएको छ । १९ हजार ४ सय ८० हेक्टर क्षेत्रफल विवादित भन्दै जोतभोग गर्न दिएको छैन । सुस्तावासीले अहिले ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा मात्रै जोतभोग गर्दै आएका छन् । पश्चिम नवलपरासीको नेपाल–भारत सीमामा १६ वटा सीमा स्तम्भ छन । जिल्लाको सनहीदेखि कुडियासम्म १६ वटा सीमा स्तम्भ भए पनि सुस्ताको २४ किलोमिटर क्षेत्रमा सीमा स्तम्भै छैन । सीमा स्तम्भ नभएका ठाउँमा खोला, रूख वा अन्य यस्तै कुराको भर पर्दा जोतभोगका विषयमा सीमावर्र्ती नागरिकबीच पटक–पटक विवाद हुने गरेको छ ।