ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य
सन्दर्भ : जितगढी विजयको २०८ औं वार्षिकोत्सव

उजिर सिंहलाई राष्ट्रिय विभुति घोषणा गर

उजीर सिंह थापा एक कुशल सैनिक कमाण्डर मात्र नभई कुटनीतिज्ञ, कुशल प्रशासक र नीतिज्ञ थिए । उनी धार्मिक स्वभावका पनि थिए । उनले प्रशासनिक र सामाजिक बन्दोबस्तीका लागि कानून समेत निर्माण गरेका थिए । योगदान उँचो भएर पनि ओझेलमा परेका र सरकारले घोषणा गर्न छुटेका राष्ट्रिय विभुती हुन उजीर सिंह थापा । अतः नेपाल सरकारले उनलाई अविलम्ब राष्ट्रिय विभुती घोषणा गर्नु पर्छ ।
८ बैशाख २०८०, शुक्रबार
८ बैशाख २०८०, शुक्रबार

उन्नाइसौं शताब्दीसम्म खस्यौली सालघारी र बुट्यान क्षेत्र थियो । बटौली (बुटवल) बजार चम्केको थियो । पश्चिम नेपालकै मुख्य बाणिज्य केन्द्र थियो बटौली । पुरानो पाल्पा राज्यको प्रशासनिक केन्द्र पाल्पा तानसेनमा भएपनि व्यापारको केन्द्र बटौली बजार थियो । उत्तर दक्षिणको आवत जावतको मुख्य बाटो पनि यही बटौली क्षेत्र थियो । बटौली बजार हुँदै पाल्पा दोभानको नुवाकोट डाँडा निस्केर पाल्पाको तानसेन पुगिन्थ्यो । पुरानो पाल्पा राज्यको सेनबंशिय राज्यकालदेखी राणा शासन कालसम्मै पश्चिम नेपालको राजनीति र प्रशासनको मुख्य केन्द्र तानसेन थियो । पुरानो पाल्पा राज्यका सौखिन राजा र प्रशासकहरुले गृष्म कालमा पाल्पाबाट शासन–प्रशासन चलाउँथे भने शितकालमा बटौलीबाट चलाउँथे । आर्थिक रुपमा समृद्ध थियो पुरानो पाल्पा राज्य । पश्चिममा राप्ती देखी पूर्वमा कोशी तटसम्म फैलिएको थियो विशाल पाल्पा राज्य । बाणिज्य केन्द्र भएको र उब्जनीशिल फाँट समेत बटौलीतिरै भएकाले कर असुलीका लागि बटौलीमा अड्डा कायम गर्नु पर्ने आवश्यकता थियो । पाल्पा राज्यको मुख्य आम्दानीको श्रोत केन्द्र बटौली बजार र पाल्पा स्थित राजदरबारको सुरक्षार्थ पाल्पाका प्रसिद्ध सेन बंशिय राजाहरुले बटौलीमा गढी (किल्ला) निर्माण गराएका थिए । सेन वंशका अति प्रसिद्ध राजा मणिमुकुन्द (मुनिमुकुन्द) सेनले यसको निर्माण गराएका थिए भन्ने इतिहासकारहरुको विश्वास छ । दक्षिणतिरबाट हुन सक्ने आक्रमणलाई रोक्न पाल्पा राज्यको पहाडी इलाका सुरु हुने प्रवेशद्वारमै तिनाउ नदी किनारमा गढी निर्माण गरिएको थियो । जसलाई बटौली गढी भनिन्थ्यो । गढीको अन्दाजी आधा किलोमिटर उत्तरको भिरालो पखेरामा सेनवंशीय राजाको शितकालीन दरबार थियो । जसको भग्नावशेष अहिले पनि संरक्षित छ । यसको निर्माण १६ औं शताब्दी (वि.सं. १५७५) मा मणिमुकुन्द सेनले गराएको विश्वास गरिएको छ । यो शितकालीन दरबारको सुरक्षा एवं पाल्पा राज्यकै सुरक्षाको लागि गढी निर्माण गरिएको हो । यो गढी ज्यादै वैज्ञानिक र दुरदर्शी ढङ्गले इँटा र माटोद्वारा निर्माण गराइएको थियो । दक्षिणतिरबाट हुन सक्ने आक्रमणलाई प्रवेशद्वारमै रोक्ने उद्देश्य यो गढीको थियो । कदाचित यो गढीमा दुश्मनलाई रोक्न नसके दोस्रो गढीमा रोक्ने उद्देश्यले बटौलीदेखि माथि उकालो अन्दाजी २ घण्टा पैदल हिंडेर पुग्न सकिने पाल्पा दोभानको नुवाकोट डाँडामा काठे गढी निर्माण गरिएको थियो । जसलाई सानो नुवाकोट गढी पनि भनिन्थ्यो । तेस्रो गढी नुवाकोटमै निर्माण गरिएको थियो । जसलाई नुवाकोट गढी भनिन्थ्यो । यी तीन ठाउँमा दुश्मनलाई रोकेर पाल्पाको रक्षा गर्ने सुरक्षा रणनीति थियो । यी तीन ठाउँमा रोक्न नसकेमा पाल्पाका अन्य गढी र राजदरबार तानसेनमा अन्तिम लडाई लड्ने सुरक्षा रणनीति थियो । पाल्पा राज्य नेपाल अधिराज्यमा गाभिएको धेरै पछि सम्म पनि तानसेन पुग्ने मार्ग यही थियो र नेपाल सरकारको सुरक्षा रणनीति पनि यही नै थियो ।

हो, यही बटौली गढीमा १९ औं शताब्दीमा विश्व विजयी अङ्ग्रेज सेनाले आक्रमण गरेको थियो । विश्व विजयको महत्वाकांक्षा बोकेको र आक्रमण गरेको जुनसुकै ठाउँमा सफल भएको अत्याधुनिक हातहतियारले युक्त शक्तिशाली अङ्ग्रेज सेनालाई यही बटौली गढीमा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले जितेको थियो । रणनीति बमोजिम प्रवेशद्वारमै शक्तिशाली अङ्ग्रेज सेनालाई रोक्न नेपाली सेना सफल भएको थियो । यही युद्धमा जितेको गढी भएकाले जितगढी नाम राखेका थिए, उजिर सिंह थापाले ।

– जितगढीमा भएको नेपाल–अङ्ग्रेज युद्ध

यो युद्ध १९ औं शताब्दी (वि.सं. १८७१–७२) मा भएको थियो । बुटवल र स्युराज (कपिलबस्तु) लाई अङ्ग्रेजले आफ्नो इलाका भनी दावी गरेका कारण नेपालले विश्व विजयी अङ्ग्रेज विरुद्ध बाध्यात्मक युद्ध लड्नु परेको थियो । पाल्पा राज्य नेपाल अधिराज्यमा एकीकरण भएपछि पाल्पाका राज खलक र केही भारदार खलक असन्तुष्ट भएका थिए । यिनै असन्तुष्ट भारदार खलक अङ्ग्रेजका सुचक थिए र नेपाल विरुद्ध अङ्ग्रेजलाई उक्साएका थिए । अङ्ग्रेजले बुटवल र स्युराजमाथि दावी गर्दा पटक पटक झडप भएका थिए । विशाल भारतमा आधिपत्य जमाएको अङ्ग्रेजले नेपाल अधिराज्यमाथि पनि आँखा गाडेको थियो । बुटवल र स्युराजमाथि आक्रमण गर्नुको उद्देश्य बुटवल र पाल्पा कब्जा गर्नु थियो । पाल्पा जितेर पश्चिम नेपाल र काठमाडौबीच सम्बन्ध टुटाएपछि काठमाडौमाथि आक्रमण गर्ने उद्देश्य थियो, अङ्ग्रेजको । बुटवलमाथि कब्जा जमाएपछि यस क्षेत्रको घना जङ्गलको दुर्लभ रुख वृक्ष प्राप्त गर्नु र बुटवल हुँदै तिब्बततर्फ व्यापारिक मार्ग विस्तार गर्नु अङ्ग्रेजको लक्ष्य थियो । पाल्पाको समशितोष्ण हावापानी भएको इलाकामा दरबार बनाई बस्ने र तराईको उब्जनीशिल फाँटमाथि कब्जा जमाउने लक्ष्य समेत थियो । दरबारहरु बनाउन बुटवल वरीपरिको घना जङ्गलमा सयौं वर्ष पुराना ठूल्ठूला रुख वृक्षहरु उपलब्ध थिए । यिनै काठपात हात पार्ने दाउ पनि थियो अङ्ग्रेजको । यिनै उद्देश्य लिएर वि.सं. १८७१ पुस १३ गतेका दिन अङ्ग्रेज जनरल सुलिभान उड युद्धको लागि बुटवल आइपुगे । उनीसँग अत्याधुनिक हातहतियारले युक्त फौज, तोप र पाल्पाली राजा पृथ्वीपाल सेनका मन्त्री तथा सल्लाहकार कनकनिधी तिवारीका बाबु छोराका साथमा रहेका पाल्पाली फौज समेत थियो । वि.सं. १८७१ पुस १५ गतेका दिन दुई पक्षबीच घमासान युद्ध भयो, बटौली गढीमा । इष्टइण्डिया कम्पनीको फौजको नेतृत्व गरेका जनरल उडले पाल्पामाथि आक्रमण गर्न दुई वटा बाटो रोजेका थिए । पहिलो बाटो पहाडै पहाड गएर नुवाकोट गढीलाई ध्वस्त पारी पाल्पा हान्ने र अर्को जीतगढीलाई ध्वस्त पारी हालको सिद्धार्थ राजमार्गको बाटो भई पाल्पा हान्ने योजना बनाएका थिए । पहिलो बाटोबाट जाँदा नुवाकोट गढीको वरीपरी तीन माइल सम्म खानेपानीको अभाव भएको जानकारी पाएपछि जनरल उड निराश भए । घना जङ्गलको बुट्यान भएर बाटो तय गर्नु पर्ने भएकाले अङ्ग्रेज फौजलाई सकस भयो । उडले बटौली गढीको रेकी गर्न पठाए । रेकी टोली किल्ला खाली जस्तो देखि फर्कन मात्रै लागेको थियो, किल्ला भित्रबाट गोलीको बर्षा भयो । एक दुई जना त्यहीँ ढले । अरु बाँचेर भागे । केही समय पछि उडले फौजलाई एकत्रित गरी दुई समूहमा बाँडे र एक समूहको नेतृत्व आफैले लिए । पुस १५ गते साँझ पख चार सय जवान अङ्ग्रेज फौजले जितगढीमा हमला ग¥यो । दुई पक्षको बीचमा घमासान युद्ध भयो । नुवाकोट गढीबाट सबुजको पाँच पट्टी (अन्दाजी २५० जना) र अरु जागिरे ढाक्रे गरी ७–८ सय जनाको लस्कर साथमा लिएर कर्णेल उजिर सिंह थपा जितगढीमा ओर्ली भित्रैबाट युद्धको नेतृत्व गरे । दाहिनेतिरबाट हमला गर्नेहरुको टोलीबाट सरदार सूर्य थापाले विरगती प्राप्त गरे । कुम्भेदान कृपासुर थापा, जमदार भिमसेन देउजा, जमदार सुरविर बोहोरा, जमदार जसिबन्त शाही, जमदार बुद्धिबल राना र हुद्दा सिपाहीहरु समेत ५०–६० जवानले हातमा नाङ्गो तरबार लिएर गढीदेखि बाहिर निस्की दोहोरो तर्फबाट तरबार चलाउँदा कुम्भेदान कृपासुर थापा, लेप्टेन अमर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भिमसेन देउजा, जमदार सुरविर बोहोरा, सबुजका हवल्दार रणसुर बानिया, जुठे बस्नेतहरुले २–३ सय अङ्ग्रेज फौजलाई मारेर आफूहरुले वीरगती प्राप्त गरे । नेपाली फौजतर्फ अन्दाजी ५०–६० जना जवान मारिए । जमदार जसिबन्त शाही, जमदार बुद्धिबल राना आदि हुद्दा सिपाहीहरुले अङ्ग्रेज फौजका धेरै जवानहरुलाई मारेर गढीमा फर्किए । लडाईमा अङ्ग्रेज फौजका बृगेड मेजर हैट र इन्जिनियरिङ्गका लेफ्टीनेन्ट मोरिशन नराम्ररी घाइते भए । युद्धमा अङ्ग्रेज तर्फका एक जना कर्णेल, पाल्पाली काजी कनकनिधी तिवारीका बाबु छोरा र अङ्ग्रेज फौजका ५–७ सय जना सिपाहीहरु मारिए । “युद्ध हतियारले होइन विचारले लडिन्छ” भन्ने दृढ अठोट लिएर मैदानमा उत्रिएको थियो, नेपाली सेना । नेपाली सेनाको साहस, वीरता, धिरता, रणकौशल, मनोबल र आत्मविश्वासलाई निकटबाट स्पर्श गरेको अङ्ग्रेज फौजले युद्धकला र युद्धनीतिमा नेपाली भन्दा आफु कमजोर भएको महसुस ग¥यो र युद्ध मैदान छोड्यो । पहिलो चरणको युद्धमा नेपालले अङ्ग्रेजलाई नराम्ररी हरायो । युद्धमा नराम्रो हार व्यहोर्नु परेपछि रन्थनिएका अङ्ग्रेज जनरल जोन सुलिभान उड चैत सम्म चुप लागेर बसे । उनले कर्णेल उजिरसिंह थापा नुवाकोटबाट पाल्पा फर्केको भन्ने चाल पाएपछि पुनः बुटवलमाथि आक्रमण गर्न १८७२ सालको बैशाख ७ गते बुटवल आइपुगे । अङ्ग्रेज फौजले बटौलीतिर तोपको गोला बर्साउन थाल्यो । १८ पाउण्डको गोला प्रहार गरी बटौलीको पखेरोमा रहेको दरबारलाई ध्वस्त पारीदियो । अङ्ग्रेज फौजले तिनाउ नदी पार गर्न लागेकै बेलामा बटौली गढीबाट गोलीको बर्षा गराईदियो नेपाली सेनाले । कुम्भेदान जयसुर थापाले अङ्ग्रेज फौजको पहिलो डफ्फालाई सखाप पारीदिए । अङ्ग्रेज फौजको भागाभाग भयो । जनरल उडले बटौली गढी अभेद्य किल्ला भएको अनुभव गरे । आफ्ना जासुसबाट सत्य सूचना पाउन नसकेका जनरल उडले सानो बस्तीका लागि धेरै ज्यानको बाजी लगाई युद्ध लडिरहनु उचित सम्झेनन् । त्यसैले आफ्नो फौजलाई युद्ध मैदान छोड्न आदेश दिए । यसरी दुई चरणका युद्धमा नेपाली सेनाले विजयश्री हासिल ग¥यो । अङ्ग्रेजको नेपालमाथि आधिपत्य जमाउने विस्तारवादी योजना यहींबाट अन्त्य भयो । बटौली गढीको नाम जीतगढी रहन गयो । जितेको खुसीयालीमा बटौलीदेखि तानसेन सम्म विजय उत्सव मनाइयो । सिङ्गो नेपाल अधिराज्यभरी खुशीको सञ्चार भयो । यही विजय उत्सवलाई स्मृति स्वरुप केही वर्ष यता निरन्तर बुटवलमा बैशाख ७ गते जितगढी विजयको वार्षिकोत्सव कार्यक्रम आयोजना गरी मनाउन थालिएको छ । २०८० सालमा पनि भव्य समारोह आयोजना गरियो ।

– को हुन उजिर सिंह थापा

नेपालको राजनीतिक र सैनिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको इतिहास बोकेको बगाले थापा बंशमा जन्मिएका थिए उजिर सिंह थापा । उनी जनरल तथा काजी अमर सिंह थापा (साना काजी) का नाती तथा नेपालको इतिहासमा सबैभन्दा बढी ३३ वर्ष मुख्तियारी (प्रधामन्त्री) चलाएका भिमसेन थापाका भाई काजी नयन सिंह थापाका छोरा हुन् । उनी राजनीतिक तथा सैनिक पृष्ठभूमिको उच्च कुलमा जन्मेका थिए । उनका भाई माथवरसिंह थापा प्रधानमन्त्री बने । बहिनी त्रिपुरासुन्दरी राजा रण बहादुर शाहको रानी बनिन् भने दिदी गणेश कुमारी राणा शासनका संस्थापक श्री ३ जङ्ग बहादुर कुँवर (राणा) को आमा थिइन् । आफ्नो हजुरबुबा अमर सिंह थापाको मृत्युपछि कर्णेलको दर्जा दिएर २० वर्षको कलिलो उमेरमा उनलाई पाल्पा गौडाको प्रशासक बनाएर पठाइएको थियो । उनले १० वर्ष पाल्पाको प्रशासक भई राष्ट्र सेवा गरे । उनको मुख्यालय तानसेनमा थियो भने बटौली गढी, काठेगढी र नुवाकोट गढीमा बसेर अङ्ग्रेज विरुद्ध लडाई संचालन गरेका थिए । पाल्पा हानी काठमाडौतर्फ अघि बढ्ने लक्ष्य बोकेको अङ्ग्रेज फौजलाई उनी नेतृत्वको नेपाली फौजले नराम्ररी हरायो र अङ्ग्रेजको विस्तारवादी पाइला रोकिदियो । बुद्धिमत्ता र बहादुरीपूर्वक लडाई सञ्चालन गरेका उजीर सिंहले नेपालको इतिहासमा ठूलो योगदान दिएका छन् । नेपाल–अङ्ग्रेज युद्धमा नेपालले पूर्णरुपमा जितेको युद्ध यही बटौली गढीको मात्र हो ।

उजीर सिंह थापा एक कुशल सैनिक कमाण्डर मात्र नभई कुटनीतिज्ञ, कुशल प्रशासक र नीतिज्ञ थिए । उनी धार्मिक स्वभावका पनि थिए । उनले प्रशासनिक र सामाजिक बन्दोबस्तीका लागि कानून समेत निर्माण गरेका थिए । योगदान उँचो भएर पनि ओझेलमा परेका र सरकारले घोषणा गर्न छुटेका राष्ट्रिय विभुती हुन उजीर सिंह थापा । अतः नेपाल सरकारले उनलाई अविलम्ब राष्ट्रिय विभुती घोषणा गर्नु पर्छ । अस्तु ।

सन्दर्भ सामग्री :
– नेपाल अङ्ग्रेज युद्धका दुई सय वर्ष
– समर सौन्दर्यका नायक कर्णेल उजीर सिंह थापा नेपाल अङ्ग्रेज युद्ध र महिषासुर मर्दिनी श्री ७ रणउजिरेश्वरी भगवती जात्रा ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?