© २०२३
बुटवल बुद्धवल्लीको अपभ्रम्स रुप हो भन्ने तर्क हालसम्म अकाट्य बनेको छ । इतिहास र संस्कृतिका अध्येताहरु बुटवल बुद्धवल्ली नै हो भन्ने सम्बन्धमा स्पष्ट छन् । नेपालको प्राचिन इतिहासका अद्वितीय विद्वान योगी नरहरीनाथले बुटवललाई बुद्धवल्लीको रुपमा चित्रण गर्नु भएको छ । बुटवलको ट्राफिकचोकस्थित दुर्गा मन्दिरको एक शिलालेखमा योगी नरहरीनाथले बुटवललाई बुद्धवल्लीको रुपमा चित्रण गर्नुभएको हो । बुद्धवल्लीको अर्थ बुद्धको विचरण स्थल भन्ने हो । यसकारण यो धार्मिक पर्यटकीय स्थल हो । पर्यटकीय विकासको अपार सम्भावना बोकेको शहर हो बुटवल । यसैले बुटवल उद्योग बाणिज्य संघले यसलाई पर्यटकीय विश्राम स्थलको रुपमा प्रबद्र्धन गर्ने अवधारणा अघि सारेको छ । बुटवलमा पर्यटकीय विकासको सम्भावना, चुनौती र सरोकारवालाको भूमिका सम्बन्धमा चर्चा गर्नु यस लेखको उद्देश्य हो ।
बुटवल शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी निकटको सबैभन्दा ठूलो शहर हो । जो महानगर उन्मुख छ । यो शाक्यमुनि बुद्धको समयमा पनि प्रसिद्ध बुटवलको रुपमा प्रख्यात र अग्रणी थियो । बुद्धकालका यस क्षेत्रका दश ठूला सहरमध्ये बुटवल अग्रणी र प्रसिद्ध नगर थियो । लुम्बिनी निकटको शहर भएकोले यसको पर्यटकीय विकासका सम्भावना प्रशस्त छन् । यस अतिरिक्त यो शहर स्वयंले पर्यटकीय विकासका श्रोतहरु बोकेको छ । अठारौं शताब्दीमा भएको नेपाल अङ्ग्रेज युद्धमा अङ्ग्रेजलाई जितेको जितगढीलाई काखमा बोकेको छ यसले । त्यसैगरी पश्चिम नेपालको पुरानो बाणिज्य केन्द्र प्राचिन बटौली बजारलाई पनि काखमा बोकेको छ बुटवलले । सिद्धभूमि पाल्पाको दोभान क्षेत्रलाई छेउमा राखेको छ यसले । त्यस्तै एक करोड दश लाख वर्ष पुरानो मानवजाती रामपिथेकसको दाँतको बङ्गारा भेटिएको स्थल पाल्पाको दोभान क्षेत्रलाई पनि काखमा राखेको छ, यसले । बुटवल वरीपरिको वनजङ्गल क्षेत्र जडिबुटी र औषधीजन्य वृक्षहरु रहेको घनाजङ्गल हो, जहाँ पर्यटकहरु घुमाउन सकिन्छ । यसैभित्र बुटवलको विकासका सम्भावनाहरु खोजी गर्दै बुटवल नगरले पूर्वाधार विकासका अवसर पहिल्याउनु पर्छ ।
बुटवलको वरिपरीको जङ्गल क्षेत्रलाई बुद्धले विचरण गरेको वनको रुपमा पर्यटकीय प्रबद्र्धन गर्नुपर्छ । यहाँ जडीबुटी र औषधीजन्य रुख वृक्षहरु हुर्काउनु पर्छ । जङ्गलका विभिन्न भागमा बुद्धका मन्दिर र मुर्तिहरु स्थापना गराउन सकिन्छ । सयौं वर्ष पुरानो बुटवलको पद्मचैत्य विहारलाई लुम्बिनी पर्यटन चक्रमा समावेश गर्नुपर्छ । सिंङ्गो बुटवललाई लुम्बिनी पर्यटन चक्रमा समावेश गर्नुपर्छ । अहिलेसम्म लुम्बिनी आउने पर्यटक बुटवल भ्रमणमा आएको तथ्याङ्क या विवरण कतै पाइदैंन । व्यवहारमा हामीले देखेका पनि छैनौं । अब यसमा सुधार गर्नुपर्छ । लुम्बिनी आउने पर्यटकहरु बुटवल भ्रमणमा आउने वातावरण सिर्जना गर्नुपर्छ । प्राचिन बटौली बजारलाई पुरातात्वीक क्षेत्रको रुपमा संरक्षण र प्रबद्र्धन गर्नुपर्छ । शाक्यमुनि बुद्धले विचरण गरेको नगरको रुपमा बटौलीको प्रचार प्रसार गर्नुपर्छ । एक्काइस सय वर्ष अघिका एक प्रसिद्ध सिद्ध पुरुष सिद्धबाबाले विचरण गरेको स्थलको रुपमा पनि बटौली बजारलाई प्रचार प्रसार गर्नुपर्छ । बटौली बजारस्थित गयाप्रसाद हलुवाईको मिठाई पसलमा सिद्धबाबा मिठाई खान मानव भेषमा आउने गरेको जनश्रुति छ । मानिसहरुले चेवा गरेपछि आउन छोडेको भन्ने जनश्रुति छ । यस कथालाई टेकेर यो मिठाई पसलको पनि प्रबद्र्धन गर्न सकिन्छ । हलुवाईको पाँचौं पुस्ता पनि यही मिठाई व्यापारमा व्यस्त छ । तर आर्थिक अवस्था भने सुध्रिएको छैन । शुद्ध घिउमा बनाइएका मिसावट रहित मिठाइहरु हलुवाईको मिठाइ पसलको विशेषता हो ।
जितगढी स्वयंमा अपार पर्यटकीय सम्भावना बोकेको सामरिक स्थल हो । विश्व विजयी अङ्ग्रेज सेनालाई नेपाली सेनाले जितेको गढी हो यो । यो ऐतिहासिक कथाबस्तु सुनाएर संसारभरीका पर्यटक यहाँ आकर्षित गर्न सकिन्छ । सोही अनुसारका पर्यटकीय पूर्वाधारहरु यहाँ निर्माण गर्नुपर्छ । पछिल्लो चरणमा जितगढीको पर्यटकीय विकासले गति लिएको छ । पर्यटक आकर्षित गर्ने खालका पूर्वाधार धमाधम निर्माण भईरहेका छन् । यो क्रमलाई निरन्तरता दिनुपर्छ । यहाँको पुरानो सुरुङ्ग मार्ग उत्खनन गरी पर्यटकीय पूर्वाधारको रुपमा विकास गरिनु पर्छ । अलग्गै जितगढी विकास समिति गठन गरियो भने यसको विकास र प्रबद्र्धनका योजना बनाउन सरकारलाई सहज हुन सक्छ । जितगढीको विकासको लागी बुटवल उपमहानगरपालिकाले केन्द्रिय सरकार र पुरातत्व विभागसँगको सहकार्यमा गुरुयोजना बनाई काम गर्नु आवश्यक भएको छ । जीतगढी विकास समिति बनाउने हो भने यहाँ आउने पर्यटकको विवरण राख्न पनि सहज हुनेछ । नभए सम्बन्धित वडा कार्यालयले जनशक्ति राखी यस सम्बन्धी व्यवस्था मिलाउन आवश्यक भएको छ । जीतगढीदेखि नुवाकोट गढीसम्म निर्माणाधिन केबुलकार यसको पर्यटकीय विकासमा कोशे ढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । बटौली बजार स्थित मणिमुकुन्द सेन उद्यान अर्को महत्वपूर्ण पर्यटकीय सम्पदा हो, बुटवलको । यो उद्यान बुटवलमा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रबद्र्धन भईरहेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा यसको भ्रमणमा ४ लाख ५० हजार बढी संख्यामा पर्यटक आएको तथ्याङ्क छ । यस्तै गत आर्थिक वर्ष ०७८÷७९ को आम्दानी खर्च करिब २ करोड ७५ लाख रुपैयाँ थियो । यो स्थल पाल्पाली सेन बंशीय राजाहरुको शितकालिन दरबार क्षेत्र हो । यहाँ सेन बंशीय राजदरबारको भग्नावशेष पनि संरक्षित छ । यहाँ पुराना हिन्दूका मन्दिर र मुस्लिमका मजारस्थान रहेका छन् । स्वामिनारायणको विचरणस्थलका रुपमा पनि यसको ठूलो महिमा छ । यहाँ स्वामिनारायणको पाउ स्पर्श भएको स्थल छ भनि श्रद्धापूर्वक पूजा प्रार्थना गर्न भारतबाट बर्षेनी ठूलो संख्यामा पर्यटक आउने गर्दछन् । नेपालमा शाह राजबंशकालमा पनि यस क्षेत्रको संरक्षण र पर्यटकीय प्रबद्र्धनको प्रयास भएको पाइन्छ । ऐश्वर्य उद्यानको रुपमा यसको विकास र प्रबद्र्धन गर्न प्रयास भएको इतिहास छ तर यसले सार्थक रुप लिन सकेन । बटौलीबासीको फोहोर थुपार्ने स्थलको रुपमा यो रुपान्तरण भईसकेको अवस्था थियो । पचासको दशकबाट यसलाई मणिमुकुन्द सेन उद्यानको रुपमा विकास र प्रबद्र्धन गर्न थालिएको हो । यसको प्रारम्भिक विकासमा बुटवलका द्वारिकाप्रसाद उदयको योगदान अविस्मरणिय छ । प्रतिबद्धता भएमा गर्न सकिन्छ भन्ने उदाहरण हो यो उद्यान । २ सय जनाबाट जनही १ हजार १ सय ५० रुपैयाँका दरले रकम उठाएर यसको विकास गर्न शुरुवात गरिएको थियो । म पनि एक संस्थापक सदस्यको नाताले यसको पछिल्लो विकासको अवस्था देख्दा खुशी लाग्छ । बटौली बजार पनि एक प्राचिन नगर हो । यसको पुरातात्वीक ढंगले संरक्षण गर्दै पर्यटकीय विकास र प्रबद्र्धन गर्नुपर्छ । यहाँका पुराना मठमन्दिरहरु जिर्णोद्धार गरी आकर्षक बनाउनु पर्छ । यहाँको १ सय ८ वर्ष पूरानो नारायण जात्राको संरक्षण र पर्यटकीय प्रबद्र्धन गर्नुपर्छ । हालको तिनाउ पुलनेर प्रस्तावित सिग्नेचर पुलले पनि बुटवलमा पर्यटकीय आकर्षण थप्ने छ ।
बुटवल–दोभान क्षेत्र एक सिद्ध भूमि हो । यहाँको कुहिरे भिरमा अदृश्य रुपमा धेरै साधु सन्तहरुले तपस्या गरिरहेका छन् । यद्यपी यो प्रमाणिक कुरा होइन, रहस्यको कुरा हो । यो क्षेत्र अष्टचिरन्जिवी मध्ये अश्वत्थामाको साधना तथा विचरण स्थल हो । राजर्षि भर्तृहरिको साधना तथा तपश्या स्थल पनि हो । भर्तृहरिको बोधगया हो दोभान क्षेत्र । दोभानको कुहिरे भिरस्थित गुफामा तपस्या गरी राजर्षि भर्तृहरिले अष्टसिद्धि ज्ञान प्राप्त गरेका थिए भन्ने जनश्रुति छ । उनैको निवास तथा साधना स्थलको रुपमा लोकले सिद्धबाबा क्षेत्र भनि श्रद्धा र पूजा प्रार्थना गर्दै आइरहेको छ । यहाँको कुहिरेभिरबाट हरेक दिन विहान कुहिरो निस्कने गरेको भक्तजनहरु विश्वास गर्दछन् । भक्तजनहरुले यसलाई सिद्धबाबाले गाँजा खाएको वा सिद्धबाबाको शिव धुनिबाट निस्केको धुवाँ भनि अथ्र्याउने गर्दछन् । त्यस्तै बुटवल–दोभान क्षेत्र एक करोड १० लाख वर्ष पुरानो मानव जाती रामपिथेकसको दाँतको बङ्गारा भेटिएको स्थल हो । यो अनुपम पर्यटकीय श्रोत हो । बुटवल बीचबाट बग्ने तिलोत्तमा (तिनाउ) नदी समेत पर्यटकीय श्रोत हो । यसको नामाकरण पौराणीक पात्र अप्सरा तिलोत्तमाको नामबाट भएको हो भन्ने किम्बदन्ती छ । अप्सरासँग देवताको प्रसङ्ग स्वतः आउँछ । यसर्थ पौराणीक कालमा पनि देवताहरुको विचरण भूमि थियो बुटवल । यसकारण यो धार्मिक पर्यटकीय स्थल हो । यही रुपमा यसको विकास र प्रबद्र्धन गर्नुपर्छ । यसैमा यसको भविष्य उज्ज्वल छ । बुटवलको योजनाबद्ध विकासकोलागि स्पष्ट योजना र सोंच विचार नहुनु एवं बुटवल उपमहानगरसँग बुटवलको पर्यटकीय विकास बारे स्पष्ट कार्य योजना नहुनु चुनौती हो । पर्यटक मैत्री पूर्वाधारको कमी अर्को चुनौती हो । यहाँको वन विनास हुनु, सार्वजनिक स्थलहरुमा मानविय अतिक्रमण, सिद्धबाबा र रामपिथेकस क्षेत्रमा बगिरहने पहिरो तथा भूस्खलन चुनौती हुन । बुटवलको सौन्दर्य विगार्ने खालका सबै खाले मानविय गतिविधि चुनौती हुन । तिनाउको जथाभावी दोहन चुनौती हो । बुटवलको पर्यटकीय महिमा बारे चर्चा गर्न सक्ने राम्रा राम्रा पथ प्रदर्शक (टुरगाइड) उत्पादन हुन नसक्नु चुनौती हो ।
अन्त्यमा, बुटवल उपमहानगरपालिका कार्यालय, बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही उद्योग संघ एवं लुम्बिनी प्रदेश सरकार र सङ्घीय सरकारको सहकार्यमा बुटवलको पर्यटकीय विकास र प्रबद्र्धनको लागि ठोस योजना एवं गुरुयोजना बनाई योजनाबद्ध ढंगले दीर्घकालिन सोंचका साथ अघि बढ्नु आजको आवश्यकता हो । अस्तु ।