© २०२३
बुटवल, चैत – बुटवलका चोक (पार्क) दलिय भागवण्डामा छन् । भागवण्डा अनुसार नाम पनि त्यसरी नै राखिएका छन् । प्रमुख दलका नाममा चोक भगवण्डा गरिएको लामो समय पुगिसकेको छ । तर चोक र पार्कमा राजनैतिक भाग खोज्ने दलहरु भने बुटवलको मुख्य बजारको सडक निर्माणमा चासो दिने गरेको पाइएको छैन् । ती पार्क र चोकको सरसफाई र सुन्दरीकरण गर्नमा उनीहरुको ध्यान पुग्न सकेको छैन् । उनीहरुले सडक निर्माणमा भएको ढिलाइमा सत्तामा रहने सरकारलाई दोष दिदै तर्किने गरेका छन् ।
माओवादी सशस्त्र द्वन्द्व छाडेर शान्ती प्रक्रियामा आएपछि उसले पनि भाग माग्यो । जस अनुसार पहिला राजा महेन्द्रको नाउँमा रहेको बुटवलको मुख्य हस्पिटल लाईनमा रहेको महेन्द्र पार्क (गणतन्त्र) नामाकरण गरियो । सोहीपार्कको छेवैमा रहेको पुष्पलाल पार्क नेकपा एमालेको भागवण्डामा थियो । सडक विस्तारको क्रममा अहिले त्यो पार्कले अस्तित्व नै मेटायो भन्दा हुन्छ । पार्कको केही टुक्रा मात्रै छ त्यहाँ । त्यही सानो टुक्रामा विभिन्न व्यक्ति वा संस्थागत विद्युतका ट्रान्फर्मर खडा भएका छन् । नेपाली कम्युनिष्टका संस्थापक पुष्पलाल श्रेष्ठको नाउमा नामाकरण गरिएको यो पार्क मा स्व. पुष्पलालको शालीक समेत स्थापना गरिएको थियो ।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले सोही शालीकमा माल्यपर्ण गरी आफ्नो कार्यभार सुरुवात गरेका थिए । तर अहिले यो शालीक नेकपा एमालले आफ्नो प्रदेश कार्यालय बुटवल –८ सुख्खानगरमा रहेको पुष्पलाल स्मृती भवनमा राखेको छ ।
पुष्लाल पार्कको नाम मेटिदैँ गर्द नेकपा एमालेको भागवन्डामा रहेको अर्को पार्क गोलपार्कमा रहेको मनमोहन पार्क अहिले छ । सडक विस्तारको क्रममा क्षेत्र खुम्चीयो । यो पार्क तत्कालीन समयमा नेकपा एमालेको भागमा परेको पार्क हो । जसको कारण यो यो पार्कको नाम मनमोहन पार्क नामाकरण गरियो । जसमा नेपालमा ३१ औ प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक समेत रहेका मनमोहन अधिकारीको शालीक यहाँ राखिएको छ ।
अधिकारी दक्षिण एसियाकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए वि.सं. २०४६ को जनआन्दोलनताका नेकपा माक्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगेका थिए । सडक विस्तारसंगै अलपत्र परेको उनको शालीक व्यवस्थापनमा नेकपा एमालले चासो नदेखाएको कारण त्यो पार्क अलपत्र अवस्थामा रहेको थियो । अहिले केही सुधार भएको छ ।
यस्तै नेकपा माओवादी शान्ती प्रक्रियामा आएपछि उसले पनि आफ्नो भागको पार्क खोज्यो । जस अनुसार तत्कालिन राजा महेन्द्रले आफ्नो शालीक राखेर महेन्द्र पार्क बनाएको हस्पिटल लाईनको यो पार्क कम्युनिष्ट पार्क भयो । जहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टको प्रतिक चिन्हको रुपमा रहेको ‘हसियाँ हथौडा’को प्रतिक चिन्ह उद्घाटन गरेका थिए ।
उक्त स्थानमा अहिले बुटवल उपमहानगरपालिकाले बाहिरी भाग सानो बनाएर ‘सहिद स्तम्भ बनाउने’ तयारी गरेको छ । जसको काम अहिले जारी छ ।
जीर्ण अवस्थामा रहेको महेन्द्र उद्यानलाई संरक्षणसहित परिवर्तनगरी शहीद स्तम्भ उद्यान बनाइने उपमहानगरापलिकाका प्रमुख खेलराज पाण्डेय बताउँछन् । १९ दिने जन आन्दोलनमा शहीद भएका र १० वर्षे जनयुद्धमा शहीद भएकाहरुको सम्झनामा सो शहीद स्तभ बनाइन लागेको बताइएको छ ।
उद्यान बनाउन बुटवल उपमहानगरपालिकाले ५ लाख रुपियाँ बजेट छुट्याएको छ । त्यस्तै, प्रदेश सरकारले ५ लाखभन्दा बढी बजेट सहयोग गर्ने प्रतिबद्धता गरेको बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले बताउँछन् । पार्कको भित्री भाग उपमहानगरपालिकाको सहयोगमा र बाहिरी भाग बुटवल सडक डिभिजन कार्यालयले बनाउने सहमति भएको नेकपा (माओवादी केन्द्र) रुपन्देही जिल्ला संयोजक नारायण जिसी(निर्मल)को भनाई छ । अहिले कायम रहेको जग्गाको क्षेत्रफल १०.६ मिटरलाई घटाएर ५.६ मिटर कायम गरी बनाइने छ । यता, नेपाली काँग्रेसको भागवन्डामा रहेको बिपी पार्क अहिले अस्तित्वमा छ । बुटवल–६ विपी चौकमा यहाँ विशेश्वर प्रसाद कोईराला(विपी)को शालीक निर्माण गरिएको छ । पार्क भित्र जाने, बस्ने स्थान नभएपनि त्यहाँ बर्षको एक दिन विपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेसले शालीकमा माल्र्यापण गर्ने, सरसफाई गर्दै आएको छ ।
दलको मात्र नभएर बुटवलमा अन्य संस्थाले समेत चोकलाई आफ्नो चोकको रुपमा नामाकरण गर्दै आएका छन् । जनआन्दोलनभन्दा पहिला राजाको शालीक रहेको बुटवलको राजमार्ग चौराहमा रहेको स्थान अहिले नेपालका प्रथम सहित लखन थापामगरको शालीक रहेको छ । प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको संरक्षकत्वमा उक्त चोकको नामाकरण लखन थापा चोक नामकरण गरिएको छ । जसमा नेपाल मगर संघ, आदिवासी जनजाती महासंघ लगायतका संघ संस्थाले लामो समय देखि लखन थापालाई प्रथम शहिद घोषणा गर्नुपर्ने माग गर्दै आएका थिए । नेपाल सरकारले उनलाई वि.सं. २०५६ मा शहिद घोषणा गरेको थियो । वि.सं. २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो शहिदको दर्जा प्रदान गर्ने निर्णय गरेको थियो ।