© २०२३
बुटवल,१८ चैत । नेपाल विद्युत प्राधिकरणमा राजनीतिक हस्तक्षेप नगर्न कर्मचारीहरुले माग गरेका छन् ।
राजनीतिक हस्तक्षेप हुंद कर्मचारीको सेवा प्रवाहमा असर पर्ने र प्राधिकरण घाटामा जाने लगायतका समस्या आउने कर्मचारीहरुले औंल्याएका छन् ।
नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद पौडेलले प्राधिकरणलाई पुनः संरचना गर्न जरुरी रहेको बताए ।
बुटवलमा शनिबार अयोजित युनियनको प्रदेश स्तरीय भेला तथा नेपाल विद्युत प्राधिकरणको वर्तमान अवस्था, चुनौती र युनियनको भूमिका विषयक अन्तरक्रियामा बोल्दै पौडेलले ठूला जलविद्युत परियोजनाहरुमा स्वदेशी लगानीलाई पहिलो प्राथमिकता दिन माग गर्दै ऐन संशोधन गरेर प्राधिकरणका कर्मचारीले शेयर लिन पाउने व्यवस्था गर्न माग गरे । अधिकांश ठूला परियोजनाहरुमा विदेशी कम्पनीहरुको लगानी रहेको बताउँदै उनले शेयर निश्कासन गरी कर्मचारीलाई खरिद गर्न दिने हो भने खरबौं रकम जम्मा हुने बताए ।
हाल रुग्ण, न्यून क्षमता भएका आयोजनाहरु मात्रै विद्युत प्राधिकरणको स्वामित्वमा रहेको बताउँदै ठूला सबै परियोजनाहरुमा विदेशी बहुराष्ट्रिय कम्पनीको स्वामित्व रहनु मुलुकका लागि राम्रो नभएको उनले उल्लेख गरे ।
उनले स्नातक तह उत्तिर्ण गरेकालाई अधिकृत तहमा परीक्षा दिन पाउने व्यवस्था हुनुपर्ने माग पनि गरे ।
फरक प्रसङ्गमा अध्यक्ष पौडेलले प्राधिकरण सम्बद्ध कर्मचारीहरुको सेवा सुविधाहरु कुण्ठित हुँदै गएको गुनासो गरे । विद्युत प्राधिकरणले सफलता प्राप्त गर्दै जाँदा केही व्यक्ति र हाकिमहरु मात्रै सेलिब्रेटीका रुपमा परिचित हुने तर तल्लो तहमा काम गर्ने कर्मचारीका समस्या बारे गम्भिर नहुने समस्या रहेको उनले बताए । भौगोलिक विकटता, पूर्वाधारको अवस्था लगायतका कुराहरुलाई नबुझी हचुवाका भरमा बजेट विनियोजन गर्दा कार्यान्वयनमा समस्या देखिएको बताए ।
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका निर्देशक नवराज वझाले विद्युत सेवालाई थप गुणस्तरीय बनाउने तथा चुहावट नियन्त्रणमा कर्मचारी युनियनसंग सहकार्य गरेर जान प्रतिवद्ध भएको उल्लेख गरे ।
नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका लुम्बिनी प्रदेश अध्यक्ष टेक बहादुर बुढाले ट्रेड युनियनहरु पनि सच्चिनुपर्ने र प्राधिकरणभित्र राजनीति गर्न नहुने बताए ।
कर्मचारी संगठनहरु श्रम ऐनको सीमाभित्र रहेर मर्यादित ढंगले उपभोक्ताको हितको पक्षमा काम गर्नुपर्ने अध्यक्ष बुढाले बताए । राजनीतिक हस्तक्षेपका कारण विगतमा प्राधिकरण घाटामा गएर धराशायी हुने अवस्थामा पुगेको स्मरण गर्दै बुढाले प्राधिकरणमा अझै सुधार गर्न बाँकी रहेको बताए ।