© २०२३
लुम्बिनी, १४ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मथलो मात्र नभएर बुद्धिजमको मुहान भएको बताएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धिजमको मुहानबाट शान्तिको सन्देश फैलाउन र बुद्धिजमको प्रचार गर्न आग्रह गरे ।
अभिभावको लगानी, माया र मेहनतबाट दीक्षित हुने अवस्थासम्मको सफलता प्राप्त गरेकामा अभिभावक र विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शन, आचरण र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरे । “मानवीय गुण भनेको ढाँटछल, जालझेल र प्रपञ्च होइन । मानवीय गुण भनेको शान्ति, करुणा र प्रेमको गुण हो”–प्रधानमन्त्री ओलीले भने, “घृणाले घृणा, अशान्तिले अशान्ति र शत्रुताले शत्रुता बढाउने तथा प्रेमले प्रेम, शान्तिले शान्ति र राम्रोले राम्रो नै बढाउने बुद्धदर्शनलाई हामीले पछ्याउनुपर्छ ।”
प्रधानमन्त्री ओलीले लुम्बिनी बुद्धको जन्मथलो र बौद्ध दर्शनको पनि थलो भएको उल्लेख गर्दै यसलाई पावनभूमिका रुपमा विकासित र प्रचारप्रसार गर्न सरकारले पहल गर्दै आएको बताए । उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गरेको र दोस्रो कार्यकालमा पाँच हजार जना सहभागी हुन सक्ने ध्यान केन्द्र बनाउने काम गरेको स्मरण गरे ।
समारोहमा कुलपति ओलीबाट भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधिप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन्। प्रधानमन्त्री ओलीले जीवनमा कसैको कुभलो नचिताउने तथा सँधै सकारात्मक चिन्तन र व्यवहार प्रदर्शन गर्नुहुने गुरुमाले मानार्थ विद्यावारिधिको सम्मान स्वीकार गरेर विश्वविद्यालयलाई थप सुपरिचित गराउनुभएको बताए ।