© २०२३
घरकै आँगनसम्म लटरम्म फलेका सुन्तलाको बोट । फलको भारले नुगेका हाँगाहरू । अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नं. १ सिम्ले गाउँ पुग्दा देखिने दृश्य हुन् यी । जुन दृश्यले जो कोहीलाई लोभ्याउँछ । जंगल जस्तै देखिने सुन्तलाको बगैचामा त्यहाँका किसानहरु दैनिकी सुन्तला स्याहारमा लागिरहेको भेटिन्छन् । ती सुन्तलाको बोटले किसानको मात्र होइन गाउँको शान र मान बढाएको छ । पैसाका लागि विदेश जाने बाध्यता घटाएको छ ।
सुन्तलाले गाउँका किसानहरूको आम्दानी बढाउनमा सहयोगी गरेको गाउँपालिकाका अध्यक्ष अच्युत गौतम बताउँछन् । सुन्तलाको क्षेत्र बढाउने संभावना भएको हुँदा गाउँपालिकाले सुन्तला र कागती उत्पादनलाई प्राथमिकता दिएको समेत उनले बताए ।
सुन्तलाको सिजन चलिरहँदा यहाँका किसानहरू सुन्तला बेच्ने तयारीमा छन् । सुन्तला पाक्न शुरु गरेको हुँदा आउने हप्तादेखि बिक्री शुरु गर्ने स्थानीय हरिप्रसाद पौडेल बताउँछन् । पाणिनि गाउँपालिकाको सबैजसो वडाका गाउँमा सुन्तलाको उत्पादन हुने गरेको पौडेलले बताए । उनको २ सय ५० जति सुन्तलाको बोट छन् । आफ्नो गाउँको सुन्तला गुलियो भएको हँुदा बजारको समस्या नभएको पौडेल बताउँछन् ।
अर्का किसान रेवती पौडेलपनि सुन्तलाको उत्पादनबाट खुसी छन् । गत साल असिनाका कारण उत्पादन कम भएको बताउने उनी ७/८ लाखको कारोबार हुने आशामा छन् । अहिले त सुन्तलाको फल पनि राम्रो छ उनले भने बजार भाउ ठिकै भएको हँुदा मूल्य पाउने आशा छ । करिब ४ सय ५० बोट सुन्तला रहेका उनको ८० हजार क्षमताको सुन्तलाको नर्सरी छ । काम गरे गाउँमै पैसा छ भन्ने सन्देश दिन पौडेल काफी छन् । दुई छोराछोरी र श्रीमतीका साथ गाउँमा रहेका पौडेलको दिन सुन्तलाको हेरचाहमा बित्ने गर्दछ ।
पाणिनि सुन्तला जात वागवानी विकास समितिका अध्यक्ष समेत रहेका पौडेलले गाउँपालिकाबाट करिब ६ करोडको सुन्तला बिक्री हुने बताए । उनका अनुसार यहाँका किसानहरूले बर्षेनी सुन्तलाको बोट थप्दै गएका छन् । समिति अन्तर्गत ३ सय ६८ किसान आबद्ध छन् । नेपाल सरकारको सुन्तला जातको बागवानी कार्यक्रम अन्तर्गत विगत तीन बर्षदेखि समितिलाई बगैचा सुदृढिकरणका लागि सहयोग भैरहेको उनको भनाइ छ । गत साल मात्र गाउँपालिकाको अनुदानमा १३ हजार बिरुवा किसानहरूले लगाएको उनले बताए ।
बि.सं. २०२३ सालमा स्व. निलराज गौतमले शुरु गरेको सुन्तला खेतीको व्यावसायीकरण होमनाथ पौडेलले गरेको स्थानीयको भनाइ छ । विगत १० बर्षदेखि व्यवसायिक रूपमा उत्पादन गरिरहेका किसानहरूले सुन्तलाले आफूहरूको शान र मान बढाइरहेको बताउँछन् । बोटभरी लटरम्म सुन्तला छन्, मन खुसी छ एक किसानले गर्व गर्दै भने, बिक्रीपछि हातभरी नि आउँछ ।