© २०२३
चन्द्रौटा(कपिलवस्तु), ७ चैत ।
प्राकृतिक सुन्दरताले भरिएको छ, कपिलवस्तु । जसमध्ये जगदीशपुर ताल पनि एक हो । जहाँ चराचुरुङ्गी लगायत अनेकौँ रंगीचंगी भएको पाइन्छ । जिल्लाकै ठूलो रहेको जगदीशपुर तालले बेग्लै पहिचान बनाएको छ ।
जुन ताल आगन्तुक चराको प्रमुख आकर्षणको गन्तव्य रुपमा मानिन्छ । पहिले विभिन्न प्रजातिका चराचुरुङ्गीको ताँती नै देखिन्थ्यो । हिँउदे जाडो छल्न आएका चराले ताल आसपासको क्षेत्र मनमोहक देखिन्थ्यो । सिमसार क्षेत्रमा सम्बन्धित निकायको ध्यान नगएकोले तालमा आगन्तुक चरा घट्दै गएको सहजै अनुमान गर्न सकिन्छ ।
यहाँ कंक्रिटको संरचना निर्माण भए सँगै आगन्तुक चराको संख्या वर्षेनी घट्दै गएको छ । सीमसार क्षेत्रमा सरकारले पर्यटन, प्रवर्द्धन तथा विकास निर्माणका नाममा जथाभावी कंक्रिट संरचना निर्माण गर्न थालेपछि जल र जमिनमा आश्रित आगन्तुक चरा हराउन थालेका छन् ।
चराचुरुङ्गीको क्रियाकलाप हेर्न स्थानीय पर्यटकको घुइँचो लाग्ने गर्दथ्यो । अहिले जगदीशपुर तालमा त्यस्तो अवस्था विरलै देख्न पाइन्छ । ताल घेराबारदेखि पर्यटक लोभ्याउन डुङ्गा चलाउने, मठमन्दिर बनाउने, पिक्निक स्पोट बनाउने जस्ता गतिविधिले सुन्दर जैविक विविधता हराउन थालेको स्थानीयले गुनासो गरेका छन् । सिमसार क्षेत्रमा संरचना निर्माण गर्दा विज्ञहरुसँग सुझाव नलिएको जनाइएको छ ।
पन्छी विज्ञ कृष्ण प्रसाद भुसालले रामसारमा सूचीकृत क्षेत्रमा बन्ने संरचना पर्यावरण मैत्री नभएको जिकिर गरे । उनले भने ः “संरचना निर्माण गर्दा पर्यावरण संरक्षणमा समेत जोड दिनुपर्छ । जगदीशपुर आरक्ष बन्नुपूर्व तालको डिलमा टायल राखेर पदमार्ग निर्माण गरिएको थियो ।“ विज्ञ भुसालले थपे ः “अहिले दुई स्थानमा कंक्रिटका ठूला टावर स्थापना भएका छन् । पूर्वी भेगमा होटल सञ्चालित छन् । तालमा डुङ्गा सञ्चालन रहेको छ । ताल क्षेत्रमा मानवीय क्रियाकलाप बढेसँगै शान्त वातावरण रुचाउने चराको संख्या निरन्तर घटेको छ ।“
सो आरक्षमा सन् २०१९ मा १४ हजार ९८०, सन् २०२० मा २० हजार आठ सय, सन् २०२१ मा १२ हजार ६३, सन् २०२२ मा ११ हजार १८ चरा गणना भएको थियो । पन्छी संरक्षण संघका बायोलोजिस्ट दिलिप चन्दका अनुसार यस वर्ष ११ हजार २ सय २२ चरा गणना भएको छ ।कृष्णनगर नगरपालिकाको अजिगरा ताल, विजयनगर गाउँपालिकाको शंकरपुर तालमा संरचना निर्माणका लागि डीपीआर तयार भइरहेको छ । बुद्धभूमि नगरपालिकाको बुड्ढी ताललाई सौन्दर्यीकरण गर्न संघीय सरकारले बजेट समेत विनियोजन गरेको छ । ताल संरक्षणको नाममा निर्माणको कार्य सुरु भएसँगै चराको चहलपहल घटेको छ ।