© २०२३
बाँके फागुन- हरेक दिन बिहान नेपालगन्जको सुर्खेतरोडमा थारु समुदायका महिलाले मात्रै लगाउने तरकारीको हाटबजारले धेरैको ध्यान खिच्छ । बाँके र बर्दियाको गाउँ–गाउँबाट थारु समुदायका महिलाहरु रैथाने जातको तरकारी बेच्न बिहान छ बजे नै सुर्खेतरोड आइपुग्छ् ।
सडक किनारमा लहरै लागेर बिक्री लागि राखेको तरकारी किन्न आउनेको भिड र आर्कषण पनि उत्तिकै छ । आठ बजेसम्म त्यसरी तरकारी बेचेपछि कोही घर फर्किन्छन् भने कोही बचेको तरकारी बेच्न बजारकै घर–घरमा पुग्छन् । थारु समुदायका महिलाले बेच्ने तरकारी स्थानीय जातका हुने भएकाले पनि किन्नेको आर्कषण पाईन्छ ।
‘मर्निङ्ग’ गर्दा सुर्खेतरोडमा तरकारी किन्न जहिल्यै पुग्ने ग्राहक हुन कृष्णप्रसाद श्रेष्ठ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय समेत रहेका प्रतिष्ठित व्यवसायी श्रेष्ठ ‘लोकल’ जातको तरकारीहरु पाइने भएकाले आफु संधै आउने गरेको बताउँछन् ।
मंगलवार बिहान कालो जातको काउली किन्न आएका श्रेष्ठ भन्दै थिए,–‘भारतबाट आउने बिषादीयुक्त तरकारी खादाखादा वाक्क भइसक्यौं । थारु समुदायका महिलाले ल्याउने तरकारी लोकल हुन्छ र स्वादिष्ट पनि । आज पनि उहाँहरुले ल्याउने कालो खाले बन्दा किन्न आएको छु ।’
महिलाहरुले थारु समुदायमा मात्र लगाइने आलु, सिमी, बोडी, खुर्सानी बेच्न ल्याउँछन् । उनीहरुले बेच्ने आलुलाई थारु आलु समेत भनिन्छ । ‘यो पश्चिम तराईमा थारु समुदायमा लगाइने आलु हो । हेर्दा मसिनो तर असाध्यै स्वादिष्ट हुन्छ ।’–आलु किन्न आएका ग्राहक गेहेन्द्र केसीले भने । उनले थारु समुदायका महिलाले बेच्न ल्याउने गोलभेडा र सिमीको आफु पारखी भएको बताए ।
बाँकेको टिटिहिरिया र बर्दियाको बढैयातालबाट थारु समुदायका महिलाहरु तरकारी बेच्न नेपालगन्ज आउने गरेको नेपालगन्ज उपमहानगरपालिका–२ का पूर्व वडा अध्यक्ष सुनिलसिंह हमालले जानकारी दिए । केही महिलाहरु साईकल चढेर त केही बसमा बिहान तरकारी बेच्न आउँछन् । बढैयातालकी फुलमत थारुले यसरी तरकारी बेच्न आउन थालेको पाँच महिना भयो ।
उनी अघिल्लो दिन बारीबाट तरकारी टिपेर धोइधाई गरी पोको पार्छिन । बिहानै गाडीमा चढेर नेपालगन्जको सुर्खेतरोड आइपुग्छिन् । त्यतिन्जेल भोक मेटाउन रोटी र अचारसंगै ल्याउने गरेकी छन् । एक बिहानमा एक हजारसम्मको तरकारी बेचेर उनी फेरी घर फर्किन्छन् ।
‘पहिला तरकारी लगाए पनि बेच्ने ठाउँ थिएन । अहिले ठाउँ पाएका छौं बिहान दुई÷तीन घण्टा तरकारी बेचेर गुजारा चलाउनेसम्मको पैसा कमाई भइहाल्छ ।’ फुलमतिले भनिन्–‘अहिले नेपालगन्जमा हामीले ल्याएको तरकारी किन्नेको भिड लाग्छ ।’ टिटिहिरियामा त थारु समुदायका महिलाले समुह नै बनाएर तरकारी खेती गर्दै आएका छन् । त्यसरी समुहबाट उत्पादन भएको तरकारी पहिले खेर जाने गरेको बासमती थारुले बताइन । तर अहिले नेपालगन्ज ल्याउन थालेपछि राम्रै बजार पाइएको भन्दै बासमतीले भनिन्–‘अहिले बजार र मुल्य दुबै पाएका छौं ।’
गाउँमा उत्पादन भएका तरकारी एउटै थलोमा बेच्ने र किन्न सहज बनाउन नेपालगन्ज–२ का पूर्व वडा अध्यक्ष हमालले सहजिकरण गरिदिएका हुन । घर–घरमा पुगेर बेच्दा दुख हुने देखेर उक्त ठाउँमा बेच्ने वातावारण बनाइदिएको श्रेष्ठ बताउँछन् । उनी भन्छन्–‘सडकको किनारमै भएपनि आवातजावतमा समस्या नहोस् भन्नेमा हामी सचेत हुनुपर्छ । थारु समुदायका महिलालाई हिम्मत र स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न पनि हामीले सहजिकरण गरिदिनुपर्छ ।’
थारु समुदायका महिलाले गरेको कामले अरुलाई पनि प्रोत्साहन गरेको बिबिसीमा कार्यक्रम पत्रकार बिमल चौधरी बताउँछिन् । ‘महिला आफैले लगाएको तरकारी आफै बजार खोज्दै हिडेका छन् यसलाई सरकारले पनि प्रोत्साहित गर्नुपर्छ ।’– चौधरीले भनिन् । थारु समुदायका महिलाले गरेको कामले अन्य महिलालाई समेत आर्थिकरुपमा सशक्त बन्न उत्प्रेरणा जगाउने उनको भनाई छ । तरकारी ब्यापारमा लागेका थारु महिलाहरुलाई रैथाने जातको तरकारी उत्पादनमा समेत प्रेरित गर्नुपर्ने होमस्टे एशोसियन नेपालका महासचिव कृष्ण चौधरी बताउँन् । रैथाने तरकारी एवं अन्नवाली संरक्षणमा समेत लागेका उनी भन्छन्–‘जुन बिश्वासले ग्राहकले थारु महिलाले ल्याएको तरकारी किन्नुहुन्छ त्यसलाई बचाइराख्नका लागि कृषक महिलाहरुलाई तालिम,आर्थिक सहयोग गर्नुपर्छ ।’