© २०२३
बुटवल, २४ फागुन । चैत ४ गतेदेखि शुरु हुने २२ औं संस्करणको तिलोत्तमा गोल्डकपमा ८ टिम खेल्ने भएका छन् ।
आयोजक रुपन्देही जिल्ला फुटबल संघले बुधबार पत्रकार सम्मेलन गरी चैत ४ गतेदेखि ११ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो ।
प्रतियोगितामा नेपाल पुलिस, एपीएफ, मनाङ मस्र्याङदी , रुपन्देही ११, थ्री स्टार , हिमालयन शेर्पा, फ्रेन्डस क्लब, र सुदुर पश्चिम ११ ले प्रतिस्पर्धा गर्ने रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी दिए । प्रतियोगिताको बिजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ , उपबिजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने अध्यक्ष पुनले बताए । यस्तै सर्बोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउने छन् । यस्तै उत्कृष्ट फरवार्ड,गोलरक्षक,मिड फिल्डर,डिफेन्स र कोच गरी ५ वटा बिधामा उत्कृष्ट खेलाडीले ३० हजारका दरले नगद पुरस्कार पाउने छन् । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले ११ हजार १ सय ११ रुपैयां पाउने छन् ।
प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले ३५ लाख रुपैयाँ दिने एन्फाका केन्द्रीय उपाध्यक्ष एवं संघका पुर्ब अध्यक्ष दीर्घ बहादुर केसीले बताए । बुटवल उपमहानगरको आर्थिक सहयोगले प्रतियोगिता सञ्ञचालनमा ठूलो सहयोग मिलेको केसीले बताए । २१ औं संस्करणको उपाधि विजेताले ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको थियो ।
२० औं संस्करणको विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार पाएको थियो ।
प्रतियोगिताको मुख्य प्रायोजकमा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डष्ट्रिज प्रालि रहेका छन् । यस्तै बुटवल उपमहानगरपालिका संरक्षक,सहयोगी संस्थामा प्रदेश खेलकुद परिषद रहेको छ ।
एक करोड बढी खर्च अनुमान गरिएको प्रतियोगिताका लागि छिमेकी पालिका,उद्योगी व्यसायीका संघसंस्था, बैंक र स्वदेश तथा विदेशमा रहेका खेलप्रेमीहरुबाट सहयोग संकलन गरिने जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले बताए । तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भएको प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा हुन लागेको हो ।
बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।
३३ देखि ३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ३९ सालसम्म हुन सकेको थिएन । त्यसपछि ४३ सालदेखि ५१ सालसम्म सात वर्ष रोकिएको प्रतियोगिता ५६ सालमा फेरि रोकिएको थियो । ५७ र ५८ मा दुई वर्ष लगातार सञ्चालन भएपनि ६४ सालसम्म सञ्चालन हुन सकेको थिएन । त्यसपछि ६५ सालमा सञ्चालन भएपनि ६६ मा रोकिएर फेरि ६७ सालमा संचालन भएको थियो ।
६८ देखि ७० सालसम्म रोकिएको तिलोत्तमा गोल्डकप ७१ सालमा संचालन भए पनि पछिल्लो पटक ७२ सालमा संचालन हुन सकेन । त्यसयता लगातार तीन वर्ष भने प्रतियोगिता सञ्चालन हुँदै आएको थियो ।