© २०२३
बुटवल,२३ फागुन । २०७८ को उत्कृष्ट वर्ष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय पुरुष फुटबलका अन्जन विष्ट र भलिबलकी अरुणा शाहीले जितेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच अन्जनलाई वर्ष पुरुष खेलाडी अवार्ड प्रदान गरेको हो ।
पुरुषतर्फका विजेता अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पार्दै यो अवार्ड जिते ।
अञ्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनलमा पुर्याउन मद्दत गरेका थिए । अन्जनले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरे ।
विष्टले विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह बी मा चाइनिज ताइपेइविरुद्ध गोल गरेका थिए । त्यस्तै, १३औँ साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बङ्गलादेशविरुद्ध गोल गर्नुका साथै नेपाल सुपर लिगमा सर्वश्रेष्ठ फरवार्डका रुपमा प्रदर्शन गरेका थिए ।
त्यस्तै, वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड भलिबल टीमकी कप्तान अरुणा शाहीले जितिन् ।
वर्ष महिला खेलाडीको मनोनयनमा परेका क्रिकेटका सीताराना मगर, रुबिना क्षेत्री, बक्सिङकी पुनम रावल र एथलेटिक्सकी पुष्पा भण्डारीलाई पछि पार्दै अरूणाले बर्ष खेलाडीको अवार्ड जतेकी हुन् ।