© २०२३
माफ गर्नुहोला हेमराज सर– मैले तपाईको नाम लिएँ । यो लेख लेख्दा तपाईलाई नसम्झने हो भने अन्याय हुन्छ, अनि जशोदा दिदि माथिपनि अन्याय हुन्छ । किनकि एउटा प्लस(+) ले कति असर गर्छ भन्ने कुरा तपाई दुईजनालाई मलाई भन्दा धेरै थाहा छ ।
म ६ कक्षामा पढन् शुरु गरेको केहि दिनमा हेमराज सर अंग्रेजी विषय पढाउन पुग्नुभएको थियो । मेरो सेक्सनमा त पढाउनुहुदैनथ्यो तर उहाँले राम्रो पढाउनुहुन्छ, निकै कडा हुनुहुन्छ भन्ने कुरा आएको २÷३ हप्तामै हल्ला चलेको थियो । उहाँको कडाईले केहि अल्लारे विद्यार्थीहरुलाई चिढाएको हुनुपर्छ । त्यसैले उनीहरु मध्ये कसैले स्कूलका भित्तामा, भ¥र्यांङमा, चर्पीमा जताततै हेमराज +जशोदा लेखिदिएछ । शायद आइतबार हुनुपर्छ– स्कूल पुग्दा धेरैले प्लस लेखेको देखे । जशोदा दिदि कक्षाकी सबैभन्दा ठुली र मिलनसार थिइन् । त्यसैले हेमराज सरसंग पनि छिटो घुलमेल भईन् होला । बदमाश केटाहरुले त्यसैलाई भजाउन र सरलाई बदमाश देखाउनको लागि जशोदा दिदीलाई नै रोजे । एउटा प्लसले स्कूलमा सनसनी मच्चायो । हेमराज सर एकदुई दिनपछि स्कूल आउन छोड्नुभयो अनि जशोदा दिदीले पनि ७ कक्षापछि स्कूल फेरिन् । हेमराज सर कता जानुभयो भन्ने हामीले खोजि गर्ने कुरा भएन । धेरै वर्षपछि मैले हेमराज सरको बारेमा जानकारी लिन खोज्दा कसैले बताउन सकेनन, स्कूलको रेकर्डमा पनि उहाँको नाम भेटिन । उहाँको बोलाउने नाम अर्कै थियो कि उहाँले एक्कासि स्कूल छोडेकोले स्कूलको रेकर्डमा अट्नुभएन कुन्नि? जशोदा दिदीको बारेमा भने केहि पत्ता लाग्यो– उहाँ त हजुरआमा बनिसक्नुभएको रहेछ । शायद पढाई पुरा गर्नुभएन ।
कक्षा ८ मा कृषि विषयमा विरुवालाई चाहिने पोषक तत्वहरु नाईट्रोजन, फस्फोरस र पोटासलाई छोटकरीमा एन. पी,के. भनेर पढिन्थ्यो । एउटा साथीले कपिमा एन पी के लेखेको रहेछ । देख्ने अर्को साथीले नारायण प्लस कमला लेखेको हो भनेर अथ्र्याईदियो । बस्, के चाहियो? बदमाश केटाहरुले भित्तादेखी ट्वाइलेटसम्म एन पी के लेख्न थाले । कमला को हो भन्ने थाहा थिएन । पछि केटाहरुले जवर्जस्ती कमला पनि फेला पारेछन् । नारायणको टोलको बाटो हुदै अलि परको गाउँबाट पढ्न आउने अर्को सेक्सनकी केटि रहिछ कमला । नारायण आफैले एन पी के लेखेको भनेर कमलाका दाईहरुले एकदिन बाटोमा नारायणलाई गोदेर सबक सिकाए अनि बहिनीलाई अर्को स्कूलमा सारे । नयाँ स्कूलमा पनि उनको पढाई राम्रो भएन । एसएलसी पास गर्न सकिनछन् ।
स्कूलको ट्वाईलेटको भित्तामा कसैले महिला र पुरुषको तस्विर बनाएर उनीहरुको यौनांग जोडिएको जस्तो बनाएर फलानो सर + फलानी मिस लेखेछ । संयोगले कुनै शिक्षक ट्वाईलेट गएको बेलामा ७ कक्षामा पढ्ने केटाहरुले चित्र हेर्दै हास्दै गरेको देखेछन । शिक्षकले तिनै केटाहरुले चित्र बनाएर अनुशासनहिन काम गरेको भन्दै अफिसमा ल्याउने, उठबस गराउने र अभिभावक बोलाउने काम समेत गरे । विद्यार्थीहरुले आफुले त्यस्तो काम नगरेको भन्दै हजार बिन्ति गरे, रोए, अभिभावकले पनि आफ्ना सन्तानहरु त्यस्तो गर्ने खालको नभएको भन्दै विन्ती गरे, तर ति महान कडा शिक्षकको मन पग्लिएन, मिसले पनि थपथाप गरिन् । अर्को कक्षामा अर्को स्कूलमा जाने शर्तमा कक्षामा राखियो । अर्को कक्षामा स्कूलमा भर्ना लीइएन । ति मध्ये एउटा केटाले आफुले बदमाशी नगरेको र अरु स्कूलमा नपढ्ने भन्दै स्कूलको चक्कर काटिरह्यो । शिक्षकको मन पग्लिएन । अन्ततः उसले पढाई छोड्यो ।
स्कूलका ट्वाईलेटका भित्ता, कक्षा कोठाका भित्ता, डेक्स बेच, भर्यांगमा मात्र नभएर पक्कि सडक, पहरा, ढुंगा, धुले माटोमा कैयौ नामहरु, अश्लिल लाग्ने शब्दहरु, आक्रोशदेखि राम्रा चित्र, यौनांगका चित्रहरु कोरिएको देखिन्छ । कतैकतै रुखका बोक्रो, केतुकिका पातमा कोतरेर पनि शब्द वा चित्रहरु कोरेको पाइन्छ । साना बच्चादेखि टिनेजरसम्मका बालबालिकाहरु यस्तो लेखनमा संलग्न हुने गरेका छन् । झट्ट हेर्दा त्यहाँ केहि शब्द वा संकेत मात्र देखिन्छन् । तर त्यसले कति असर पार्छ भन्ने कुरा माथि उल्लेख गरिसकेको छु ।
सार्वजनिक स्थलमा शब्द वा संकेत कोर्ने चलन सबै समाजमा भएको पाइन्छ । यस्तो लेखाईलाई ग्राफिटी भनिदो रहेछ । अन्य ठाउँका भित्तेलेखन÷ चित्र भन्दा शौचालयमा लेखिने शब्द, संकेत र विषयवस्तुहरु फरक हुने भएकोले त्यहाँको लेखनलाई ल्याट्रिनालिया भन्ने गरिन्छ, जुन शब्द क्यालिफोर्निया विस्वविद्यालयका लोकसाहित्यकार एलन डुन्देसले पहिलोपटक प्रयोग गरेका थिए । युरोप र अमेरिकामा बालबालिकाको मनोबैज्ञानिक पक्षको अध्ययन गर्नको लागि र समस्या बुझ्नको लागि यस्ता भित्ते लेखनको विस्तृत अध्ययन गरि उनीहरुलाई परामर्श दिने गरिएपनि नेपालमा यो पाटोमा अध्ययन भएको देखिदैन ।
के लेख्छन भित्तामा ?
बालबालिकाहरुको उमेर र बन्देज अनुसार भित्तामा लेखिने विषयवस्तुहरुमा धेरै भिन्नता देखिन्छ । सामन्यतया लेखिने कुराहरु निम्न हुन्छन् ।
१. एक शब्द – कसैको नाम, यौनांगको नाम
२. दुई शब्द – नाम र क्रियापद समेत जस्तै पप्पु दादा, केरा खा ,किस मि, हेमराज +जशोदा
३. तिन शब्द र साना वाक्य– आई लब यु. फलानी भालु हो, उसले उसलाई गरेको,
३. लामा वाक्य – कसैलाई गरिएको गाली, प्रश्नहरु, कसैलाई आरोप
४. सिर्जना– छोटा कविता, गजल, मुक्तक, जोक्स आदि
५. चित्र– यौनांगका चित्र, नग्न चित्र, यौन समागन दर्शाउने चित्रहरु शौचालयका भित्तामा बढी हुन्छन भने अन्य सार्वजनिक स्थलमा आक्रोश, कुण्ठा, विद्रोह दर्शाउने चित्र, आफ्नै चित्र, फूल, पातका चित्रदेखि देवी देउता र मठ मन्दिरका चित्रहरु समेत हुन्छन् ।
६. यौन– यौन चाहाना, यौन आरोप, यौनांगको प्रदर्शनलाई शब्द र संकेतबाट प्रस्तुत गरिन्छन् । यस्तो चित्र र शब्द केटिको शौचालयमा भन्दा केटाको शौचालयमा देखिन्छन
७. माया÷प्रेम – कोहि प्रेम सम्बन्धमा रहेको कुराको पोल खोलिदिन, कसैलाई गाली खुवाउन बालबालिकाहरुले ट्वाईलेटमा फलानो +फलानी वा उनीहरुको सम्बन्ध भएको कुरा लेखिदिने गर्छन् । कसैकसैले आफुले अर्कोलाई मन पारेको कुरा बताउनको लागि आफैले भित्ता, ढुंगा, रुखको बोक्रामा कोतरेर नाम वा भाव लेख्ने गर्छन् । केहि ठाउँमा बाँसमा, मन्दिरका ढुंगामा, भित्तामा नाम लेख्दा प्रेमी÷प्रेमिकासंगको सम्बन्ध बलियो हुन्छ भनेर पनि लेख्छन् ।
किन लेख्छन ?
मैले गरेका केहि अध्ययनहरुबाट प्रायजसो बालबालिकाले कसैप्रतिको आक्रोश पोख्न र गाली गर्नको लागि लेख्ने गरेको पाएको छु । कतिपयले यौन जिज्ञासा र कुण्ठा पोख्नको लागि पनि भित्ताकै सहारा लिने गरेको पाइन्छ । अहिले मोबाईलमा यौनका कुराहरु छानीछानी हेर्न पाईने भएपछी भित्तामा यौन चित्र बनाउने काममा कमि आएको पाइन्छ । माया प्रेम व्यक्त गर्नको लागि भित्ता वा रुख कोतरेर शब्द र संकेत गर्ने चलन पनि कम भैसकेको छ । तर अरुलाई बद्नाम गर्ने नियतले लेख्ने, कोर्ने काम भने अचेल पनि भैरहेको छ । सार्वजनिक स्थलमा लेखिएका शब्द र संकेतले विद्रोह, कुण्ठा र दादागिरी सबै प्रस्तुत गरेको देखिन्छ । सामाजिक संजाल र इन्टरनेटमा अधिकांश बालबालिकाहरुको पहुँच वृद्धि भएकोले भित्ते कोराईका विषयवस्तुहरुमा समेत परिवर्तन आएको छ ।
भित्ता कोराईका असर
आफ्ना कुराहरु व्यक्त गर्न नसकेर शब्द र संकेत भित्तामा कोर्नु कुण्ठाग्रस्त मानसिकता हो । यसले बालबालिकाहरुलाई एक्लो र चिडचिडे बनाउछ । लेख्नेहरु मध्ये धेरैको उद्देश्य अरुलाई पिडा दिनु हुन्छ । कसैसंग नाम जोडिदिदा त्यससंग मतलब नभएका पक्षलाई लज्जाबोध हुन्छ । खासगरी कलिला बालबालिकाहरुले त्यसलाई वेवास्ता गर्न सक्दैनन् र उनीहरु मानसिक रुपमा पिडित हुन्छन् । विद्यालयमा जान नखोज्ने, आफ्नो नाम, संकेत वा अश्लिल चित्र कोरिएको ठाउँबाट हिड्ने हिम्मत नगर्ने जस्ता व्यवहार बालबालिकाहरुले देखाउछन् । आफ्नो समस्या धेरै बालबालिकाले शिक्षक र अभिभावकलाई भन्न सक्दैनन्, त्यसैले बालबालिकाको चौतर्फी विकासमा असर पुग्छ । भित्तामा कसले लेख्छ भन्ने कुराको पहिचान गर्न कठिन हुन्छ । त्यसैले एकजनाले लेख्ने र अर्कोले गाली खाने समस्या धेरै हुन्छ । यस्तो कार्यले बालबालिकालाई अझ पिडित बनाउछ ।
कसरी रोक्ने ?
बालबालिकालाई भित्ता कोर्नाबाट रोक्नको लागि उनीहरुलाई मनोपरामर्श आवस्यक पछ । कुण्ठा , आक्रोस व्यक्त गर्नको लागि भित्ता कोर्ने हैन, सम्बन्धित व्यक्तिलाई भन्न सक्नुपर्छ भन्ने प्रेरणा र हिम्मत अविभावक र शिक्षकले दिनुपर्छ. अन्यत्र सम्भव नभएपनि स्कूलमा शौचालय, कक्षाकोठा र डेक्स बेन्चहरु नियमित अवलोकन गरेर बालबालिकाहरुलाई सल्लाह , परामर्श दिनुपर्छ । कसैले कसैको नाम लेखिदिदैमा लज्जाबोध गरेर भाग्नुहुदैन भन्ने सिकाउनुपर्छ । भित्ता कोतर्नेहरु पहिचान गरेर उनीहरुको समस्या बुझेर समस्या समाधानको लागि अग्रसर भएको देखाउनुपर्छ । भित्तामा चित्र बनाउनेहरु पहिचान गरेर उनीहरुलाई सिर्जनात्मक काममा सहभागी गराउन सकेमा सकारात्मक प्रभाव पुग्छ । मुख्य कुरा– भित्ताहरु कोतर्नु, लेख्नु भनेको असभ्यता हो भन्ने बोध गराउनुपर्छ । यति गरेमा ट्वाईलेट र स्कूलका भित्तामा कोर्ने. लेख्ने र अनाहकमा केहि बालबालिका लज्जित र पिडित हुनुपर्ने अवस्था अन्त्य हुन सक्नेछ ।