© २०२३
बुटवल, २३ फागुन । चार वर्षसम्म रोकिएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आगामी चैत ४ गतेदेखि सञ्चालन हुने भएको छ । २०७५ मा २१औं संस्करणको प्रतियोगितापछि कोरोना महामारी लगायत कारणले २२औं संस्करण हुन सकेको थिएन ।
रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनका अनुसार चैत ४ गतेदेखि हुने प्रतियोगिताको विस्तृत जानकारी फागुन २४ गते पत्रकार सम्मेलन मार्फत दिइने छ ।
२१ औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो । उसले नगद ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको थियो ।
२० औं संस्करणको विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार पाएको थियो ।
यसपटक पनि पुरस्कार राशी बढ्ने जिल्ला फुटबल संघले जनाएको छ ।
तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भएको प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा हुन लागेको हो ।
बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।
३३ देखि ३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ३९ सालसम्म हुन सकेको थिएन । त्यसपछि ४३ सालदेखि ५१ सालसम्म सात वर्ष रोकिएको प्रतियोगिता ५६ सालमा फेरि रोकिएको थियो । ५७ र ५८ मा दुई वर्ष लगातार सञ्चालन भएपनि ६४ सालसम्म सञ्चालन हुन सकेको थिएन । त्यसपछि ६५ सालमा सञ्चालन भएपनि ६६ मा रोकिएर फेरि ६७ सालमा संचालन भएको थियो ।
६८ देखि ७० सालसम्म रोकिएको तिलोत्तमा गोल्डकप ७१ सालमा संचालन भए पनि पछिल्लो पटक ७२ सालमा संचालन हुन सकेन । त्यसयता लगातार तीन वर्ष भने प्रतियोगिता सञ्चालन हुँदै आएको थियो ।
हालसम्म को को विजयी भए ?
२०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाईजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौमा महेन्द्र पुलिस क्लब, चौथो, पाँचौ र छैटौंमा कालिका स्पोर्टिङ क्लब, सातौं जनकपुर चुरोट कारखाना विजयी भएका थिए ।
त्यस्तै, आठौमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्रँ मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रुपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९ औं संस्करणको उपाधि सिएमसी संकटा क्लवले जितेका थिए ।
२० औं तिलोत्तमा गोल्डकपको उपाधि थ्रिस्टार क्लव काठमाडौंले जितेको थियो ।
फाइल तस्वीर : २१ औं संस्करण विजेता टिम