© २०२३
बुटवल, १७ फागुन । अखिल नेपाल फुटबल संघ एन्फाको बैठकमा झण्डै हात हालाहाल भएको छ । बुधबार बिहान ८ बजे बोलाइएको कार्यसमिति बैठक एजेण्डा प्रवेशको विवादले ढिला सुरु भएको थियो ।
एन्फाको संस्थापन पक्षले १९ वटा एजेण्डा राख्दै कार्यसमिति बैठक बोलाएको थियो। तर दुई उपाध्यक्षसहित ५ केन्द्रीयस सदस्यले महासचिव र कोषाध्यक्ष बर्खास्त गर्नुपर्ने मागसमेत एजेण्डामा सहभागी गराउन माग गरेका थिए।
तर एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले आफूले संघको विधानको धारा ३९ को उपधारा ३ बमोजिम एजेण्डा थप्न नमानेपछि बैठक विवादितभएको हो । उनीहरुले मुख्य रूपमा कोषाध्यक्ष र महासचिव वर्खास्त लगायत विभिन्न ६ वटा एजेण्डा थप गर्न मागगर्दै एन्फामा निवेदन दर्ता गराएका थिए। जुन एजेण्डा थप नभएपछि असन्तुष्ट केन्द्रीय सदस्यहरुले कार्यसमिति सदस्यलाई बाइपास गरेर अध्यक्ष नेम्वाङ अघि बढ्न खोजेको भन्दै बैठकमा हात हालाहालको अवस्था सिर्जना भएको थियो। यसक्रममा टेबलका सिसाहरूसमेत फुटेको जनाइएको छ।
आफ्ना एजेण्डा समावेश नगरी पेलेरै बैठक अघि बढाएपछि असन्तुष्ट १० केन्द्रीय सदस्यले बैठकको हाजिर पुस्तिकामा हस्ताक्षरसमेत गरेका छैनन्।
अध्यक्ष नेम्वाङले बहुमत केन्द्रीय सदस्यको संख्या देखाएर बैठकलाई जारी राखेका छन्। असन्तुष्ट समूहले बहुमत केन्द्रीय सदस्यलाई बाहिर राख्दै बैठक अघि बढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।