© २०२३
काठमाडौं,१६ फागुन । युएईमा जारी १९ वर्षमुनिको विश्वकप एशियाली छनौट क्रिकेटमा मलेसियाले नेपाललाई ७३ रनको झिनो चुनौती दिएको छ।
मेलेक क्रिकेट मैदान अजमानमा टस जितेर पहिला ब्याटिङमा आएको मलेसिया ३५ दशमलब ३ ओभरमा ७२ रनमा समेटिएको हो। मलेसियाका लागि मुहम्मद अक्रम मलेकले सर्वाधिक २६ रन बनाए भने हाइरिरी हरिसन र स्याहिर स्यामेलले समान १२र१२ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
मलेसियालाई सस्तैमा समेट्न नेपालका दीपेश कँडेलले ४, आकाश चन्दले ३, मिलन बोहराले २ र सुवास भण्डारीले एक विकेट लिए। नेपालले अहिले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।
उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल लगातार चौथो जित हात पार्दै विश्वकप छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा छ। नेपालले यसअघि सिंगापुर, कुवेत र हङकङमाथि सहज जित निकालेको थियो।