© २०२३
मंसिर ४ को चुनावपछि राजनैतिक दलहरुबीच गठबन्धन तोड्ने, बनाउने र फेरी भत्काउने जुन खालको परम्परा विकसित भैरहेको छ, त्यसले मुलुकको विकासमा गंभीर चुनौति सिर्जना गरिदिएको छ । नयाँ सरकार बनाउने सन्दर्भबाट सुरु भएको सत्ताको खेल राष्ट्रपति निर्वाचनसम्म कायम छ र यसले मुलुकमा अस्थीरता निम्त्याउने खतरा बढेको छ । गठबन्धन बन्ने र भत्काउने खेल चलिरहँदा मुलुकको आर्थिक सम्मृद्धिको सोँच र सपनामाथि तुसारापात हुने अवस्था देखिएको छ । पछिल्लोसमय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को वरिपरी सत्ता र देशकै राजनीति घुमिरहेको छ । यो सवै हुनुका पछाडि ठूला भनिएका राजनैतिक दलहरु नै जिम्मेवार छन । प्रधानमन्त्री प्रचण्ड अस्थीर रहेको बेलाबेलामा सार्वजनिक भैरहेको थियो । अहिले त्यही भैरहेको छ । यसले प्रधानमन्त्री प्रचण्डको सत्ता त लामो समय थमौती होला तर देशले असह्य पीडा भोग्नुपर्नेछ । नयाँ सरकार बनाउने समय पाँचदलीय गठबन्धन तोडेर नेकपा एमालेको साथबाट प्रधानमन्त्री बनेका प्रचण्ड अहिले नेकपा एमालेलाई धोका दिएर फेरी पुरानै गठबन्धनमा फर्किएका छन । पुस १० गते नेकपा एमाले र माओबादी लगायत साना दलहरुसंग भएको सहमति तोडिएको छ र यसको प्रमुख जिम्मेवार प्रधानमन्त्री प्रचण्ड हुन । प्रधानमन्त्रीको आयु लम्ब्याउने गरि उनले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेका छन । प्रचण्डको ढुलमुले रवैया र नीतिबाट पाठ सिक्न नसक्नु कांग्रेस र एमालेको कमजोरी हो । प्रचण्डले धेरैपटक धोका दिएका छन् । उनलाई सत्ताको भोक छ । उनको भोक मेटाउन सक्ने नजिक हुन्छन र फेरी समयले टाढिने बनाउँछ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले यही देखाउँछ । नेपालका ठूला राजनैतिक दलहरुको यो रवैयाले देशले दुःख पाउने अवस्था सिर्जना भएको छ । नेकपा एमालेले भनिसकेको छ– अहिलेको राजनैतिक अवस्थाले मुलुकलाई अस्थीरतातर्फ धकेल्ने प्रयास भएको छ । निश्चितरुपमा सत्ता र कुर्सीको जोडघटाउमा देश बर्बाद हुने अवस्था आएको छ । नयाँ गठबन्धन बनेसंगै फेरी सत्तामा जाने र फर्किनेक्रम सुरु हुनेछ र यसले देशलाई फाईदा होइन, समयमात्रै बर्बाद गर्नेछ ।
नेताहरुको अस्थीर मनोबृत्तिको शिकार र भागिदार आज नेपाली जनता हुनुपर्ने अवस्था सिर्जना भएको छ । निश्चिरुपमा लोकतन्त्रको रक्षा गर्ने सवालमा विवेकशील नागरिकको भूमिका महत्वपूर्ण हुन्छ । तर, बिडम्वना देशका हामी नागरिक नागरिक नभएर राजनीतिक दलका कार्यकर्तामा सीमित बन्न पुगेका छौं । राजनीतिक दलको सदस्यमा सीमित बन्न पुगेको छौं । हाम्रो देशप्रतिको जिम्मेवारी साँघुरिदै गएको छ । आन्दोलन, शक्ति प्रदर्शन र जनसभाहरू अधिनायकवादी सरकार टिकाउन र त्यो ठाउँमा अमूक व्यक्तिलाई ल्याउनमा सीमित छ । आफ्नो आस्थाको राजनीतिक दलमात्रै सबैभन्दा ठीक, अरू सबै बेठीक भन्ने मानसिकताले ग्रस्त छ अहिलेको राजनीति । यही सोच राजनीतिक दलको तल्लादेखि उपल्लो तहसम्म व्याप्त छ । यही सोचले आफ्नो आस्थाको राजनीतिक दलको नेता सबैभन्दा महान् र उसले बोलेको सबै ठीक, अरूले बोलेको सबै बेठीक र त्यो आलोच्य हुन्छ भन्ने मानसिकताले ग्रस्त कार्यकर्ताका कारण नेताहरू बढी नै स्वेच्छाचारी भएका हुन् भन्दा अन्यथा हुँदैन । लोकतन्त्र संकटमा पर्नुको मूल कारण पनि यही हो । तसर्थ अव नेताहरुलाई आफ्नै कार्यकर्ताले सचेत बनाउने समय आएको छ । होइन भने नेताहरुमा सच्चिने र सुधारको अवस्था देखिएन् । उही कुर्सीको हानथापमा अवको पाँच बर्षपनि जाने अवस्था देखिएको छ । नेताहरुमा देशको अवस्थालाई लिएर चिन्ताभन्दा पनि कुर्सी प्यारो भएको छ । पछिल्लोसमय जसरी गठबन्धन तोड्ने र जोड्ने जुन काम भएको छ, त्यसले देशलाई अस्थीरतातर्फ धकेल्ने निश्चित छ । पछिल्लो राष्ट्रपति निर्वाचनको बिषयलाई लिएर भैरहेको सत्तामा आगमन र बहिर्गमनको जिम्मेवार को ? दलहरुले अव जवाफ दिनुपर्दछ ।