© २०२३
बुटवल–८ सुख्खानगर स्थित दीप बोर्डिङ हाई स्कुलका विद्यार्थीले यौन हिंसा विरुद्ध संकलन गरेको हस्ताक्षर मंगलबार प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई बुझाएका छन् । दशैं–तिहारकोे बिदामा विद्यार्थीहरूले किशोरी माथि हुने यौन हिंसा विरुद्ध सडक नाटक प्रदर्शन गर्दै हस्ताक्षर अभियान चलाएकाथिए ।
अभियानका क्रममा विद्यार्थीहरूले मुख्यमन्त्री पोखरेललाई समेत हस्ताक्षर गराएका छन् । मंगलबार हस्ताक्षर गर्दै मुख्यमन्त्री पोखरेलले अभियान चलाउने विद्यार्थी र हस्ताक्षर गर्ने सबैलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन् । हिंसामुक्त र सुरक्षित समाज निर्माणका लागि सबैको सक्रियताबाटै संभव भएको भन्दै उनले विद्यार्थीको अभियान प्रशंसनीय रहेको बताए । विद्यार्थीहरूलाई आत्मजागरुक बनाउँदै किशोरीहरूलाई हिंसाका विरुद्ध निर्भिक रूपमा उभिन सक्ने बनाउन यस प्रकारको अभियान सञ्चालन गरिएको दीप बोर्डिङका प्राचार्य टीकाराम न्यौपानेले बताए । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको सक्रियतामा सञ्चालित अभियानअन्तर्गत यसअघि कार्तिकको दोस्रो साता बुटवलका विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन गरिएको दिनेश खड्काले जानकारी दिए । à