© २०२३
तिहारका बेला खेलिएका देउँसी भैलोमा जम्मा भएको रकम रूपन्देही तिलोत्तमाको पामिर एकेडेमीका भूतपुर्व विद्यार्थीले अपाङ्ग आश्रमको सहयोगमा खर्चिएका छन् ।
पामिर एकेडेमीको भूतपुर्व विद्यार्थी संघले यसवर्षको तिहारमा खेलेको देउँसी भैलोबाट संकलित रकम बुटवल–११ देवीनगरस्थित अपाङ्ग आश्रमलाई हस्तान्तरण गरेको हो । गतवर्ष पनि भुतपुर्व विद्यार्थीले यसरी संकलित रकम मणिग्रामको अनाथ आत्मशान्ति अनाथ आश्रमका लागि खर्चिएका थिए ।
विद्यार्थीहरूले अपाङ्ग आश्रममा आश्रित व्यक्तिहरूको लागि जाडोको समयमा प्रयोग हुने सिरक, ब्लाङ्केट, जुत्ता, चप्पल लगायत ४० हजार रूपैयाँ बराबरको सामग्री सोमबार एक समारोहका बीच आश्रमका सञ्चालक डोलबहादुर राम्दाललाई प्रदान गरेका हुन् । रकम सहयोग हस्तान्तरण गर्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष मोहन चापागाईले विद्यार्थीहरूले सामाजिक क्षेत्रमा गरेको लगानी अरू क्षेत्रका लागि समेत अनुकरणीय रहेको बताए । ‘भैलो खेलेर जम्मा गरेको जथाभावी सक्नुभन्दा सामाजिक र विकास निर्माणको काममा लगाउन अभियान चलाउनु राम्रो हो,’–उनले भने ।
पामिरका भूतपुर्व विद्यार्थीहरूले अनाथ तथा अपाङ्गता भएका व्यक्तिहरूको लागि गरेको सहयोगले आफुहरू निकै उत्साहित भएको भन्दै उनले थप रचनात्मक कामका लागि शुभकामना दिए । भूतपुर्व विद्यार्थी संघका अध्यक्ष नेत्र बुढाथोकीले आगामी दिनमा समेत देउँसीभैलोको रकम यस्तै सामाजिक कामका लागि खर्चिने प्रतिवद्धता जनाउँदै अपाङ्गता भएकाहरूका लागि सबैको सहयोग जरुरी रहेको बताए । संघका संस्थापक अध्यक्ष सविन ज्ञवालीले देउँसीभैलोको रकम फजुल काममा खर्च गर्नुभन्दा सामाजिक क्षेत्रमा गरिने सहयोग उपलब्धिपूर्ण हुने बताए ।
देउँसी भैलो खेलेर बनभोज जाने, अनावश्यक क्षेत्रमा खर्च गर्ने परिपाटीको विकास भइरहेका बेलामा विद्यार्थीहरूले अपाङ्गता भएकाहरूका लागि गरेको सहयोगबाट सबैले पाठ सिक्नुपर्ने आश्रमका सञ्चालक डोलबहादुर राम्दामले बताए ।