© २०२३
बुटवल- राणशाहीको विरुद्धमा नेपाली कांग्रेसले शसस्त्र क्रान्ति शुरु गरेपछि देशका तराईका प्रमुख केन्द्रहरुमा त्यसको प्रभाव तुरुन्तै देखियो । पश्चिमको प्रमुख केन्द्र भैरहवामा डा. के आई.सिंहको नेतृत्वको मुक्तिसेना र सरकारी सेनाविचमा भिषण लडाई भयो । भैरहवामा भएको राणा विरुद्धको सशस्त्र क्रान्तिमा मुक्तिसेनाको सैनिक नेतृत्व गरेका थिए खडग बहादुर गुरुङले । पछि भारतिय फौजको सहयोगमा भैरहवाको क्रान्तीलाई दबाईयो । डा. केआई सिंहसंगै गुरुङ पनि पक्राउ परे, सिंहसंगै तिब्बत निर्वासनमा गए अनि संगै नेपाल फर्किए । नेपालको राजनैतिक क्रान्तिको कुरा उठ्दा केआई सिंहको निकै चर्चा चल्ने गरेपनि क्रान्तिका मुख्य योद्धा खडग बहादुर भने गुमनाम छन् ।
क्रान्ति सुरु भएलगत्तै २९ कात्तिक २००७ मा भैरहवामा रहेको बडाहाकिम कार्यालयमाथि खडग बहादुर गुरुङ्गको नेतृत्वमा पहिलोपटक आक्रमण भयो । पटक पटकको लडाईको ८ फागुन २००७ को मुक्तिसेनाले तेस्रोपटक भैरहवा आक्रमण ग¥यो । बिहान पाँच बजेदेखि दिउँसो १२ बजेसम्म भएको लडाइँमा बाहेक माल, कचहरी, अमिनी, झ्यालखाना सबै कब्जा भए । तर सरकारी सेनाको प्रत्याक्रमणमा मुक्ति सेना टिक्न सकेनन् । त्यो आक्रमणमा सिंहको फौजका प्रधानसेनापति खडग बहादुर गुरुङ पनि सख्त घाइते भए ।
भैरहवा कब्जा गर्न÷जोगाउन सिंह र राणाबीच यस्तै छिनाझपट चलिरहेका बेला भारतको मध्यस्थतामा नयाँदिल्लीमा राजा–राणा–कांग्रेसबीच त्रिपक्षीय सम्झौता भैसकेको थियो । के.आई.सिंहले नेतृत्व गरेको गुरुङ्गको सेनाले भैरहवामा पूर्ण कब्जा नगरी नछोड्ने गरि लडाई जारि राखेकोले भारतीय सेनाको सहयोगमा सरकारी सेनाले मुक्तिसेनासंग लडाई गरि ८ फाल्गुन २००७ मा ३५७ अनुयायीका साथ के आई सिंहलाई पक्रिएर थुनियो । केहि समयपछि २००८ असार २७ मा किसान र मुक्तिसेनाका जवानहरुले जेलको ढोका खोलेर राजबन्दी मुक्त गरे । भोलीपल्ट दशौ हजारको किसान, स्थानिय वासिन्दा, नेता र कार्यकर्ताहरुको भेलाले के आई सिंहलाई गभर्नर घोषित ग¥यो, जसमा खडग बहादुर गुरुङ्गलाई कमान्डर इन चिफ र काशी प्रसाद श्रीवास्तवलाई प्रधानमन्त्री घोषणा गरिएको कुरा काशी प्रसाद श्रीवास्तवद्वारा लिखित नेपालको ईतिहास पुस्तकमा उल्लेख छ ।
असार २९ गते सरकारी सेना र भारतिय सेलाको फौजसंग मुक्तिसेनाको फेरी भिडन्त भयो । दर्जनौ किसान मारीए । त्यसपछि के.आई.सिंह र टोलि भागेर परासी पुगेर पाल्पा हुदै तिब्बततर्फ लाग्न खोज्दा राजा त्रिभुवनको नक्कली पत्र देखाएर २००८ साल श्रावण महिनाको अन्तिम सातामा २५ सैनिकका साथमा के आई सिंह र खडक बहादुरलाई ढोरपाटनमा पक्राउ गरिएको खडग बहादुर गुरुङकी कान्छी बुहारी तथा बर्दघाट नगरपालिका वार्ड नम्बर ५ कि वडाध्यक्ष बिमला गुरुङ बताउछिन् । उनका अनुसार सिंह र गुरुङ्गलाई पक्रिएको कुरा जनताले थाहा पाएमा बिद्रोह गर्न सक्ने भएकोले रातीराती हिडाएर भदौ २६ राति काठमाण्डौ पु¥याएर सिंहदरबारमा र अरुलाई ३ दिन पछि भद्रगोल र नख्खु झ्यालखानामा बन्दी बनाइएको थियो ।
८ माघ २००८ मा मुक्तिसेनाले विद्रोह गरि सिंहदरबार कब्जा गरी सिंह र गुरुङ कैदमुक्त गराएको थियो । सिंहदरबार कब्जा गरेका मुक्तिसेना र राजा त्रिभुवनसंग वार्ता तयारि चलिरहेको समयमा काठमान्डौमा रक्तपात हुने लक्षण देखेकोले वि.स.२००८ माघ ९ मा के आई सिंह र जनरल गुरुङ्ग सहितको टोलीले काठमान्डौ छोड्यो र रसुवा हुदै तिब्बत प्रवासमा ग¥यो । तिब्बतमा रहदा सिंह र गुरुङ्गले चिनिया नेताहरुसंगको भेटघाट बढाएर चिनियाँ व्यवस्था बुझ्ने र नेपालको परिस्थिति बुझाउने काम गरेका थिए ।
के.आई.सिंह र खडग बहादुर को राष्ट्रबादी अडान अनि देशभित्र उनीहरुलाई फर्काउनुपर्ने भन्ने माग तिब्र उठेकोले २०१२ भदौ २६ गते तिब्बतमा निर्वासनमा बसेकालाई श्री ५ महेन्द्रबाट आममाफी दिईयो र ३ वर्ष ७ महिनाको तिब्बत प्रवासन अन्त्य गर्दै २०१२ भदौ २८ गते के आई सिंह र खडग बहादुर गुरुङ्गको टोलि नेपाल फर्किएको थियो । नेपाल फर्किएपछी खडक बहादुर गुरुङ केहि समय नौतनवामा बसे उपचार गरि बिर्ता गाउँमा बस्न थालेका थिए । वि.सं. २०१४ साल असार ३१ गते डा. के आई सिंह प्रधानमन्त्री बनेपछि क्रान्तिका उद्देश्य पुरा नभई सरकारमा जानु हुदैन भनि गुरुङ्गले विरोध जनाएको तथा राजा महेन्द्र र के आई सिंहले बारम्बार आग्रह गर्दा पनि खडग बहादुर गुरुङ्ग मन्त्री बन्न अस्विकार गरी राजनीतिलाई त्यागेर समाजसेवामा लागेको उनका नाति राजेश गुरुङ स्मरण गर्छन् ।
राजनितीदेखि टाढा रहनको लागी जिल्लाकै अनकन्टार ठाउँ रहेको केरवानिको पुछार सिक्टहनमा बस्न पुगेको र त्यहाँ बस्न थालेपछि नेपाली काँग्रेस र मुक्तिसेनाका सहयात्रीहरुसंग संपर्क टुटेको बिमला गुरुङ बताउछिन् । रुपन्देहीको सुदुरपूर्वी बिर्ता गाउँ र वरपको क्षेत्र सामाजिक र शैक्षिक रुपमा पछि थियो । त्यो क्षेत्रलाई गुल्जार बनाउन पहाडबाट मानिसहरु ल्याएर राख्ने काम मात्र गुरुङ्गले गर्नु भएन, त्यो क्षेत्रलाई शिक्षित गराउनुपर्छ भनेर आफैले विद्यालय स्थापना गरेर आफ्नै खर्चमा शिक्षकहरु राखेर शिक्षाको ज्योति छर्न शुरु गर्नुभएको थियो, जुन स्कूल अहिले खडक माविको रुपमा सञ्चालित छ ।
जनरल बाबाको रुपमा स्थानीय वासिन्दामा परिचित गुरुङ्गले आफुले क्रान्तिमा भाग लिए बापत राज्यबाट कहिल्यै सुविधा लिनु नलिएको बरु समाजको लागी आफ्नो नीजि सम्पत्ती समेत खर्च गरेको स्थानिय वासिन्दा टेक बहादुर थापा स्मरण गर्छन् ।
समाज सेवामा समर्पित भैरहेका खडक बहादुर गुरुङ्गको ८९ वर्षको उमेरमा वि.स. २०२३ मङ्सिर ५मा निधन भएपछि उनकी पत्नी शशिकला गुरुङ्गले आफन्तहरु रहेको ठाउँ भारतको नौतनवामा शरण लिएर सन्तानहरु हुर्काईन् । पछि राजा बिरेन्द्रले राजनैतिक पिडितको नाममा बर्दघाटमा बसोबासको व्यवस्था मिलाएपछी २०३० सालदेखि गुरुङ्ग परिवार बर्दघाटमा बस्न थालेको थियो । खडग बहादुर पत्नी शशिकलाको ९२ वर्षको उमेरमा २०७६ सालमा निधन भयो । गनका ३ छोराहरु र २ छोरीको समेत निधन भैसकेको छ । शशिकला स्वयम् २००७ सालको क्रान्तिकी सक्रिय योद्धा भएपनि पार्टीले वास्ता नगरेको गुनासो गर्ने गरेको निजकी बुहारी बिमला गुरुङ बताउछिन् । उनि भन्छिन“ राणा शासन हटाउनमा कोइराला परिवार र के आई सिंह भन्दा कम योगदान खडग बहादुर र शशिकलाको पनि थिएन, तर उहाँहरुलाई न त दलले चिने न त राज्यले नै सम्मान गर्न सक्यो ।”
बिमलाले भनेजस्तै खडक बहादुरलाई राज्य, समाज र पार्टीले वास्ता नगर्दा उनको योगदानको इतिहास नै हराएको छ । खड्ग माविमा गुरुङ्गको योगदानको चर्चा हुने गरेपनि नेपालि राजनैतिक इतिहासमा गुमनाम पात्र बनेका छन् खडग बहादुर गुरुङ्ग ।