© २०२३
ऐतिहासिक डल्ले सरायँ नाचको एकलाख पुरस्कार राशी प्यूठान नगरापलिका–३ स्थित विजयनगरको समूहले जितेको छ । शनिवार विजुवारको पूण्यखोलामा भएको सरायँ प्रतियोगितामा उक्त समूहले सातवटा समूहलाई पछिपार्दै पहिलो पुरस्कार हासिल गरेको हो । ७५ हजार रूपैयाँ राशीको दोस्रो पुरस्कार पूण्यखोला र ५० हजार रूपैयाँ राशीको तेस्रो पुरस्कार थापडाँडा समूहले हाता पारेको छ । सरायँ प्रतियोगितामा पूण्यखोला, सारीवाङ, पाण्डेडाँडा, जुम्रिकाँडा लगायतका गरी आठ समूहले प्रस्तुति देखाएका थिए ।
भाइटिकाको भोलिपल्ट हरेक वर्ष डल्ले सरायँ मेला लाग्ने गर्छ । विगतका वर्षजस्तै यसवर्ष पनि दर्शकहरूको सहभागीता उल्लेखनिय रहेको आयोजक प्यूठान नगरपालिकाले जनाएको छ ।
प्रतियोगिताको रूपमा सरायँ नाच संचालन हुनथालेपछि दर्शकहरूको आकर्षणमा थप बृद्धि हुँदै गएको पाइएको छ । सहभागी सरायँ प्रतियोगिहरूले सात मिनेट समयसम्म प्रस्तुती देखाएका थिए । वँखै, वँखै गर्दै हातमा तरवार लिएर मैदानमा सरायँ नाँच देखाउँदा उनीहरूलाई मोवाइलमा कैद नगर्ने दर्शकहरू कमै भेटिन्थे ।
सरायँमा सहभागी अन्य समूहलाई प्रोत्साहन स्वरूप २०/२० हजार रूपैयाँ प्रदान गरिएको छ । नेपाली पोशाक, पञ्चेबाजा, बाद्यबादन, नित्यको तालमेल लगाएत क्षेत्रलाई आधार मानेर विजयी समूह छनौट गरिएको मूल्यांकन समितिका संयोजक हुकुम बहादुर विष्टले बताएका छन् । प्यूठान नगरपालिकाले यसवर्ष डल्ले सरायँका लागि पाँचलाख रूपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले बताएका छन् । उनका अनुसार सरायँलाई नगरपालिकाको साँस्कृतिक पर्यटन क्षेत्रमा डल्ले सरायँलाई विशेष प्राथमिकता दिएर नीति, तथा कार्यक्रम बनाएको छ ।
डल्ले सरायँ प्यूठानीको पहिचानसँग जोडिएको छ । करिव सातसय वर्ष अघिदेखि जाँट बंशीय राजाको राक्षसी स्वभाव विरुद्ध जनताले तरवार उठाएको घटानासँग सरायँनाच जोडिएको छ । विभिन्न क्षेत्रबाट तरबार लिएर आएका जनताले राजाको मृत्युवरण गरेको सम्झनामा मौलो बनाएर हरेक वर्ष डल्ले सरायँ निकालिने गरिएको छ । नगरपालिकाकै चितिखोलामा समेत आइतवार सरायँ प्रदर्शन गरिएको थियो ।