© २०२३
जितपुर , फागुन ।- पूर्वपश्चिम राजमार्ग जोड्ने बनगाई–डोहोटे सडकको कोईली नदीमा पक्कि पुलको निर्मांण कार्य तिब्र रुपमा भईरहेको छ । कपिलवस्तु र अर्घाखाँची जोड्ने बनगाई डोहोटे सडक जिल्लाको वाणगंगा नगरपालिका ७ बनगाई र अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ डोहोटे जोड्ने सडकमा पक्कि पुलको निर्मांण काम अन्तिम चरणमा पुगेको छ ।
१३ कि.मि.रहेको बनगाई डोहोटे सडक खण्डमा लुम्बिनी प्रदेश सरकारबाट ९ करोड बढीमा सो पुल निर्माणका लागि २ वर्षमा सम्पन्न गर्ने जिम्मा पाएको सिद्धार्थ दर्शन हिमाल जेभी कन्सट्रक्सन बुटवलले उक्त पुलको ठेक्का पाएपछि काम अगाडी बढेको हो । ठेकेदारले पुल समयमै काम सम्पन्न गर्न स्थानीयवासी,राजनीतिक दल सवैलाई आवश्यक सहयोगका लागि आग्रह गरेको थियो ।
२ वर्षमै पक्कि पुल सम्पन्न गर्ने गरी जिम्मेवारी पाएको सिद्धार्थ दर्शन हिमाल जेभी कन्सट्रक्सनले पुल निर्माण काममा जग्गा विवादका कारण पुल निर्माण ढिला भएपनि यसै आर्थिक वर्षमा पुलको सम्पन्न हुने सिद्धार्थ दर्शन हिमाल जेभी कन्सट्रक्सनका यमलाल खनालले बताए । यस कोईली नदीले वर्षातको समयमा पुल नबन्दा करीब १ दर्जन नागरीकको ज्यान लिएको थियो भने दिनहँु हजारौं सर्वसाधारणले सास्ती व्यहोर्नुका साथै वर्षायामको बेला आउने बाढीले नागरीकको ज्यान संगै वारीपारीको सम्पर्क समेत अवरुद्ध हुने गर्दथ्यो ।
लामो समयदेखि नाम चलेको बनगाई डोहोटे सडक खण्डको कोईली नदीमा पक्कि पुलको निर्मांण सम्पन्न भएपछि कपिलवस्तु र अर्घाखाँची जिल्ला आवत जावतमा निकै छोटो दुरीमा पुग्न सकिन्छ । साथै भारतीय बजार देखि अर्घाखाँची लगायतका जिल्लामा व्यापारिक कारोवार गर्नेहरुको लागि पनि सस्तो र सुलभ हुनेछ । भारतको खुनुवा नाका हुदै तिलौराकोट, जगदिशपुर, लक्ष्मणघाट, कपिलधाम हँुदै अर्घाखाँचीको सुपा देउराली मन्दिर दर्शन र रमणिय मनमोहक ठाउँ नरपानी आउने—जाने पर्यटकलाई राम्रो पर्यटकीय गन्तब्य बन्ने बाणगंगा नगरपालिका —९का वडा अध्यक्ष कमल पौडेलले बताए ।