© २०२३
बुटवल, ३ फागुन । रुपन्देहीको तिलोत्तमामा भएको चौथो तिलोत्तमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १३ स्वर्ण पदक जित्दै कुंवरवर्ती बोर्डिङ स्कुल तिलोत्तमा–८ च्याम्पियन भएको छ । कुल ३० स्वर्ण पदक मध्ये १३ वटा इभेन्टका खेलमा कुंवरवर्ती बोर्डिङले जित निकाल्दै च्याम्पियन भएको हो । यो संगै कुंवरवर्तीले रनिङशिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ ।
वडा नम्बर ४ स्थित जनज्योति क्लबको खेल मैदानमा भएको प्रतियोगितामा पशुपति मावि कोटिहवाले ५ स्वर्ण पदक सहित दोस्रो स्थानमा रहन सफल भएको छ भने शान्ति नमूना ४ पदक सहित तेस्रो भएको छ । होराइजन जीबीएसले ३ स्वर्ण पदक जितेको छ । त्यस्तै जनजागृति, टिकुलिगढ मावि, सेन्ट जोसेफ बोर्डिङ, न्यू इन्भाइरन्मेन्ट, पर्ल एकेडेमी, र सिद्धार्थ बोर्डिङ स्कूलले एक–एक स्वर्ण पदक जितेको प्रतियोगिताको एथलेटिक्स संयोजक मित्रलाल न्यौपानेले बताए ।
यस्तै छात्र छात्रा तर्फको भलिबलमा कुंवरवर्ती बोर्डिङ स्कूल विजेता बनेको छ । भलिवलमा छात्रतर्फ जनज्योति माविलाई उपविजेतामा रोक्दै कुंवरवर्ती विजेता भएको हो । छात्रातर्फ पनि सेन्ट जोसेफलाई उपविजेतामा रोक्दै कुंवरवर्ती विजयी भएको भलिबल संयोजक मिलन रानाले बताए । यस्तै कबड्डीतर्फ छात्रामा होराइजन जीबीएस र छात्रमा शान्ति नमूना मावि विजेता भएका छन् । हाइजम्पमा छात्रातर्फ पशुपति मावि र छात्रतर्फ शान्ति नमूना मावि विजेता भएका छन् ।
नगरभित्रका सरकारी र निजी गरी ३७ विद्यालयका करिब ४ हजार विद्यार्थीले रनिङशिल्डमा प्रतिष्पर्धा गरेका तिलोत्तमा नगरपालिकाका शिक्षा शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले बताए । प्रतियोगितामा विजेता तथा उपविजेतालाई नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरी चौधरी, वडा नं. ४ का वडाध्यक्ष ले शिल्ड,कप,मेडल तथा नगद पुरस्कार प्रदान गरेका प्रतियोगिताको सचिवालय संयोजक दीपक खनालले बताए ।