© २०२३
बुटवल उपमहानगरपालिका वडा नं. ४ हाटबजार लाइनमा रहेको एक किराना पसलमा तिहार नजिकिएसँगै पसलमा ग्राहक बढेर गएका छन् । दशंैपछि केही सुस्ताएको पसलमा चहल पहल बढेको छ । पसलमा चहलपहल बढ्नुको एउटै कारण हो झिनिया रोटी । रोटी किन्न गृहिणी, लाहुरे देखि कार्यालयका हाकिमसम्मले कुच्छन् यो पसल ।
अनुष लक्की किराना नामको पसलका संचालक हुन्, राजकुमार गुरुङ र तुलसी गुरुङ दम्पत्ती । हँसिला र फूर्तिला देखिने गुरुङ दम्पत्तीले पसलबाट झिनियाँ रोटी बेच्न लागेको १५ बर्ष बढी भइसकेको छ । राम्रो देखिने हँुदा पूजाआजा र उपमहानगरमा राम्रो देखिने, मन लागेको बेला बनाएर खान मिल्ने हुँदा यसको माग बढ्दो छ ।
झिनियाँ बेच्न शुरु गरेको बर्ष बढ्दै जाँदा उनको झिनियाँ ब्यापार पनि बढ्दै गएको छ । किरानाका संचालक राजकुमार भन्छन्, मानिसले सुबिधाको चाहना बढ्दै जाँदा हाम्रो व्यापार फस्टाएको छ । पहिले घर घरमा रोटी आफै बनाउने चलन थियो अहिले हराउँदै गएको छ । गुरुङ भन्छन्, मानिस रेडिमेट रोटी खोज्ने क्रम बढ्नु, सुबिधा पनि खोज्नुका साथै घरमा रोटी बनाउने सीप पनि हराउँदै जाँदा तयारी रोटीको माग बढेको हो ।
उनको पसलमा बिभिन्न रंग र बिभिन्न मूल्यका झिनियाँ रोटी उपलब्ध छन् । दर्जनका दरले बिक्री गर्ने गरेका उनले झिनियाँको साइज हेरि एक दर्जनको १००, १५०, २६०, २८० र १२०० सम्म मूल्य राखेका छन् । दर्जनको १२०० रुपियाँ पर्ने झिनियाँ विवाहमा साइपाटा लगाउँदा र ठूला पूजाआजाको बेला जग्गेमा राख्नका लागि बिक्री हुने गरेको छ । त्यसैगरी दशै र तिहारको अवसरमा उनको पसलमा जुम्ली (अनरसा) र भेली रोटी (अर्सा) रोटी पनि पाइन्छ । त्यसको मूल्य भने उनले दर्जनको ६०० रुपियाँ राखेका छन् ।
१२ महिना अर्थात बर्षैभरि झिनियाँ रोटी बेच्ने गरेका गुरुङले रोटीहरू बजार हेरी अर्डर दिएर बनाउन लगाउने गरेको बताए । १५ बर्षदेखि झिनियाँ बेचिरहेको छु उनले भने टाढा टाढाबाट समेत झिनियाँ खोज्दै म कहाँ आउनुहुन्छ । आफूकहाँबाट यूके, हङकङ देखि सिंगापुरसम्म पाहुरको रूपमा झिनियाँ रोटी लैजाने गरेको उनले बताए । नेपालमा मात्रै होइन बिदेशमा समेत यो रोटी पुगेको छ, झिनियाँ रोटी देखाउँदै गुरुङले थपे झिनियाँको पाहुर लगिदिने चलनले बर्षैभरी झिनियाँ बेच्न पाएका छौं । नेपाली समाजमा बन्ने गरेको झिनियाँ रोटीको व्यापार गर्न पाएकोमा आफूहरूलाई खुसी लागेको गुरुङ दम्पत्तीको भनाइ छ । à