© २०२३
बुटवल,२४ माघ । रुपन्देहीको तिलोत्तमामा आठौं मणिमुकुन्द रनिङ कप भलिबल प्रतियोगिता शुरु भएको छ । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा सञ्चालित प्रतियोगितामा लुम्बिनी र गण्डकी प्रदेशका ९ टिमको सहभागिता रहेको छ ।
योगीकुटीस्थित तिलोत्तमा क्याम्पस को छेउमा रहेको क्लबको खेल मैदानमा शुरु प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले उद्घाटन गरेका छन् ।
उद्घाटन गर्दै उनले खेलकुदको माध्यमबाट देशलाई अन्तराष्ट्रिय जगतमा चिनाउन टेवा पुग्नुका साथै हरेक व्यक्तिको स्वास्थ्यका लागि खेलको महत्त्वपूर्ण भुमिका हुने बताए । खेलकुद प्रतियोगिताहरुले खेल क्षेत्रको विकास मात्र नगरी भौतिक पुर्वाधार विकासमा पनि योगदान गर्ने उनले बताए । कतारले विश्वकप फुटबल आयोजनाका लागि अर्बौं रुपैयांको खेल पुर्वाधार बनाएर देशको गरिमा विश्व सामु उचो बनाउन सकेको उदाहरण दिंदै नगर प्रमुख खांणले खेलकुदलाई तीनै तहका सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । उनले तिलोत्तमा नगरपालिकाले नगरभित्रका खेलकुद क्लबहरुसंग सहकार्य गरेर खेलको बिकासबाट नगरको पहिचान थप उचाइमा पुराउने बताए ।
सो अवसरमा क्लबका प्रमुख सल्लाहकार टुकबहादुर क्षेत्रीले खेलकुदले अनुशासन सिकाउने र मानव जिवनलाई स्वस्थ बनाई सही मार्गमा डाराउने बताए । क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले आर्थिक अभावका वावजुद व्यसायी र खेलप्रेमी व्यक्तिबाट सहयोग जुटाएर प्रतियोगितालाई निरन्तरता दिएको बताए ।
प्रतियोगितामा स्याङजा, नवलपरासी, नवलपुर, रूपन्देही, पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, पर्वत जिल्ला भलिबल संघ सहभागी छन् । माघ २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले डेढ लाख नगद पुरस्कार पाउनेछ । दोस्रोले १ लाख, तेस्रोले ५५ हजार र सान्त्वना हुनेले ३० हजार नगद सहित शिल्ड , मेडल प्रमाणपत्र, पुरस्कार प्राप्तगर्ने क्लबका उपाध्यक्ष किसन चन्दले जानकारी गराए ।
करिब २५ लाख रूपैयाँ खर्चहुने प्रतियोगिताका लागि तिलोत्तमा नगरपालिकाले मुख्य प्रायोजन गरेको छ । अन्य विभिन्न व्यवसायिक संघसंस्था र व्यक्तिबाट सहयोग जुटाईएको प्रतियोगिता संयोजक सुरेन्द्र गुरुङले बताए ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पनि नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । उद्घाटनका अवसरमा विभिन्न जातिका मौलिक नृत्यहरु समेत प्रस्तुत गरिएको क्लबका सचिव काशिराज गौतमले बताए ।
यसैबीच पर्वत भलिबल संघ र रुपन्देही जिल्ला भलिबल संघबीच भएको उद्घाटन खेलमा पर्वत सोझो सेटमा विजयी भएको छ ।
तस्वीरहरु : टी.आर. शर्मा