© २०२३
बुटवल, २३ माघ । तिलोत्तमा–६ स्थित डन मोडल एकेडेमीमा खेलकुद सप्ताह शुरु भएको छ । खेलकुद सप्ताहको विद्यालय संचालक समितिका अध्यक्ष शिबकुमार पाठकले उद्घाटन गरेका छन् । समुद्घाटनकै अवसरमा कक्षा ९ मा पढ्ने छात्राहरुले नृत्य प्रस्तुत गरे । सो अवसरमा अध्यक्ष पाठकले डन मोडेल विद्यालयलाई शैक्षिक गुणस्तरसंगै खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि नमुना विद्यालयको रुपमा स्थापित गर्न सञ्चालक समिति लागि परेको र तदनुरुपका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने बताए । विद्यालयका प्राचार्य सिताराम भट्टराईले खेलकुदले विद्यार्थीको स्वास्थ्य र सर्वाङगीण विकासमा निकै महत्वपूर्ण भूमिका खेल्ने बताए ।
विद्यालयका प्रबन्ध निर्देशक यज्ञराज अर्यालले शारिरिक तथा मानसिक विकासको लागि विद्यार्थीहरुलाई खेलकुद अत्यावश्यक रहेको बताए । कार्यक्रममा विद्यालयका सह–प्राचार्य सन्तोष पौडेल,अतिरिक्त क्रियाकलाप संयोजक ज्योति रेग्मीले खेलकुद सप्ताहमा सञ्चालन हुने प्रतियोगिताहरुको बारेमा प्रकाश पारे । माघ २७ गतेसम्म सञ्चालन हुने खेलकुद सप्ताहको पहिलो दिन सिनियर लेवलका विद्यार्थीहरुको भलिबल प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद सप्ताहमा जुनियर र सिनियर तर्फ भलिबल, हाईजम्प, लङ्गजम्प, दौड, रिले दौड, क्रिकेट, स्याक रेस, प्लेट रेस, कबड्डी, डोरी तान्ने खेल, सर्ट पुट, म्यूजिकल चेयर, फुटसल आदी खेल खेलाइने छ । त्यसै गरी कक्षा नर्सरी देखि कक्षा ३ सम्म स्पुन रेस, म्याथमेटिकल रेस, दौड प्रतियोगिता, ज्याकेट लगाउने प्रतियोगिता, म्यूजिकल चेयर, चकलेट दौड, मार्बल ग्यादरिङ, बलुन डान्स्, तातो आलु, सेप गेम आदी प्रतियोगिता गराइने छ । साथसाथै खेलकुद सप्ताहको अन्तिम दिन माघ २७ गते शुक्रबार अभिभावकहरुका लागि म्यूजिकल चेयर, हण्डीफोर, डोरी तान्ने खेल जस्ता प्रतियोगिताहरु समेत आयोजना गरिने सहप्राचार्य सन्तोष पौडेलले जानकारी दिए ।