© २०२३
बुटवल, १९ माघ ।
उपमहानगरपालिकाहरुको पहिलो राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजानमा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएका हामीहरुका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उदेश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताए ।
‘यही मिति २०७९ माघ २१ र २२ गते हुने सम्मेलनमा देशभरका उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहनेछ’– । ‘जसमा उपमहानगरपालिकाहरुका साझा समस्या, संविधानअनुसार साझा र एकल अधिकारको प्रयोगका चुनौती, असल अभ्यासबारे अनुभव आदानप्रदान, संघ र प्रदेश सरकारसँग स्थानीय सरकारका रुपमा अपेक्षा र स्थानीय आवश्यकताजस्ता विषयमा छलफलसहित निष्कर्ष निकालिनेछ ।’
उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करीब ५ सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने बताए । सम्मेलनको उद्घाटन समारोह बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा र अन्य शत्रहरु बुटवल उपमहानगरको सभाहलमा हुने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उपमहानगरहरुका बीचमा आपसी समन्वय र सहकार्यको उदेश्यका साथ सम्मेलन हुने र यसले देशलाई नै लाभ हुने बताईन । उनले स्थानीय सरकारहरु साझा मुद्दा लिएर एकसाथ अघि बढ्ने बताईन ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले राष्ट्रिय सम्मेलनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको बताए । उनले सम्मेलनमा सहभागी हुने उपमहानगरपालिका र अन्य प्रतिनिधिहरुलाई पत्राचार गरिसकिएको र आन्तरिक व्यवस्थापनको काम जारी रहेको बताए ।