© २०२३
तिलोत्तमा, १३ माघ । बुटवलको न्यू होराइजन बोर्डिङ स्कुल रुपन्देहीको तिलोत्तमामा जारी चौथो उपमेयर कप खुल्ला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा साविकको शिल्ड विजेता कुंवरवर्ती बोर्डिङ हाई स्कुललाई सोझो सेटमा हराउंदै न्यू होराइजन फाइनलमा पुगेको हो ।
अब न्यू होराइजनले फाइनलमा एभरेष्ट बोर्डिङ बुटवल र हिलबर्ट मावि कपिलवस्तुबीच हुने अन्तिम सेमिफाइनलको विजेतासंग खेल्नेछ ।
कुंवरवर्ती भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धा शनिबार दिउंसो कुंवरवर्ती बोर्डिङ हाई स्कुलको प्रांगणमा हुने विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालले बताए ।
यसअघि शुक्रबार नवज्योति बोर्डिङ तिलोत्तमा ८ संग भएको खेलमा विजयी हुंदै हिलबर्ट सेमिफाइनलमा प्रवेश गरेको थियो । यस्तै सेन्ट जोसेफ बोर्डिङ भलबारीलाई सोझो सेटमै हराउंदै न्यू होराइजन सेमिफाइनलमा पुगेको थियो । कुंवरवर्ती भने जनता मावि तिलोत्तमा १२ लाई सोझो सेटमा हराउंदै सेमिफाइनलमा पुगेको थियो ।
त्यसअघि शुक्रबारै लिग चरणको अन्तिम खेल हिलबर्ट मावि कपिलवस्तु र जनता माविबीच भएकोमा सोझो सेटमा विजयी हुंदै हिलबर्ट क्वाटर फाइनलमा पुगेको थियो ।
कुंवरवर्ती बोर्डिङ हाई स्कुलको संयोजनमा भएको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले ६१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले २१ हजार र सान्त्वना हुनेले ११ हजार नगद सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैबीच चलचित्र फुलबारीका कलाकारको टोली कुंवरवर्ती बोर्डिङ हाई स्कुलको प्रांगणमा पुगेर चौथो उपमेयर कप महिला भलिबल प्रतियोगिता अवलोकन गरेको छ । चलचित्रका कलाकारहरु प्रिययंका कार्की,विपिन कार्की, गायक कालिप्रसाद बास्कोटा,शिल्पा मासके,अरुणा कार्की लगायतका कलाकारलाई विद्यालयका अध्यक्ष लक्ष्मण खनाल, प्रिन्सिपल दीपक खनालले स्वागत गरेका थिए ।