© २०२३
बुटवल, १३ माघ ।
रुपन्देही जिल्ला लिग नकआउट छनौट प्रतियोगिता २०७९ मा डिंगरनगरको जनज्योती क्लबले विजयी सुरुवात गरेको छ । रुपन्देही जिल्लामा रहेका फुटबल क्लबहरुबीच खेलप्रति प्रतिष्पर्धा गर्दै खेलाडीहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा विहीबार भएको प्रतियोगितामा चादनी युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै जनज्योती विजयी भएको हो । सिद्धेश्वर खेल मैदानमा भएको खेलमा जनज्योतीका आशिष गुरुङ र निरज थापाले क्रमश २५ र ५८ औ मिनेटमा गोल गरेका थिए ।
प्रतियोगिताको एक समारोहका बीच प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भटराईले उद्घाटन गर्दै लुकेर रहेका जिल्लाका खेलाडी र टिमलाई समेत प्लेटफर्म दिने रुपमा प्रतियोगिता भएको बताए । जिल्लामा भएको खेलकुद गतिविधिबाट उत्कृष्ट खेलाडीहरुको पहिचान गर्न समेत सहयोगी हुने उनले बताए । प्रदेश सरकार निरन्तर खेलकुद गतिविधिमा सहकार्य गर्न अग्रसर रहेको उनले बताए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि) ले रुपन्देहीमा रहेको खेलकुद संघसंस्थाहरुलाई समेटेर खेलकुद गतिविधिलाई एकरुपता ल्याउने गरी कार्यक्रमहरु चलाएको बताए । संघका अध्यक्ष लोक पुनले छनौट प्रतियोगिताबाट जिल्ला लिगमा खेल्ने दुई क्लबको पहिचान हुने बताए । छनौट खेलमा १६ क्लबहरु बिच खेल भैरहेको उनले बताए । संघमा आवद्ध २० वटा क्लबहरुमध्ये गतवर्ष रेलिगेशन परेको र कागजी प्रक्रिया पूरा नगरेका ६ वटा घटेर १४ मा झरेको उनले बताए ।
जिल्लामा ए डिभिजनका ८ र बि डिभिजनका ६ वटा क्लबहरु रहेको उनले बताए । माघ ८ गतेबाट सुरु हुने छनौट खेल नकआउट हुने उनले बताए । प्रतियोगितामा फाईनलमा पुग्ने दुई टिम जिल्ला लिगमा खेल्न पाउने छन । प्रत्येक टिममा बढीमा १८ जना खेलाडीहरु र २ जना अफिसियल राख्ने ब्यवस्था भएको उनले बताए । एन्फाको ए, बि, सि डिभिजन वा विदेशी क्लबहरुमा आवद्ध खेलाडीले खेल्न नपाउने उनले जानकारी दिए ।
एउटा क्लबमा दर्ता भएको खेलाडी एकवर्षसम्म सोही क्लबमा आवद्ध हुने छन् । माघ २७ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत शुक्रबार सैनामैनाको जनप्रिय स्पोर्टिङ क्लब र मणिग्रामको हिमाल युवा क्लबका बिचमा खेल हुने खेल संयोजक दिपक गुरुङले बताए ।