© २०२३
बुटवल,१२ माघ । रुपन्देहीको तिलोत्तमा–८ स्थित कुंवरवर्ती बोर्डिङमा चौथो उपमेयर कप खुल्ला महिला भलिबल प्रतियोगिता शुरू भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना र कुंवरवर्ती बोर्डिङ हाई स्कुलको संयोजनमा भएको प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले बिहीबार उद्घाटन गरिन् । सो अवसरमा बोल्दै उपप्रमुख चौधरीले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले काम गर्दै आएको बताइन् । महिला भलिबल प्रतियोगिताले महिला खेल विकासमा टेवा पुग्ने बताउँदै उनले खेलाडीको प्रोत्साहनका लागि खेलप्रेमी नगरवासीहरुलाई उत्साह बढाउनुपर्नेमा जोड दिइन ।
माघ १४ गतेसम्म चल्ने प्रतियोगितामा विद्यालय, क्लब र संघसंस्थाबाट समेत गरी ९ वटा महिला टिमको सहभागिता रहेको विद्यालयका प्राचार्य दीपक खनालले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले ६१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले २१ हजार र सान्त्वना हुनेले ११ हजार नगद सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलको पहिलो दिन बिहीबार लिग चरणका ५ वटा खेल सम्पन्न भएका छन् । जनता मावि र ज्योति जागृति आमा समूहबीच भएको पहिलो खेलमा जनाता मावि विजयी भएको छ ।
त्यस्तै कुँवरवर्ती बोर्डिङ स्कूल र नवज्योति बोर्डिङ स्कूलबीच भएको खेलमा कुँवरवर्तीले जित निकाल्यो । एभरेष्ट बोर्डिङ स्कूल र सेन्ट जोसेफबीच भएको तेस्रो खेलमा एभरेष्ट विजयी हुन सफल भयो । त्यस्तैगरी होराइजन मावि र देवदह बोर्डिङ स्कूलबीच भएको खेलमा होराइजन विजयी भएको छ । त्यस्तैगरी हिलवर्ट स्कूल कपिलवस्तु र ज्योति जागृति आमा समूहबीच भएको अन्तिम खेलमा हिलबर्ट विजयी भएको छ । प्रतियोगितामा १४ वटा खेल हुनेछन । उद्घाटन समारोहमा वडा नं ८ का अध्यक्ष कृष्ण पौडेल,तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य,विद्यालय सञ्चालक समिति अध्यक्ष लक्ष्मण खनाल लगायतका अतिथिहरुले कुंवरवर्ती बोर्डिङ स्कुलले शैक्षिक संगै खेलकुदका गतिविधिमार्फत विद्यार्थीको सर्वाङगीण विकासमा योगदान गरेको बताए । यसअघिका तीन वटा संस्करणको उपाधि कुंवरवर्तीले जितेर शिल्ड कब्जा गरेको थियो ।