© २०२३
बुटवल,११ माघ । इलामका ३६ वर्षिय युवा उद्यमी प्रेमप्रसाद आचार्यले बुधबार संसद भवन अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरे । आगोले ८० प्रतिशत शरीर जलेपछि अस्पताल पु¥याइएका उनको बुधबार बिहान ५ बजे निधन भयो ।
उनले आत्महत्याको जुन बाटो रोजे त्यो पूर्णतः गलत छ, कसैले पनि आत्महत्याको बाटो रोज्नु हुंदैन, जस्तोसुकै समस्या आइलागेपनि सामना गर्नुपर्छ ।
तर प्रेमप्रसादको आत्मदाह अरु आत्महत्या जस्तो व्यक्तिगत जिवनसंग मात्रै जोडिएको विषयका रुपमा बुझ्न हुंदैन ।
देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, रोजगारीका लागि विदेश जाँदा भोगेको धेरै समस्याहरु व्यक्तिका कारण नभई हाम्रो देशको राजनीति, प्रशासनिक झन्झट, ठूला ब्यापारीको ठगी र सिण्डिकेट,कर्मचारीको बदमासी आदी धेरै विषयसंग सम्बन्धित छ ।
उनले नागरिकसँग जोडिएका विभिन्न सवालबारे ६ हजार ५ सय ५३ शब्दको बयान र २५ बुंदे सुझाव समेत लेखेर सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गराएका छन् ।
आफूले मृत्युको बाटो राजेका प्रेमप्रसादले सुन्दर देशको कल्पनाको अभियानमा लागेको भन्दै आफ्नो मागमा ऐक्यबद्धताको आव्हान गरेका छन् ।
पछिल्लोपटक प्रेमप्रसादले इलाम घ्यु, इलाम गुन्द्रुक, इलाम अकबरे अचार, तामाको अचार आदि उत्पादन गरी बेच्दै आएका थिए । ब्यापारका क्रममा ठूला डिपार्टमेन्टल पसल,प्रहरी, प्रशासन र कर प्रशासनले अनेक दुख दिएको उनको गुनासो थियो ।
उनले राजेन्द्र लिङदेन, गगन थापा, विश्वप्रकाश शर्मा, योगेश भट्टराई, रवि लामिछाने, ज्ञानेन्द्र शाही, सोविता गौतम, तोसिमा कार्कीको नाम लिएरै नयाँ अनुहारलाई लक्षित गर्दै ‘सरकार बनाउने, मन्त्री हुनेमात्र प्रतिस्पर्धा होइन, कसैले नदेखेको, जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुहोस्, समाधान गर्नुहोस्’, भनेर याचनासमेत गरेका छन् ।
प्रेमप्रसाद आचार्यले सरकारलाई दिएका २५ सुझाव
१. राष्ट्रिय उत्पादनमा भ्याट शून्य गर। आयातित बस्तुमा बरु २० प्रतिशत लगाऊ।
२. बायर्स पे फस्ट जस्तो आकर्षक बजार क्रय विक्रय नीति लागू गर। उधारो बजारको अन्त्य गर।
३. उच्च नाफा ः कर कम नीति लागू गर।
४. जमिन भाडा (लिज) मा दिने प्रणाली लागू गर।
५.बैंकिङ बन्धक मुल्याङकन प्रणाली परिवर्तन गर।
६. सबै बहालका घरलाई करको दायारामा ल्याऊ।
७. ठूला औद्योगिक तथा व्यापारिक घरानाले नेपालको बजार कब्जा गरेका छन्, नियमन गर सरकार।
८. दर्ता नगरी खुलेका अनलाइन पसलहरु सब बन्द गर।
९. वैदेशिक रोजगारमा अफिसियल भिसामा जान चाहनेलाई श्रम स्वीकृतिको लफडा नलगाऊ।
१०. अनुदान र सब्सिडी प्रणालीको सबै पुरानो फाइल निकाल।
११. बिचौलियाको अन्त्य गर।
१२. नेपालको अलैंची भारत बेचेर आयातित कार्डामम धुलो किनेर खान्छन् नेपाली उपभोक्ता, अदुवा बोरामा भारत बेचेर आयातित अदुवाको धुलो किनेर खान्छन्, इलामको अर्थोडक्स ग्रीन टि (चिया) बोरामा कलकत्ता बेचेर आयातित लिप्टन चिया खान्छन्। यी सबै चिजहरु नेपाली ब्राण्डमै नेपाली बजारमा पाइयोस्। नेपाली ब्राण्डमै विश्वमा निर्यात होस्।
१३. गाजा खेतीले वैधानिकता पाओस्।
१४. शिक्षा, स्वस्थ, सार्वजनिक यातायातमा निजीकरण दुरुत्साहित गर।
१५. सरकारी कर्मचारी, शिक्षक आदिलाई घर पायक जागीर नभएमा अनिवार्य आवास सुविधा उपलब्ध गराऊ सरकार।
१६. सार्वजनिक खरिद ऐनमा व्यापक सुधार गर।
१७. भ्रष्टाचार, जघन्य हत्या र बलात्कार आदिमा मृत्युदण्ड सम्मको सजाय हुने व्यवस्था लागू गर।
१८. जातीय आरक्षणको अन्त्य गरी किसान र गरिबलाई पहिचान परिचयपत्रमार्फत मात्र त्यस्ता आरक्षण प्रदान गर सरकार।
१९. भारतसँगको खुल्ला सिमाना अन्त्य गर।
२०. आयात प्रतिस्थापन गरी सधैँ घरेलु उत्पादन र निर्यातलाई प्रोत्साहन गर।
२१. बचत तथा ऋण सहकारी तथा माइक्रो फाइनान्स बन्द गर।
२२. विकास साझेदारीको नाममा फेरि पूर्वाधार विकास हुने ठाउँको उपभोक्ताबाट २५ प्रतिशत रकम उठाइने गरिएको छ, त्यो बन्द गर।
२३. कक्षा ६ देखि नै उद्यमशिलता विषयलाई विद्यालय शिक्षामा अनिवार्य गर।
२४. सरकारी कर्मचारी शिक्षक, संस्थानका कर्मचारी,जनप्रतिनिधि,सांसद ,मन्त्री र प्रधानमन्त्री सबैका छोराछोरी अनिवार्य सरकारी सामुदायिक स्कुल कलेजमा पढाउनुपर्ने नियम बनाऊ ।
२५. बैंक ऋणको ब्याजदर ७ प्रतिशत भन्दा कहिल्यै माथि नउठ्ने गरि सिमित गर सरकार। तिमिलाइ थाहा छ देशको पैसा जति सबै ठुला ब्यपारिको हातमा छ र देशका अधिकां बैंकमा तिनै ठुला ब्यपारीको लगानी छ। मुद्दतीमा धेरै ब्याज लिन उनिहरुले नै रचेको बैंकको ब्याजदर वृद्धि हो अहिले ।
प्रेमप्रसादका यी २५ बुंदा मध्ये बचत तथा ऋण सहकारी र माइक्रो फाइनान्स बन्द गर भन्ने वाहेक अरु सुझावमा असहमति जनाउनुपर्ने कारण छैन । बचत तथा ऋण सहकारी र माइक्रो फाइनान्स बन्द होइन कडाईका साथ नियमन र अनुगमन भने अपरिहार्य छ ।
देशप्रति समर्पित उनका सुझावहरुलाई कार्यान्वयन गर्ने हो भने देशभित्रै लगानीको वातावरण बन्ने, वैदेशिक रोजगारीमा जाने परिपाटी घट्ने, देश आत्मनिर्भरताको बाटोमा जाने र ब्यापार घाटा सन्तुलनमा आउन सक्ने प्रशस्त संभावना छन् ।
यो वाहेक प्रेम प्रसादले भाटभटेनी सुपर मार्केट लगायतका ठूला पसलहरुले उद्योग,उत्पादकका सामान लिएर पछि विभिन्न बहानामा सामान फिर्ता वा पैसा नदिएर ठगी गर्ने, कम्तीमा ३५ प्रतिशत नाफा सुनिश्चित गरेर उद्योगबाटै सामान उठाउने परिपाटीले उद्योगी र उत्पादक ठगिएको, ऋणमा डुबेको गुनासो पनि आफ्नो नोटमा उल्लेख गरेका छन् ।
साथै उनले नाम उल्लेख गरेका भाटभटेनी सुपरमार्केट लगायतका पसलहरुमाथि पनि छानवीन गरी दोषी पाइए कारवाही र दण्डित गर्नुपर्दछ ।
त्यसो हुन सके मात्रै प्रेमप्रसादको मृत आत्माले शान्ति र न्याय पाउनेछ । प्रेमप्रसाद जस्तै अरुले आत्मदाहको बाटो रोज्ने छैनन् । तसर्थ प्रेमप्रसादका सुझावलाई नजर अन्दाज नगर सरकार । प्रेमप्रसादप्रति भावपूर्ण श्रद्धाञ्जली ।
आचार्यले फेसबुकमा लेखेका उनका भावना जस्ताको तस्तै :
https://www.facebook.com/premprasad.acharya.1/posts/5407275866050985
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी