© २०२३
सल्यान(बुटवल टुडे) माघ ।
सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा छाडिएका छाडा गाई र कुकुर मर्न थालेपछि रोग पत्ता लगाउन परिक्षण गरिने भएको छ । त्यस क्षेत्रमा एक हप्ता देखी छाडा पशुचौपायामा अज्ञात रोग देखिएको हो । र हाल सम्म अज्ञात रोगका कारण पाँचवटा छाडा गाई र दुई कुकुर मरेका छन् ।
सामान्य लक्षणको आधारमा रेबिज जस्तो देखिएको र त्यसले भोलिका दिनमा घरपालुवा तथा अन्य छाडा पशुचौपाय र मानिसमा समेत जोखिम हुने भएकाले त्यसको रोकथाम र रोग पहिचानका लागि नमुना संकलन गरी परिक्षणका लागि प्रयोगशालामा पठाइएको नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ । शाखाका प्रमुख विनाराम बुढाथोकीका अनुसार बिरामी गाईको नमनुा संकलन गरी पशुपंक्षी अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा पठाइएको हो ।
बिरामी गाईको लक्षणबाट कुन रोग हो भनेर किटान गर्न समस्या भएपछि पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र बनगाड कुपिण्डे नगरपालिको समन्वयमा नमुना संकलन गरी सुर्खेत पठाइएको उनले जानकारी दिए । नगरक्षेत्रमा सडक दुर्घटना र अन्य विभिन्न समस्याको कारक बन्न सक्ने छाडा पशुचौपाया व्यवस्थापनको खाँचो देखिन्छ । छाडा पशुवस्तुले किसानको अन्नबाली खाइदिने र सडक अस्तव्यस्त हुने समस्या हुनेगरेको छ ।