© २०२३
भैरहवा, माघ ।
सिद्धार्थनगर नगरपलिकाले नगर क्षेत्र भित्र गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा रोक लगाउने गरेको निर्णयको कार्यान्वयन गर्न सुरु गरेको छ ।
नगर कार्यपालिकाको बैठकले गुट्खा प्रकृतिका सूर्तिजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत प्रतिकुल असर परिरहेको निश्कर्ष निकाल्दै गुट्खा प्रकृतिका सूर्तिजन्य प्रदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो पश्चात कार्यालयले पौष ४ गते गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरण नगर्नका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । समयावधी पश्चात पनि नगर क्षेत्रमा गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थ विक्री वितरण नरोकिएपछि निर्णय कार्यान्वयन तर्फ लागिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए ।
‘सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्डली सिटी’ बनाउनु हाम्रो उद्देश्य हो’ उनले भने, ‘त्यसै अनरुप गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो ।’निर्णय कार्यान्वयनको क्रममा नगरमा विक्री वितरण भइरहेको गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थ जफत गरी सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय, जनप्रतिनिधी समेत रोहवरमा नष्ट गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।