© २०२३
प्रदेश नम्बर ५ कै पर्यटकीय गन्तब्यको रूपमा बिकासको सुचीमा परेको बिश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तु जिल्लाको जगदिशपुर तालमा डुङ्गा सञ्चालन गरिएको छ । मानव निर्मित ठुलो तालहरू मध्यको जगदिपुर तालमा कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० को अगुवाईमा डुङ्गा सञ्चालन गरिएको हो । तत्कालका लागी तालमा ६ वटा डुङ्गा सञ्चालन गरिएको छ । वडाको पहलमा सञ्चालनमा आएको डुङ्गामा सयर गर्नेका लागी सुरक्षाको प्रबन्धका लागी त्काल ५० वटा लाईफ ज्याकेट व्यवस्था गरिएको छ । डुङ्गा सयरका लागी प्रति घण्टा ७५ रूपैयाँ र बिद्यार्थीका हकमा ५० रूपैयाँ कायम गरिएको जगदिशपुर जलाशय बहुसरोकार मञ्चका सदस्य ललित गुरुङ्गले जानकारी दिए । “बिगतमा पनि तालमा डुङ्गा सञ्चालन गरेका थियौ । आर्थिक अभावले निरन्तरता दिन सकिएन । अब भने तालमा पर्यटकलाई आकर्षित गर्नका लागी डुङ्गा सयरलाई निरन्तरता दिन पहल गर्ने छौ । गुरुङ्गले भने ।
एक कार्यक्रमका बिच जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख नारायण प्रसाद खनालले कार्यक्रमको उदघाटन गरेका थिए । प्रमुख खनाल सगै कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, जिल्ला समन्वय अधिकारी जगन्नाथ मरासिनी र जगदिशपुर जलाशय बहुसरोकार मञ्चका सदस्य ललित गुरुङ्गले डुङ्गा चढेर कार्यक्रमको शुरुवात गरेका थिए । प्रदेश सरकारकै प्राथमिकतामा परेको तालमा बिगतमा सञ्चालन भै रोक्किएको डुङ्गा पुनः सञ्चालनले आन्तरिक र बाह्य पर्यटकका लागी आकर्षण बढने स्थानिय सुन्दर पाण्डेले बताए । “प्रदेश सरकारको प्राथमिकतामा परेको तालको प्रचारका लागी समेत सहयोगी हुने देखेका छौ । ” पाण्डेले भने । जगदिशपुर तालमा तत्काल दुई वडाको पहलमा डुङ्गा सञ्चालन गर्न सकिएको जनाउदै सो कार्यको निरन्तरताका लागी नगरपालिका र प्रदेश सरकार सँग पहल गरिने कपिलवस्तु नगरपालिका ९ का वडा अध्यक्ष शिव बहादुर वाग्लेले बताए । वडाहरूले पर्यटन प्रबद्र्धनका लागि जगदिशपुर तालमा सञ्चालन गरेको डुङ्गा सयरको कार्यक्रमलाई निरन्तरता दिन कपिलवस्तु नगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख किरण सिंहले बताए । ताललाई बिकास गर्ने क्रममै डुङ्गा सञ्चालन गर्ने कार्य उपयुक्त भएको जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालले बताए । “जगदिशपुर तालको योजनाबद्ध बिकास गरि पर्यटन प्रबद्र्धनलाई सहयोग पु¥याउन सकिन्छ,” उनले भने ।
वाणगंगा सिंचाई योजना अन्तर्गत् कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यअनुरूप मानवनिर्मित यो ताल १५७ हेक्टरमा फैलिएको छ । कपिलवस्तु नगरपालिकाको वडा नम्बर ९ मा पर्ने जगदिशपुर ताल सन् २००३ मा विश्व सिमसार सूचीमा सूचिकृत भएको छ । नेपालको २७ वटा महत्वपूर्ण चरा क्षेत्र मध्येको एउटा क्षेत्र जगदीशपुर हो । सन् २००३ मा नेपाल सरकारको पहलमा रामसार सचिबालयले यसलाई अन्तर्राष्ट्रिय महत्वको रामसार क्षेत्रको रूपमा सूचिकृत गरेको थियो । आई.यू.सि.एन. नेपालले सन् २०१५ मा गरेको अध्ययनले यस क्षेत्रमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावरहरू पाईने देखाएको छ ।