© २०२३
कपिलवस्तु – त्यसै त पानी विरालो कम छन् । संरक्षण गर्नुपर्ने त छदैछ । तर वर्षेनी सडक दुर्घटनामा विश्वमै दुर्लभ पानी विरालो मर्ने गरेका छन् । यसले पानी विरालोको विषयमा विद्यावारिधी गर्दै रहेकी रमा मिश्र चिन्तित छिन् । संरक्षण गर्नु पर्ने बेला दुर्घटनामा मर्दै गएपछि मन कुढाएर बसेको छु उनी भन्छिन् । कसलाई सुनाउ बेदना र पीडा उनी प्रश्न गर्छिन् ।
दुई महिना अघि कृष्णनगर नगरपालिका ८, दयानगर गाउ“ नजिक विश्वमै दुर्लभ वन्यजन्तु मलाहा विरालोको दुर्घटनामा मृत्यु भएकोछ । स्थानीयले विहान बाटोमा वेवारिसे देखेर वन सुरक्षाकर्मीलाई खबर गरे । सुरक्षाकर्मी पुग्दा मृत्यु भईसकेको थियो । राति समयमै उपचार हुन पाएको भए विरालो बाच्ने थियो कृष्णनगर नगरपालिका नगर प्रमुख रजतप्रताप शाहले बताए । ‘मुखमा सामान्य चोट लागेको जस्तो देखिएको थियो,’ उनले भने्, ‘समयमा उद्धार हुन नसक्दा मृत्यु भयो ।’ यता वन सुरक्षाकर्मीले दुर्घटना गराउने सवारीसाधनको खोजी गरिरहेको बताएपनि अझै पहिचान खुल्न सकेको छैन् ।
एक महिना अघि लुम्बिनी स्थित ५ नंबर गेटमा नजिक लुम्बिनी विकास कोष परिसरभित्र बाटोमा अर्को पानी विरालो दुर्घटनाले मरेको थयो । यस वर्ष कपिलवस्तु र रुपन्देहीमा एक÷एक तथा गत वर्ष नवलपरासीको त्रिवेणीमा पनि सडक दुर्घटनामा एउटा पानी विरालोको मृत्यु भएको पानी विरालो संरक्षणकर्मी मिश्रले बताईन् । वर्षेनी सडक दुर्घटनामा पानी विरालो मर्दै गएपछि चिन्ताको विषय बनेको छ । आफूहरु दशकदेखि पानी विरालोको संरक्षणकालागि काम गरिरहेका छौं । ‘पुरै समय त्यस्कै अध्ययन अनुसन्धानमा दिदै आएका छौं,’ उनले भनिन्, ‘तर, यहा“ संबेदनशिल वन्यजन्तु लापर्वाहीले मर्दा पनि कसैलाई चासो र चिन्ता छैन् ।
संकटमा रहेको पानी विरालो सवारीचालकको हेलचक्रयाईले थप संकटमा पर्दै गएको छ । अंग्रेजीमा फिसिङ क्याट र नेपालीमा मलहा विरालो समेत भनिने पानी विरालो नेपालमा एक सय ५० देखि दुई सयको संख्यामा रहेको अनुमान गरिएकोछ । वर्षेनी भईरहेको दुर्घटनाले यस्को संख्या बढनुको साटो घटदै गईरहेकोछ ।
‘एउटा पानी विरालो क्यामरा ट्रयापमा परेको हेर्न पाउदा कत्ति खुसी हुन्छौं,’ पानी विरालोको अध्ययन अनुसन्धान गर्दै आएकी संरक्षणकर्मी स्वेच्छा श्रेष्ठले भनिन्, ‘यस्ले पानी विरालो कत्ति संटकमा छ भन्ने देखाउछ ।’ पानी विरालो आनन्दले हेर्न पाउनु त भाग्यमा लेखेर आएको हुन पर्छ उनी भन्छिन् । सितिमिती देखिदैन् । अति कम संख्यामा छन् । यस्को वासस्थान, संख्या र आनीबानीकाबारे अध्ययन अनुसन्धान हुन सकेको छैन् । ‘बाघ गैडामा लगानी धेरै छ,’ उनले भनिन्, ‘पानी विरालोमा काम गर्ने संस्था, साधन स्रोतको अभाव छ ।’ पानी विरालो संरक्षण सरकारको प्राथमिकतामा पनि छैन् । कार्यक्रम पनि छैन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन १९७३ अनुरुप संरक्षित सूचिमा पनि राखिएको छैन् । यसलाई संकटापन्न अवस्थामा भनेर अनुसूचित गरिएको छ । दुर्लभ वा संरक्षित वन्यजन्तु घाईते वा मारेमा कसुर गर्नेलाई सजाय दिन व्यवस्था प्रभावकारी नबनाएसम्म यस्तो घटना भईरहने चराबिद् डा. हेमसागर बरालले बताए । पानी विरालो मारेमा एकलाखदेखि ५ लाखसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म वा दुबै सजाय हुने कानून छ ।
किन महत्वपूर्ण छ पानी विरलो ?
यो मध्यम आकारको, छोटो खुट्टा र शरीर ठूलो भएको जनावर हो । औसत तौल ५–१६ किलोग्राम हुन्छ भने शरीरको लम्बाइ ५७–७८ सेमी तथा पुच्छर २०–३० सेमी हुन्छ । यसको भुत्ला पानी प्रतिरोधी हुने ह“ुदा पानीमा सजिलै शिकार गर्न सक्छ । त्यसैले यो अरु प्रजातिका बिरालो भन्दा फरक तथा विशिष्ट छ । बालीनाली नोक्सान गर्ने मुसा, किरा फटुयांग्रा खाने ह“ुदा यो कृषकको असल साथी हो । यस्ले उत्पादन बढाउन सहयोग गर्छ । पारिथितिकीय प्रणाली सन्तुलन राख्न यस्ले राम्रो योगदान गर्छ । यसले सिमसार क्षेत्रको पारिस्थितिक चक्रमा पनि प्रमुख भूमिका खेलिरहेको हुन्छ । सिमसार क्षेत्रमा पानी बिरालोको उपस्थिति भए उक्त सिमसारको अवस्था राम्रो छ भनेर मान्न सकिन्छ ।
ताल पोखरीमा पानी बिरालो आयो भने व्यवसायी, कृषक र माझी समुदाय आक्रोश व्यक्त गर्छन् । माछा खाइदिन्छ भनेर । तर, पानी बिरालो आउनु भनेको उक्त पोखरी स्वच्छ रहेको संकेत पनि हो । ४१ विरालो प्र्रजातिमध्ये यो मात्र सिमसार र पानीमा आश्रित छ । यस्को मुख्य आहार माछा हो । यस्को माछाको शिकार गर्ने शिल्पी गजबको छ । सामान्य अवस्थामा माछा पाएन् भने पंजाले पानीमा हान्छ । माछा पनि आहारा आयो भजेर माथी आउन खोज्छ । त्यही बेलामा शिकार गर्छ । यस्ले पोखरीमा माछा कति तल छ भनेर जुगाले ठम्याउने संरक्षणकर्मी मिश्रले बताईन् । यस्ले पानीमा डाईभ हानेर माछा समात्छ ।
नेपालमा कहाकहा पाईन्छ ?
पानी बिरालो विश्वमा कति छन् पत्तो लागिसकेको छैन । इन्टरनेशनल यूनियन फर कन्जरभेसन अफ नेचरले भने सन् २०१५ मा यसलाई संवेदनशीलको सूचीमा राखेको छ । तर, बाघ, चितुवा आदिको तुलनामा यो प्रजातिको बिरालोको संरक्षण प्राथमिकतामा छैन् । पानी बिरालो एशियाको दक्षिण तथा दक्षिण–पूर्वी क्षेत्रमा पाइन्छ । नेपालमा भने यसको वासस्थान बर्दिया, चितवन, कपिलवस्तु, पर्सा र बाराका नदीतटीय क्षेत्रमा पाइएको छ । कर्णाली, बबई, राप्ती, नारायणी, कोशी, रेउ खोला, घोडाघोडी तालमा यो जनावर बसेको पाइएको छ ।
यो समुन्द्र सतहदेखि ३ सय मिटरमाथीसम्म नेपालमा पाईएको रेकर्ड छ । मुलुकको कुल भूभागमध्ये ४ दशमलव ४ प्रतिशत क्षेत्रमा यो पाईने गरेकोछ । त्यस्तै ६५ प्रतिशत गैरसंरक्षित क्षेत्र यो पाईन्छ । प्रकृतिको साथीका रुपमा रहेको मलाहा विरालो बढ्दो सहरीकरण, कृषि र माछापालनले गर्दा वासस्थानको नाश र खण्डीकरण हुदा यसको संख्या विश्वमै घट्दै गएको छ । त्यस्तै सडक दुर्घटना, सिमसार क्षेत्रको विनाश र अवैध शिकारले यसको संख्या घट्दो क्रममा छ ।