© २०२३
बुटवल, २८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनियताको सपथ लिंदैछन् । बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्री नियुक्त भएका गिरीले आज (बिहीबार) दाङ देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा दिउसो १ बजे सपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । पहिलो चरणमा मुख्यमन्त्री गिरीले नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जोखबहादुर महरासहित एमालेका चेतनारायण आचार्यलाई मन्त्री बनाउने तयारी छ । आचार्य अर्घाखांचीका हुन् भने महरा रोल्पाका हुन् ।
एमालेका एक नेताले आज मुख्यमन्त्री गिरी र २ जना विनाविभागीय मन्त्रीले मात्रै सपथ लिने दावी गरे । आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारका पालामा पनि आन्तरिक मामिला तथा सञ्चार मन्त्री बनेका थिए । एमालेबाट मन्त्रीका लागि आर्थिक क्षेत्रका जानकार कपिलवस्तुका विष्णु पन्थी,रुपन्देहीका भोजप्रसाद श्रेष्ठ लगायत आकांक्षी हुन् ।
आज नियुक्त हुने दुबै मन्त्री विना विभागीय हुने ती नेताले बताए ।
दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगो नलागेकाले विना विभागीय मन्त्रीका रुपमा सपथ लिने तयारी रहेको उनले बताए । मुख्यमन्त्री गिरी कुनैपनि हालतमा ११ भन्दा बढी मन्त्री बनाउन तयार छैनन् ।
एमालेको प्रस्तावमा एमालेलाई४ माओवादीलाई २ र साना दललाई एकएक गरी ११ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी छ । माओवादीले ४ मन्त्रालय दावी गरेको छ । नागरिक उन्मुक्ति,जनमत र जसपाले पनि हैसियत भन्दा बढी मन्त्री माग गरेर मोर्चाबन्दी गरेका छन् ।
त्यसले पनि मन्त्रालयको भागबण्डा मिलाउन कठीन भएकाले विश्वासको मत लिएपछि मात्रै पूर्ण आकारको मन्त्रिमण्डल बनाउने मुख्यमन्त्रीको तयारी छ ।
केन्द्रमा सरकार बाहिर रहेको लोसपाले पनि लुम्बिनीमा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको छ । मन्त्री पाइने लोभमा लोसपाले सरकार बनाउन हस्ताक्षर गरेको राजनीतिक वृत्तमा चर्चा छ । लोसपा विना पनि सत्ता गठबन्धनलाई पर्याप्त वहुमत हुंदा हुंदै मन्त्री बन्न पाइन्छ कि भन्ने लोभमै गठबन्धनमा मिसिएको टिप्पणी छ ।
उक्त दलका नेता सन्तोष पाण्डेले भने राजनीतिक स्थायित्वका लागि सरकारलाई समर्थन गरेको तर्क गर्छन् । गत चुनावमा उनले एमालेविरुद्ध गरेको अर्नगल प्रचारका कारण उनलाई मन्त्री बनाउन नहुने एमालेका अधिकांश नेताहरुको मत रहेको छ ।
यसैबीच नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आधा कार्यकाल माओवादीलाई दिने विषयमा पार्टीबाट कुनै जानकारी नभएको जनाएका छन् ।
तर माओवादी संसदीय दलका नेता जोखबहादुर महराले आफ्नो दलका अध्यक्ष पुष्पकमल दाहालले आश्वासन दिएको बताए । कर्णालीमा आलोपालो सहमति भएकाले लुम्बिनीमा पनि हुनसक्ने आंकलन गरिएको छ ।