© २०२३
बुटवल,२४ पुस । सातवटै प्रदेश सरकारको नेतृत्व अर्थात मुख्यमन्त्रीबारे प्याकेजमा सहमति खोज्ने प्रयासका लागि आज सत्तारुढ दलहरुको बैठक बस्दैछ । बैठक बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने छ । सबैजसो प्रदेशमा एमाले र माओवादी केन्द्रले तथा बागमतिमा राप्रपाले र सुदुर पश्चिममा नागरिक उन्मुक्ति समेतले मुख्यमन्त्रीमा दावी गरिरहेका छन् । लुम्बिनीमा भने एमालेका लिला गिरी र माओवादीका जोखबहादुर महराले दावी गरेका छन् । आजको बैठकमा पुस २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने प्रचण्डको सचिवालयले जानकारी दिएको छ। कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरुबीच सहमतिको प्रयास हुने बताइएको छ ।
प्रदेश १ मा मुख्य मन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो । प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका छन् ।
शीर्ष नेताहरुबीच भागबण्डा नमिलेकाले प्रदेश प्रमुखसमक्ष कसले दाबी प्रस्तुत गर्ने भन्ने विषय अन्यौल छ ।
यसैगरी बागमती र गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने म्याद भोलि २५ गतेसम्म छ । बागमतीमा एमाले, माओवादी र राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा २७ गतेभित्र तथा मधेशमा २८ गते मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने म्याद छ ।