© २०२३
सल्यान, पुस – सल्यान काप्रेचौरका धनवीर बुढा गाउँमा कुनै सम्भावना नदेखेपछि बसाईसराइ गरेर बर्दिया गए । उनका अनुसार गाउँमा न त आफुले सोचेजस्तो विकास भयो, न त छिटै विकास हुने देखियो । बरु जंगली जनावरले वालीनालीमा उपद्रो मच्चाएर बसिखानै दिएनन् । उनी भन्छन्, ‘गाउँमा सोचेजस्तो विकास भएन, जंगली जनावरको आतंक रोक्न कसैले पहल पनि गरेन । शहरको तुलनामा गाउँमा विकास हुन धेरै समय लाग्ने देखियो । त्यसैले बसाइसराइ गरेँ ।’ भोगचलन गर्दै आएको जग्गाजमिन र बस्दै आएको घर नै छोडेर बसाइसराइको कागजात लगेर बर्दिया झरेको धनवीरको भनाइ छ । एक दशक अघिसम्म बाक्लो बस्ती भएका सल्यानका गाउँ बसाइसराइका कारण पातलिदै गएका छन् ।
करिव दश वर्षअघि ४२ घरधुरी भएको कालीमाटी गाउँपालिका वडा नम्बर ७ आमवासमा अहिले १९ घरपरिवार मात्रै छन् । त्यस्तै काप्रेचौरका नैनसिंह रानाले चार सय घरधुरी भएको काप्रेचौर क्षेत्रबाट ८० परिवारले बसाइ सरेको बताउछन् । कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल बस्नेतले लक्ष्मीपुर क्षेत्रबाट पाँच वर्षको अवधिमा ४० बढी परिवारले बसाइ सरेको जानकारी गराए । गाउँमा विकासले विस्तारै गति लिदै गरे पनि बसाइ सर्नेको संख्यामा भने कमी आउन सकेको छैन ।
जिल्लाको काप्रेचोर, काल्चे, रामपुर, निगालचुला, लक्ष्मीपुर, माझकाँडा, कुपिण्डे, फलाबाङ, लेखपोखरा, छायाँक्षेत्र लगायतका क्षेत्रबाट सबैभन्दा बढी बसाइसराइ भएको देखिन्छ । सल्यानबाट प्रायः दाङ, बाँके, बर्दिया, सुर्खेत लगायत तराईका जिल्लामा बसाइ सर्ने गरेका छन् । गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, लगानी, उद्योग व्यवसाय, सुरक्षा, सामाजिक सम्बन्ध र समानता खोज्दै तराई झर्ने क्रम तीब्र बन्दै जाँदा ग्रामीण भेगका बस्ती शून्य बन्दै गएका हुन् । संघीयता कार्यान्वयनमा आएसँगै सेवा र सुविधा खोज्दै गाउँबाट शहर झर्ने क्रम रोकिने अपेक्षा गरिएको थियो । तर गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवा समेत नपाइने भएपछि बसाइसराइ घट्नुको साटो बढिरहेको छ ।
गाउँबाट छोराहरु वैदेशिक रोजगारीमा जाने र पैसा कमाएपछि सपरिवार शहर झर्ने गरेको पाइन्छ । कतिपयले गाउँमा भएको घर, खेतवारी बेचेर शहर झरेका छन भने केहीले खेतवारी बाँझै छोडेर शहर झरेका छन् । आमाबुवा पनि छोराछोरीकै साथ लागेर शहर झर्ने क्रम बढ्दा गाउँका खेतीयोग्य भू–भाग झाडिमा परिणत हुँदै गएका छन् । गाउँमा समस्या पर्दा सहयोग गर्ने छिमेकी समेत पाइन छोडेको काप्रेचौरका टेकबहादुर बिकले बताए । बसाइ सरेर जाने क्रमले गाउँमा विकास निर्माणको काम गर्न समेत समस्या हुने गरेको उनको भनाइ छ । प्रत्येक घरमा कम्तिमा ६÷७ जना परिवारका सदस्य हुने घरमा अहिले पुरा खाली खाली देखिन्छन् भने कतै वृद्ध बुबा–आमा मात्र भेटिन्छन् । गाउँमा विकास थपिँदै गए पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको संख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण भएका छन् ।
पातलो बस्तीले सुरक्षा चुनौती बढ्दै, जिल्लाभित्रै पनि बसाईसराइ
गाउँघरको बढ्दो बसाइसराइले गाउँघर खालि बन्दै गएका छन् । पातलो बस्तीले सुरक्षा चुनौती बढ्दै गएको छ । कतिपय स्थानमा त गाउँमा केही समस्या आइहाले हारगुहार गर्दा सुन्ने र सहयोग गर्ने छिमेकी समेत नपाइने अवस्था सिर्जना भएको छ । ‘गाउँघरमा कसैको घरमा कुनै घटना भयो भने पनि थाहा पाउने मानिस छैन’, झिम्पेका रेमन्त डिसिले भन,े ‘झिम्पेमा मात्रै यो १० वर्षमा एकान्त बस्तीमा भएका घरमा आधा दर्जन बढि हत्याका घटना भए ।’ एकान्तका घरहरुमा मानव अधिकार हनन, महिला हिंसाका घटनाहरु जति भएपनि कसैले थाहा नपाउने भएकोले कतिपय घटनाहरु बाहिर आउन समेत सकेका छैनन् ।
अहिले जिल्ला बाहिर मात्र नभई जिल्ला भित्रै पनि गाउँ छोडेर बजार क्षेत्रमा बसाइ सर्ने क्रम बढ्दो छ । जसका कारण जिल्लाकै प्रमुख व्यापारिक केन्द्र श्रीनगर, सल्लीबजार, थारमारे, बागचौर, लान्ती, लुहाम, रामपुर, लगायतका बजार क्षेत्रमा जनघनत्व बढ्दै गएको छ । द्वन्द्व, झैझगडा, जंगली जनावरको आतंक लगायतका कारण वर्षौं पहिलेदेखि शुरु भएको बसाइसराइ गाउँ–गाउँमा सडक, बत्ती, खानेपानी पुग्दा पनि रोकिएको छैन । आर्थिक अवसर संगै गाउँमा बस्ने वातावरण बनाउन स्थानीय तहले मुख्य रुपमा प्राथमिकताका साथ काम गर्नुपर्ने देखिन्छ ।