© २०२३
कपिलवस्तु, पुस- जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर–४ पिपराका २८ बर्षिय अमिर खान वैदेशिक रोजगारीमा जाने तरखरमा छन । वैदेशिक रोजगारीमा जानकै लागी राहदानी बनाउन उनी हतार हतार जिल्ला प्रशासन कार्यालयमा आए । घरको जेठो छोरा भएकाले बाबुको मृत्यु पछि आमा र २ बहिनी भएको परिवार चलाउने जिम्मेवारी उनको छ । उनका जेठा भिनाजु वैदेशिक रोजगारीमा कतार छन ।
भिनाजुकै सल्लाहमा राहदानी बनाएर कतार जाने योजनामा अमिर छन । घरको जिम्मेवारीकै कारण छिट्टै विदेश जान पाए हुन्थ्यो भन्ने उनलाई लागेको छ । भिनाजुले भने अनुसार राहदानी बनाए तत्कालै भिसा लागेर एक महिना भित्रै उनी कतार पुग्ने उनको बुझाई छ । कतार जान थालेका उनलाई होटलमा काम गर्न पाए हुने थियो भन्ने चाहना छ । तर उनमा कुनै पनि सिप र दक्षता छैन । जसका कारण उनी सामान्य श्रमिकको काममा कतार जाने छन । “घरको जिम्मेवारी मेरै काँधमा छ । तालिम सिक्न खोजे दुई चार महिना लागि हाल्छ ।
मलाई छिट्टै विदेश गएर कमाउनु छ ।” अमिरले भने । उनी जस्तै जिल्लाको बुद्धभुमी नगरपालिका ४ कि निर्मला थापा पनि वैदेशिक रोजगारीमा जानका लागी राहदानी बनाउदै छन । ८ कक्षा पढेकी उनी सिप र दक्षता बिनै दुवईमा वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउन आएकी छन ।
वैदेशिक रोजगारीमा जाने अधिकांस सिप र दक्षता बिनै वैदेशिक रोजगारीमा जाने गरेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जिल्ला प्रशासन कार्यालयमा सञ्चालन गरेको आप्रवासी श्रोत केन्द्र (सुचना केन्द्र) को तथ्याङ्क छ । वैदेशिक रोजगारीमा जान खोज्नेहरु हतारमा हुने र सिप सिक्दा समय लाग्ने भएकाले सिप र दक्षता बिना वैदेशिक रोजगारीमा जानेको संख्या बढि रहेको श्रोत केन्द्रका परामर्शदाता होमनाथ मिश्रा बताउछन । सरकारले सिप विकासका लागी सञ्चालन गरेको तालिम केन्द्र टाढा हुनु, सिप सिक्न समय लाग्नु र तालिमको लट अनुसारको समयसिमा हुने हुदाँ वैदेशिक रोजगारीमा जान खोज्नेहरु तालिमका लागी ईच्छुक नभएको मिश्राले जानकारी दिए । सुचना केन्द्रमा परामर्श दिने क्रममा गत आर्थिक बर्षमा वैदेशिक रोजगारीमा जान खोज्ने मध्ये १७ जना मात्रै सिप मुलक तालिममा सहभागी भएको सुचना केन्द्रका सामाजिक परिचालन अधिकृत रामशकंर गौतमले बताए ।
स्विस सरकार बिकास सहयोग (एसडीसी) र नेपाल सरकारको साझेदारी र हेल्भेटास नेपालको प्राबिधीक सहयोगमा सुरक्षित आप्रवासन (सामी कार्यक्रम) अन्र्तगत श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई लक्षित गरि बिभिन्न सिप बिकासका तालिम प्रदान गर्दै आएको छ । स्विस सरकार बिकास सहयोग (एसडीसी) को सहयोगमा १५ जिल्लाको ६० स्थानिय तहमा र नेपाल सरकार मार्फत २३ जिल्लाको ९६ स्थानिय तह गरि ३८ जिल्लाका १ सय ५६ स्थानिय तहमा नेपाल सरकारको शसर्त बजेटबाट सामी कार्यक्रम सञ्चालनमा छ ।
गत आर्थिक बर्षमा मन्त्रालयले देशभरबाट १ हजार ७ सय २९ जनालाई बिभिन्न सिपमुलक तालिम दिएकोमा कपिलवस्तुबाट १७ जना मात्रै सहभागी भएका थिए । त्यसै गरि चालु आर्थिक बर्षमा १ हजार ३ सय जनालाई सिपमुलक तालिम दिने मन्त्रालयको लक्ष्य भए पनि २ जना मात्रै तालिममा सहभागी हुदै छन । गत आवमा बुद्धभुमी नगरपालिकाका ५ जना, यशोधरा गाउँपालिकाका ४ जना, बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका ३÷३ जना र कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिकाका १÷१ जना गरि १७ जनाले वैदेशिक रोजगारीमा जानु पुर्व सिपमुलक तालिम लिएको देखिन्छ । चालु आवमा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने पुरुष व्यक्तिलाई लक्षित गरि कार्टिङ्ग कार्पेन्टरी, स्काफोल्डिङ्ग, प्लम्बर, इन्डस्ट्रियल ईलेक्ट्रिसियन, वेल्डर र पाईप फिटरको तालिम दिदै छ । त्यसै गरि महिलाका लागी हाउस किपिङ्ग÷क्लिनर र गार्मेन्ट मेसिन अपरेटरको तालिम दिदै छ । तर जिल्लाबाट चालु आर्थिक बर्षमा महाराजगञ्ज नगरपालिकाका २ जना व्यक्ति मात्रै तालिममा सहभागी हुदैछन । कोभिड संक्रमणको दोस्रो लहर पछि वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढे पनि सिप र दक्षता बिनै जानेको संख्या बढि छ । वैदेशिक रोजगार बिभाग बोर्डको तथ्याङ्कमा गत आर्थिक बर्षमा वैदेशिक रोजगारीमा जाने मध्य तिन चौथाई श्रम शक्ति सिप र रोजगारी बिनै वैदेशिक रोजगारीमा जाने गरेका छन ।
गत आर्थिक बर्ष सम्मको तथ्याङ्क हेर्दा नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या ६४ लाख नाघेको छ । लुम्बिनी प्रदेश भरिबाट श्रम स्विकृती लिई वैदेशिक रोजगारीमा जानेको संख्या ८ लाख ६० हजार ७ सय ८५ जना र कपिलवस्तु जिल्लाबाट गत आर्थिक बर्ष सम्म ८१ हजार ८ सय १५ जनाले वैदेशिक रोजगार बिभागबाट श्रम स्विकृती लिई बैदेशिक रोजगारीमा गएको देखिएको छ । गत आवमा श्रम स्विकृती लिएर बिदेश जानेको संख्या हाल सम्मकै बढि हो । गत आर्थिक बर्ष २०७८÷७९ मा बैदेशिक रोजगारीका लागी श्रम स्विकृती र पुनः श्रम स्विकृती लिई जानेको संख्या ६ लाख ३० हजार ९० रहेको र जसमा महिलाको संख्या ४९ हजार १ सय २८ (८ प्रतिशत) रहेको थियो । जसमा सिपका आधारमा श्रम स्विकृतीको वर्गिकरण गर्दा उच्च दक्षता भएका १ सय २५ जना (शुन्य दशमलव ०१९प्रतिशत), व्यवसायीक ६ सय ८० जना (शुन्य दशमलव एक प्रतिशत), अर्ध दक्ष ५४ हजार ३ सय २८ जना (८ दशमलव ६२ प्रतिशत), दक्ष २ लाख ९१ हजार ८ सय ८९ जना (४६ दशमलव ३२ प्रतिशत) र अदक्ष २ लाख ८३ हजार ६८ जना (४४ दशमलव ९२ प्रतिशत) छन । वैदेशिक रोजगारीबाट ५६ प्रतिशत घरधुरीले बिप्रेषण प्राप्त गर्ने गरेको देखिन्छ ।
वैदेशिक रोजगारीमा जानेहरु मध्य एक पटक फर्किएर पुनः श्रम स्विकृती लिई वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई दक्ष कामदारको रुपमा गणना गरेका कारण दक्षता भएका कामदारको संख्या बढि देखिएको सामी हेल्भेटास लुम्बिनी प्रदेशका कार्यक्रम अधिकृत जियाउल हकले जानकारी दिए । “पुनः श्रम स्विकृती लिएर व्रदेशिक रोजगारीमा गएकाहरुको सिप र दक्षता हेर्दा समेत ७८ प्रतिशत वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुमा दक्ष नभएको देखिएको छ ।” उनले भने ।
वैदेशिक रोजगारीमा जाने कामदारमा सिप र दक्षता नभएकै कारण उनीहरु रोजगारीका क्रममा बिभिन्न जोखिममा पर्ने गरेका छन । जोखिमकै कारण दैनिक ३÷४ जना कामदारको शव नेपाल भित्रिने गरेको वैदेशिक रोजगार बोर्डको तथ्याङ्क छ । आर्थिक बर्ष २०७७l७८ मा वैदेशिक रोजगारीमा गएका १ हजार २ सय ४३ जनाको मृत्यु भएको र १ सय ४३ जना अङ्गभंङ्ग भएको बोर्डको तथ्याङ्क छ । सो बर्ष कपिलवस्तु जिल्लाका २१ पुरुष र १ महिलाको मत्यु पश्चात २२ वटा शव जिल्लामा आएको थियो । गत आर्थिक बर्ष २०७८l७९ मा आप्रवासी श्रोत केन्द तौलिहवामा १० जना कामदार मृत्युका घटना दर्तामा आएको देखिएको छ ।
सामी कार्यक्रमले वैदेशिक रोजगारीमा गएका, रहेका, फर्किएका र उनका परिवारलाई लक्षित गरि सुचनामा पहुँच, न्यायमा पहुँच, सिप किासका तालिम, मनोसामाजिक परामर्श र बित्तिय साक्षरताको कार्य गरेको सुरक्षित आप्रवासन (सामी कार्यक्रम) का जिल्ला कार्यक्रम व्यवस्थापन समितीका सदस्य सचिव तथा कपिलवस्तु नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुह हरि प्रसाद ज्ञवालीले बताए । सिप र दक्षता बिनै वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुले भनेको काम नपाउने, सेवा सुबिधा र तलब थोरै पाउने, मृत्यु र दुर्घटना लगायतको जोखिमबहन गर्नु पर्ने समस्या देखिएको ज्ञवालीले बताए । “वैदेशिक रोजगारीमा गएर जोखिमबहन गर्न नपरोस भनेर सामी कार्यक्रम मार्फत सिपमुलक तालिम लिन प्रोत्साहित गर्दै आएका छौं ।” उनले भने ।