© २०२३
बुटवल, १९ पुस ।
तिलोत्तमा नगरपालिकाभित्र रहेका सामुदायिक छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण अभियान सम्पन्न गरिएको छ । तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा पक्लिहवा कृषि तथा पशु अध्ययन क्याम्पसका र युथ फर कन्जरभेसन एण्ड सस्टेनेवल एग्रिकल्चरको प्राविधिक सहयोगमा तीन दिनमा ८० सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण सम्पन्न गरिएको हो । तिलोत्तमा नगरपालिका कार्यालय परिसरमा मंगलबार औपचारिक कार्यक्रम गरी कुकुरको स्थायी बन्ध्याकरण शल्यक्रियामा प्राविधिक सहयोग गर्ने चिकित्सकहरु डा. केशव लम्साल, डा. विरेन्द्र श्रेष्ठ, डा. गंगाप्रसाद यादवसहित सहयोगी संस्थाहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाँणले समुदायमा संचालन गरिने विकास निर्माणको कार्यहरुलाई एकीकृत योजना बनाई अघि बढाउनुपर्ने बताए । सामुदायिक छाडा कुकुरको नियन्त्रणको अभियान थालनी गरेको भन्दै यसमा छिमेकी पालिकाहरुको सहकार्य जरुरी रहने उनले बताए । ‘स्थानीय पालिकाहरु मिलेर साझा मुद्दामा एकतावद्घ भई काम गर्नुपर्छ’–उनले भने । छाडा चौपाया, सामुदायिक कुकुर, फोहोर ब्यवस्थापन, वावतारण संरक्षण जस्ता विषयमा एकीकृत योजना बनाएर अघि बढ्न जरुरी रहेको बताए । ‘एउटा पालिकाले मात्र अभियान चलाएर सफल हँुदैन’– उनले भने । बजार क्षेत्रमा कुकुरको संख्या बढ्दा नगर अब्यवस्थित हुनुको साथै विभिन्न रोगहरु लाग्ने समस्या बढेको बेला चलाईएको कार्य निक्कै उपलब्धिमूलक भएको बताए । विद्यार्थी भविष्यका कर्णधार नभई वर्तमानको साझेदार भएको उनले दाबी गरे । पछिल्लो समय प्राणी अधिकारलाई मध्येनजर गर्दा उपयुक्त बिकल्पका रुपमा बन्ध्याकरण रहेको उनले बताए । घुम्ति शिविर, माटो, बालीको जाँच जस्ता कृषिको विकासमा नगरपालिका सहकार्य गर्न तयार रहेको उनले बताए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सिमित बजेटमा नमुना काम भएको बताए । पहिलो चरणमा ८० वटा कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको छ । कृषि कार्यहरुमा समेत सहकार्य गर्न तयार रहेको उनले बताए । सिक्दै काम गर्ने रुपमा अघि यो नमुना काम भएको उनले बताए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरमा धेरै छाडा पशुको समस्या रहेको बताए । रेबिज जस्तो डरलाग्दो रोग सर्ने सम्भावना रहेको बेला किताबी ज्ञान लिएका विद्यार्थीहरु ब्यावहारिक रुपमा बन्ध्याकरण गरेर नयाँ स्वरुपको अभियान थालिएको उनले बताईन् । समुदायबाट कुकुरको ब्यवस्थापनको दबाब आईरहेको बेला बन्ध्याकरण राम्रो विकल्प भएको उनले दाबी गरिन् । नगरपालिकाका सबै वडा कार्यालयहरुको समन्वयमा बन्ध्याकरण कार्यलाई निरन्तरता दिने प्रतिवद्घता जनाईन् ।
कार्यक्रममा क्याम्पस प्रमुख डा. रामभजन मण्डलले कृषि, वातावरणको विषयमा धेरै कामहरु गर्न सकिने सम्भावना रहेको बताए ।
क्याम्पसमा अध्ययरत २१ जना विद्यार्थीहरुबाट वाईसिएसए स्थापना गरेर सिक्दै पढ्दे कार्य अघि बढाएको उनले बताए । कलेजमा कृषि, पशु र वातावरणको विषय अध्यापन हुने र कलेजका जनशक्तिहरुबाट स्थानीय पालिकाहरुमा कार्यक्रम गर्न सकिने उनले बताए । कलेजले भेटेनरी अस्पताल स्थापना गर्ने योजना बनाएको भएपनि बजेट अभावका कारण रोकिएको उनले दुःखेसो गरे । त्रिभुवन विश्वविद्यालयबाट भेटेनरी अध्यापन गराउने देशकै नमूना कलेज भएको भन्दै यसलाई संरक्षण गर्दै अघि बढ्न स्थानीय सरकार लाग्नुपर्ने उनले सुझाव दिए ।
कार्यक्रममा पक्लिहवा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरुको संस्था वाईसिएसएका अध्यक्ष रामभरस यादव, तिलकराम भुसाल, ओसिन थापामगरले माटोको पहिचान, परीक्षण गरी उत्पादन बढाउने विषयमा ध्यान दिनुपर्ने बताए । वातावरण र माटोको सम्बन्ध, संरक्षण र दिगो विकासको बारेमा प्रस्तुति दिएका थिए । पुस १५ देखि १८ सम्म वडा नं. १, २, ३, ४, ५, ६,९ का छाडा कुकुरहरुको बन्ध्याकरण गरिएको हो ।