© २०२३
नेपालीहरूको मुख्य चाडको रूपमा वडादसैं आउन अब तीन हप्ता पनि छैन । बुटवलको मुख्य व्यापारिक बजार मानिने अमरपथ अहिले सुनसान छ । कारण हो बाटो । निर्माणाधिन अमरपथको बाटो समयमा नै सम्पन्न नहुँदा व्यवसायीहरूले आफ्नो पसल कुर्नुबाहेक अन्य विकल्प छैन । विगत लामो समयदेखि कहिले हिलाम्मे र कहिले धुलाम्मे बनेको अमरपथको बाटो समयमा नै निर्माण सम्पन्न नहुँदा त्यहाँ जाने ग्राहकहरू अन्यत्र गएका छन् । पटक–पटक बुटवल उपमहानगरपालिकालाई बाटो निर्माण सम्पन्न गर्न आग्रह गरे पनि अटेर गरेको कारण आफुहरू आजित भएको अमरपथमा व्यवसाय गर्दै आएका व्यवसायी राजन कसजु बताउँछन् । उनी भन्छन्–‘पहिला बर्खा भनेर बाटो निर्माण रोकियो, हामी हिलोको सिकार भयांै, अहिले बर्षा रोकिएको छ तर बनाउने सुरसार छैन ।’ उनले यस विषयमा बुटवल उपमहानगरपालिकालाई पटक पटक खबरदारी गरे पनि सुनुवाई नभएको बताए ।
दसैंको बेलामा बाटोको हालत बिग्रीएको कारण पसलमा आउने ग्राहकहरू पनि अन्यत्र जानुको साथै धुलोको कारण पैदल यात्रा गर्ने यात्रुहरूले समेत सास्ती खेपेको कसजुको भनाई रहेको छ ।
बुटवल उपमहानगरपालिकाका सूचना अधिकृत लेखनाथ पौडेलका अनुसार उपभोक्ता समिति मार्फत निर्माण हुँदै गरेको बाटो सम्झौता अनुसार ठूलो मेसिन प्रयोग गरेर कालेपत्रे गरिनुपर्ने र उक्त मेसिन अहिले बुटवल–बेलहिया सडक निर्माण कार्यमा प्रयोग गरिएको कारण केही ढिला भएको हुन सक्ने जानकारी दिए । उनले भने–‘उपभोक्ता समितिले ठेक्का दिएको निर्माण कम्पनीले त्यहि मेसिन कुरेर बसेको छ, १÷२ दिनमा उक्त मेसिन आयो भने बढिमा २ दिनमा सबै निर्माण कार्य सम्पन्न हुन्छ ।’ दसैं आउँदै गर्दा व्यवसायीहरू, सडक प्रयोगकर्ताहरू सबैबाट दबाब आएको बताउँदै उनले बढिमा २ दिनमा बाटो निर्माण पुरा हुने बताए । आगोले पोलेर मिस्कट, बालुवा अलकत्र बाट निर्माण गरिएको निर्माणजन्य बस्तु भन्दा पहिला नै विद्युत प्रयोग गरेर निर्माण गरिएको (मिस्कट) निर्माण जन्य सामग्री ठुलो मेसिनले एकै पटक गर्न सक्दछ । आगोले पोल्दा प्रदूषण बढि हुने र स्थान समेत अभाव भएको कारण निर्माण कम्पनीले यस्तो प्रकृतिको मेसिनको पर्खाइमा रहेको जनाइएको छ । जुन मेसिन रूपन्देहीमा हाल एउटा मात्रै रहेको कारण पनि त्यसैलाई नै कुर्नुको विकल्प नभएको कारण केही ढिलाई भएको जनाइएको हो । बुटवल उपमहानगरपालिकाका बरिष्ठ अधिकृत डोलराज अर्यालका अनुसार सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गौतम कालिदासको संयोजकत्वमा रहेको कमिटि र बुटवल उपमहानगरपालिकासंग सम्झौता भएको छ । सडक निर्माणको जिम्मा पाएका रमेश अधिकारीले आफ्नो कम्पनीले बाटो नबनाएको बताउँदै उपभोक्ता समितिमार्फत काम भैरहेको बताए । उनले भने–‘होईन हाम्रो कम्पनीले बाटो बनाएको, यो उपभोक्ता समिति मार्फत काम भैरहेको छ । ’
उपभोक्ता समितिका अध्यक्ष गौतम कालिदासका अनुसार ठकेदार कम्पनी भन्दा पनि व्यक्तिलाई जिम्मा दिएको र आज (शुक्रबार) बाट नै काम अगाडी बढ्ने बताए । उनले कुल ९३ लाख लागतमा निर्माण हुने सडकमा १५ प्रतिशत उपभोक्ता समितिको रहेको जानकारी दिए । à