© २०२३
वि.सं. २००७ साल (सन् १९५१) पछिमात्र नेपाललाई विदेशी पर्यटकहरूका लागि खुला गरिएको हो । साढे ६ दशकको अवधिमा विश्वमा पर्यटन क्षेत्रमा धेरै परिवर्तन आइसकेको छ । तर, पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि दक्षिण एसियामा आगमन हुने पर्यटकहरूको कुल सङ्ख्या र पर्यटनबाट हुने लाभको हिस्सा नेपालले एकदमै कम पाउने गरेको छ । सन् २०१७ मा अहिलेसम्मकै धेरै ९ लाख ४० हजार २ सय १८ जना पर्यटक नेपाल आएका थिए, जुन संख्या अघिल्लो सालको भन्दा २९ प्रतिशत बढी हो । वल्र्ड ट्राभल एण्ड टुरिज्म काउन्सिलको नेपाल सम्बन्धि प्रतिवेदनअनुसार सन् २०१७ मा नेपालको पर्यटन क्षेत्रले कूल ग्रार्हस्थ उत्पादनमा ४ प्रतिशत अर्थात ९८२ दशमलव ५ मिलियन अमेरिकी डलर र अप्रत्यक्ष रूपमा ७ दशमलव ८ प्रतिशत अर्थात् १९२० मिलियन डलर बराबरको योगदान पु¥याएको थियो । यो प्रतिवेदनका अनुसार पर्यटन क्षेत्रले प्रत्यक्ष रूपमा ४ लाख ९७ हजार ५ सय र अप्रत्यक्ष रूपमा १० लाख २७ हजार जनालाई रोजगारी प्रदान गरिरहेको छ । यी तथ्यहरूलाई हेर्दा नेपालमा पर्यटनबाट समृद्धि ल्याउने कुरा धेरै टाढा रहेको प्रष्टै देखिन्छ ।
कहाँ चुक्यौँ हामी ?ः
नेपाल पर्यटकीय दृष्टिमा विश्वका उत्कृष्ट गन्तब्यहरूमध्येमा पर्छ । खासगरी हिमाल, जैविक विविधता, संस्कृति र सभ्यताकासाथै यहाँको धरातलीय विविधता र जलश्रोत पर्यटकका लागि आकर्षणका केन्द्रहरू हुन् । हिन्दु र बुद्ध धर्मका पवित्र स्थलहरू र हिमाली सुन्दरताले मानिसहरूलाई मुग्ध पार्ने गरेको छ । यस्ता प्रचुर सम्भावना भएको भएपनि नेपालले पर्यटनबाट न्यूनतम लाभ लिनसमेत सकेको छैन । सरकारले नेपालमा पर्यटकको संख्या बढाउने र पर्यटनबाट आर्थिक विकास गर्ने कुरा गर्न थालेको साठी वर्ष भैसकेपनि यी कुराहरू नीति र कार्यक्रमका दस्तावेजमामात्र सिमित भैरहेका छन् । छिमेककै भारत, चीन, थाइल्याण्डजस्ता देशहरूले विश्व पर्यटन बजारमा दरिलो उपस्थिति जनाइरहेको अवस्थामा नेपालका पर्यटकीय स्थलहरूमा पर्यटकका पाइलाहरू डो¥याउनसमेत सकिएको छैन । प्रचारप्रसारको कमी, पर्यटकीय पूर्वाधार र संस्कारको कमी, नीतिगत अस्पष्टता, देशभित्रको निरन्तरको अशान्ति, भूकम्पजस्ता कारणले नेपालमा पर्यटकहरूको आगमन र बसाइँ बढ्न सकेको छैन । सरकारी तथ्यांकलाई आधार मान्दा सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ जना पर्यटक (भारत बाहेकका) नेपाल भ्रमणमा आएका थिए । आर्थिक वर्ष २०७३÷७४ मा पर्यटन क्षेत्रबाट ५८ अर्ब ५२ करोड ७० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको देखिन्छ । यो कुल वस्तु निर्यातबाट प्राप्त विदेशी मुद्राको अनुपातमा ७१.३ प्रतिशत, कूल वस्तु निर्यात तथा सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २४.३ प्रतिशत, आर्जित कूल विदेशी मुद्राको अनुपातमा ५.१ प्रतिशत र कूल ग्रार्हस्थ्य उत्पादनको अनुपातमा २.३ प्रतिशतमात्र हो । पुरै देशको अर्थतन्त्रलाई धान्न सक्ने पर्यटन क्षेत्रबाट गरिएको यो आर्जन हात्तीको मुखमा जिरा बराबर नै हो ।
दिगो पर्यटनको आवश्यकताः
सन् २०१६ को भन्दा २५ प्रतिशतले बढी पर्यटक सन् २०१७ मा स्थलमार्गबाट नेपाल भ्रमणमा आएका थिए । सन् २०१६ मा प्रति पर्यटक बसाइ अवधि औशत १३.४ दिन र प्रतिदिन प्रति पर्यटक खर्च ५३ अमेरिकी डलर रहेकोमा सन् २०१७ बसाइ अवधि १२.६ दिन र प्रतिदिन प्रति पर्यटक खर्च ५४ अमेरिकी डलर पुगेको छ (नेपाल पर्यटन प्रतिवेदन २०१७) । सन् १९७५ मा नेपालमा प्रति पर्यटक औशत बसाइँ दिन १३.०५ दिन रहेकोमा ४३ वर्ष पछि पनि सोहि देखिनुले नेपालमा पर्यटनको अवस्था कमजोर रहेको देखिन्छ । नेपालमा आएका पर्यटकहरू धेरै दिन नबस्ने, धेरै खर्च नगर्ने र धेरै ठाउँमा नपुगी सगरमाथा, पोखरा, चितवन र काठमाडौं छेउँछाउँमात्र घुमेर फर्कने गरिरहेको अवस्थामा नेपालमा पर्यटन क्षेत्रबाट नगन्य मात्रामा लाभ प्राप्त भएको छ । नेपालमा पर्यटन क्षेत्रबाट पर्याप्त फाइदा लिन र पर्यटनलाई समृद्धिको आधार बनाउनको लागि दिगो पर्यटनतर्फ ध्यान दिनु पर्छ ।
दिगो पर्यटनका आधारहरूः
क) प्रचार प्रसारः
दिगो पर्यटनको मुख्य आधार भनेको पर्यटन बजारमा नेपालका पर्यटकीय क्षेत्रको ब्यापक प्रचारप्रसार हो । नेपालमा जति चिच्याएपनि नेपालको पर्यटकीय सम्पदाको बारेमा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचार प्रसारको अवस्था दयनीय देखिन्छ । नेपाल घुमेर गएका पर्यटक र संचारमाध्यमहरूले बोलेको, लेखेको र देखाएकोबाट जानकारी पाएर पर्यटकहरू येनकेन आइरहेका छन् । नेपालमा बारम्बार हुने बन्द, द्वन्द्व, प्राकृतिक प्रकोपको कारणले अन्तर्राष्ट्रिय पर्यटन बजारमा भ्रमणको लागि नेपाल असुरक्षित छ भन्ने हल्ला चल्ने गर्छ र यसलाई चिर्न नेपालले सकिरहेको छैन । उचित प्रचारको अभावले गर्दा नेपालका प्रमुख सम्पदाहरू सगरमाथा र लुम्बिनीको फाइदा पनि चीन र भारतले लिइरहेका छन् ।
सन् २०१७ मा नेपाल भ्रमणमा आएका पर्यटकहरूमध्ये भारतका १७.१ प्रतिशत, चीनका ११.१ प्रतिशत, अमेरिकाका ८.४ प्रतिशत, बेलायतका ५.४ प्रतिशत र श्रीलंकाका ४.८ प्रतिशत थिए । सन् २००८ मा ३५ हजार १६६ चिनिया नेपाल भ्रमणमा आएकोमा सन् २०१७ मा यो संख्या एक लाख ४ हजार ६६४ पुगेको छ. भने सोहि अवधिमा भारतीय पर्यटकको संख्या ९१ हजार १७७ बाट एक लाख ६० हजार ८३२ पुगेको छ । अहिले विश्वमा चिनियाँ र भारतीय पर्यटकको संख्यामा तीव्र वृद्धि भैरहेको भएपनि छिमेकी देश भएर पनि त्यहाँका पर्यटकलाई नेपालमा आकर्षित गर्न सकिएको छैन । गौतम बुद्ध, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथलाई मात्र यी छिमेकी देशहरूमा राम्रो प्रचार गर्न सकियो र ती देशका एक प्रतिशत पर्यटकलाईमात्र नेपालमा ल्याउन सकियो भने नेपालको पर्यटन क्षेत्रले मुहार फेर्न सक्ने देखिन्छ ।
ख) पर्यटन उद्यमको बिस्तारः
उद्योग विभागमा २०७४ फाल्गुनसम्म दर्ता भएका ७३३४ उद्योगहरू मध्ये १५४२ वटा ( २१ प्रतिशत) पर्यटन क्षेत्रका उद्योग छन् । पर्यटन उद्योगमा ११६९६ करोड रूपैयाँ लगानी भएको र ६१९९० जनालाई प्रत्यक्ष रोजगारी प्राप्त भएको छ । यीमध्ये ७६.५ प्रतिशत ३ नम्बर प्रदेशमा, १५.१ प्रतिशत गण्डकी प्रदेशमा, ३.९ प्रतिशत ५ नम्बर प्रदेशमा रहेका छन् (आर्थिक सर्भेक्षण २०७४÷०७५) । पर्यटन मन्त्रालयका अनुसार सन् २०१७ अन्त्य सम्ममा नेपालमा १२२५ वटा तारे होटेल, ९७७ अन्य होटेल, ३८२४ वटा ट्राभल एजेन्सी र २६३७ वटा ट्रेकिंग एजेन्सीहरू रहेका छन् । नेपालमा पर्यटकलाई सुविधा दिने उद्योगहरूको संख्या विस्तारै वृद्धि भैरहेको भएपनि तिनीहरू काठमाडौं, पोखरा, चितवन र लुक्ला सेरोफेरोमै रहेका छन् । सन् २०१७ मा नेपाल घुम्न आएका पर्यटकहरूमध्ये ६४ प्रतिशत राष्ट्रिय निकुन्जमा, १३ प्रतिशत पशुपतिनाथमा र १५ प्रतिशत लुम्बिनीमा पुगेका थिए । यो तथ्यांकलाई हेर्दा पर्यटन उद्यम जहाँ छ त्यसको सेरोफेरोमै पर्यटकहरू घुम्ने गरेका देखिन्छ । नेपालका सबै ठाउँमा पर्यटकलाई पु¥याउनको लागि सबै भौगोलिक क्षेत्रमा पर्यटकको लागि सुबिधा पु¥याउने उद्यमको विस्तार गर्नुपर्छ । होटेल, ट्राभल एजेन्सीजस्ता सस्थालाई पर्यटन सम्भाव्य सबै भौगोलिक क्षेत्रमा पु¥याउनको लागि आवश्यक छुट र सहुलियत प्रदान गर्ने नीति र कार्यक्रमहरू स्थानीय र प्रदेश सरकारले ल्याउनु जरुरी छ ।
ग) पर्यटकीय पूर्वाधारः
नेपालमा धेरै किसिमका पर्यटकीय सम्पदाहरू रहेका छन् । तर ती सम्पदासम्म पुग्न, अवलोकन गर्न र रमाउनकोलागि घुम्न चाहनेहरूले ठूलै कष्ट बेहोर्नुपर्ने बाध्यता छ । बाटोघाटोको असुबिधा, संचारको असुविधा, बास बस्ने ठाउँको अभाव, पर्यटकीय सुचनाको कमी, पर्यटनमैत्री संस्कारको कमीजस्ता कारणले गर्दा पर्यटन विकासमा तगारोको काम गरिरहेको छ । सबै सम्भाव्य पर्यटकीय स्थलहरूमा भौतिक पूर्वाधारहरू पु¥याउने र स्थानीय बासिन्दालाई पर्यटन मैत्री संस्कार र सिप सिकाएर उनीहरूलाई नै पर्यटकहरूको सेवा सत्कार र व्यापारमा लाग्ने अवसर प्रदान गर्न सकियो भने सबै ठाउँमा पर्यटकहरू रमाएर घुम्ने, बस्ने र खर्च गर्ने वातावरण मिल्नेछ र त्यसले पर्यटकहरूको संख्या र बसाइँ वृद्धि गर्न मद्दत मिल्नेछ ।
घ) आन्तरिक पर्यटनमा जोड
वल्र्ड टुरिज्म काउन्सील भारतमा सन् २०१५ मा एक अरब ४३ करोड १९ लाख पटक आन्तरिक पर्यटकले भारतका विभिन्न ठाउँको भ्रमण गरेका थिए र यो संख्या पछिल्लो वर्षमा १६ प्रतिशतका दरले बढिरहेको छ । सन् २००१ मा पाकिस्तानमा आन्तरिक पर्यटकको संख्या करिब ५ लाख भएकोमा सन् २०१७ मा ८० लाख पुगेको थियो र आउँदो ५ वर्षमा एक करोड पुग्ने अनुमान गरिएको छ । छिमेकी देश चीनमा सन् २०२० मा आन्तरिक पर्यटकले २ अरब ३८ करोड पटक भ्रमण गर्ने सरकारको अनुमान छ । त्यसैगरी बंगलादेशमा वर्षेनी ७० लाख आन्तरिक पर्यटकले त्यहाँका विभिन्न ठाउँको भ्रमण गर्ने सरकारी अनुमान छ । नेपालमा कति आन्तरिक पर्यटकहरूले कुनकुन ठाउँमा भ्रमण गर्छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । सन् २०१७ मा लुम्बिनी भ्रमण गर्न गएका कूल १५ लाख ५२ हजार ५ सय ८६ पर्यटकहरूमध्ये ८०.६ प्रतिशत नेपाली नागरिक थिए । नेपाल जीवनस्तर सर्वेक्षण (सन् २०१०÷११) अनुसार नेपालको कूल जनसङ्ख्याको ११ प्रतिशतले पर्यटनको नाममा खर्च गर्छन् । त्यस हिसाबले करिब २५ लाख जनसङ्ख्याले पर्यटनमा केही न केही खर्च गर्छन् । यो संख्यालाई आधार मान्दा वर्षेनी ठूलो संख्यामा नेपालीहरू घुमफिर गर्न निस्कने गरेको देखिन्छ ।
नेपाल सरकारले आन्तरिक पर्यटन विकासलाई प्राथमिकता दिएको छ । पर्यटन नीति २०६५ ले पनि विभिन्न १६ वटा नीतिगत क्षेत्रहरूमध्ये आन्तरिक पर्यटनलाई एक प्रमुख राष्ट्रिय नीतिगत कार्यक्रमको रूपमा मान्यता दिएको छ । यसले आन्तरिक पर्यटनलाई पर्यटन व्यवसायको एक सहायक अङ्गको रूपमा विकास गर्ने लक्ष्य लिएको छ । आन्तरिक पर्यटनको विकासका लागि नेपाल सरकारले वि.सं. २०७३ लाई घुमफिर वर्षको रूपमा घोषणासमेत गरेको थियो । पर्यटन ऐन २०३५ मा गरिएको दोस्रो संशोधनले नेपाली पर्यटकहरू भन्ने शब्दाबली थपेर नेपाली नागरिकहरूलाई पनि पर्यटकको परिभाषामा राखेता पनि अन्य ऐनहरूले (उदाहरणका लागि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९) नेपाली नागरिकहरूलाई पर्यटक मान्दैनन् न त नेपाली पर्यटकहरूलाई ‘पर्यटक’ को गणनामा समावेश गरिएको छ । साथै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १२ को प्रतिबन्धात्मक बाक्यांशः कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्काे प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन ले नेपाली पर्यटकहरूले पर्यटकीय सवारी (टुरिष्ट बस) लगायतका सेवा–सुबिधाहरूको राम्ररी सदुपयोग गर्न समेत नपाएको अवस्था छ । पर्यटकीय स्थलहरूमा नेपाली पर्यटकहरूलाई मान्छे नै नगन्ने, उनीहरूलाई तोकिएको रकम तिर्दा पनि पर्यटकीय सेवा सुविधा प्रयोग गर्न नदिने गरेको गुनासो बारम्बार सुनिने गरिएको छ । आन्तरिक पर्यटकलाई बेवास्ता भएकै कारणले अहिलेपनि नेपालमा वर्षेनी ठूलो संख्यामा विद्यार्थीहरू, सहकारी संस्थाका पदाधिकारीहरू, सामाजिक संस्थाका कर्मचारीहरू, जनप्रतिनिधिहरू भ्रमणको लागि भारत, चीन, थाइल्याण्ड, श्रीलंका, दुबईजस्ता विभिन्न ठाउँमा पुग्ने गरेका छन् । घुम्न खोज्ने नेपालीहरूलाई पर्यटकको सुविधा उपलब्ध गराउने, विद्यालयको पाठ्यक्रममा स्थानीय क्षेत्रका पर्यटकीय स्थानको जानकारी दिने, बाल शिक्षणमा घुमाइबाट सिकाइलाई प्राथामिकता दिने काम गर्न सकियो भनेमात्र नेपालका सबै स्थानमा पर्यटकहरू घुम्न जाने वातावरण निर्माण हुन्छ । आन्तरिक पर्यटकहरूको घुमफिरको क्रम बढ्न सक्यो भने उनीहरू मार्फत नै देश विदेशमा नेपालको पर्यटकीय स्थल र अवसरको बारेमा प्रचार प्रसार हुन्छ जसले गर्दा नेपालमा दिगो पर्यटन विस्तार हुन सक्छ ।
ङ) स्थानीय उत्पादनमा जोडः
नेपालका सबै पर्यटकीय क्षेत्रमा विदेशी उत्पादनकै हालीमुहाली छ । खानेपानीदेखि भोजनसम्म, मेच कुर्सिदेखि डोरीसम्म विदेशी उत्पादन नै प्रयोग भैरहेको छ । यो अवस्थाले गर्दा नेपालको पर्यटन उद्योगले गरेको कमाइको ठूलो हिस्सा विदेशतर्फ नै गैरहेको छ । कुनै पनि ठाउँमा घुम्न जाने पर्यटकले स्थानीय स्वादका खाना, बसाइ र आतिथ्यता खोज्ने गर्छन् । तर, नेपालमा मौलिकता भन्दापनि अन्तर्राष्ट्रिय स्वाद पस्कन पर्यटन व्यवसायीहरू अघि सर्छन् । पर्यटकहरूले घुमफिर गरेर फर्कंदा स्थानीय चिनो लैजान खोज्छन् तर अहिलेसम्म नेपालमा स्थानीय ब्रान्डको भरपर्दो उत्पादन पर्यटकलाई बेच्न सकिएको छैन । स्थानीय कला, सीप र मौलिकता झल्कने सामाग्रीहरू पर्यटकलाई बेच्न सक्ने र उनीहरूले कोशेलीको रूपमा ती सामग्रीहरूलाई आफुसंग लैजाने बनाउन सकियो भनेमात्र पर्यटनबाट स्थानीय क्षेत्रले लाभ लिन सक्छ र पर्यटनबाट गरेको कमाई स्वदेशमै रोकिन सक्छ ।
च) पर्यटनमा अन्तरपालिका आवद्धताः
अहिले प्रदेश र धेरै स्थानीय सरकारले पर्यटनका योजनाहरू धमाधम बनाइरहेका छन् । नेपालका कुनैपनि स्थानीय तहका पर्यटकीय सम्पदाहरूले पर्यटकहरूलाई धेरै समय बसाल्न सक्दैनन् । पर्यटकीय स्थल र पर्यटकीय पूर्वाधारहरू फरकफरक पालिकाहरूमा हुने भएकोले एउटा स्थानीय सरकारको योजनाले मात्र पर्यटन विकास हुने र फाइदा लिन सक्ने देखिँदैन । पर्यटकहरूलाई बढीभन्दा बढी समय आफ्नो ठाउँमा टिकाइराख्न र उनीहरूलाई बढिभन्दा बढी सुबिधा दिनको लागि स्थानीय सरकारहरू विचमा अन्तरआवद्धता र सहकार्य हुनु जरुरी छ । स्थानीय सरकारहरूले पर्यटन योजना बनाउँदा एक अर्कोसँग आवद्ध हुने, एक अर्को भूगोलका सुविधाहरूको प्रयोग गर्ने गरि बनाउनु पर्छ । अन्तरपालिका पर्यटन आवद्धताले गर्दा श्रोतको उपयोग, बाँडफाँड गर्न, कार्यक्रमहरूमा दोहोरोपन आउन नदिन र आपसी विवाद आउने नदिन मद्दत पुग्छ । पालिकाहरूले संयुक्त रूपमा पर्यटनका नीति र कार्यक्रमहरू बनाएर काम गर्दा पर्यटकहरूले बढी सुबिधा प्राप्त गर्न सक्छन् र स्थानीय क्षेत्रले पर्यटनबाट दीर्घकालिन रूपमा फाइदा प्राप्त गरिरहन सक्छ ।
र अन्तमा,
विश्वमा पर्यटन क्षेत्र राष्ट्रिय अर्थतन्त्रको प्रमुख हिस्सा बनिरहेको भएपनि नेपालले प्राप्त गरेको उपलब्धि नगन्यमात्र छ । पर्यटकीय सम्पदा भएर पनि हामीहरूले पर्यटकलाई आकर्षित गर्न सकेका छैनौँ । पर्यटकीय सम्पदा हुँदैमा पर्यटकहरू आउँदैनन् भन्ने कुरा अहिलेसम्मको अभ्यासले देखाइसकेको छ । पर्यटनबाट दिगो लाभ लिनको लागि विश्व पर्यटन बजारमा नेपालको पर्यटनलाई मौलिक स्वरूपमा पस्कन सक्नुपर्छ । राज्यले पर्यटकीय पूर्वाधारको विकास गरिदिने र नेपालीहरूले देशभित्र घुम्नुपर्छ भन्ने भावनाको विकास गर्ने हो भने नेपाललाई पर्यटकको कहिल्यै कमी हुँदैन र पर्यटनको प्रचार गर्न कसैको मुख ताक्नु पर्दैन । आन्तरिक पर्यटक, स्थानीय पर्यटन स्वाद र पर्यटनमैत्री संस्कारको अभिवृद्धि गर्न सकियो भने दिगो पर्यटकीय लाभ हासिल हुने कुरामा शंकै गर्नु पर्दैन ।à