© २०२३
अर्घाखाँची, ७ पुस ।
एमाले सचिव टोपबहादुर रायमाझीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि अर्घा गाउँबाट सांसद हुनेको निरन्तरता रह्यो । २०४८ देखि ०७९ सम्मका चुनावमा एउटै गाउँका सांसद सधै चुनिए । यसपाली एमालेबाट रायमाझी र गठबन्धनबाट कांँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल गौतम प्रतिष्पर्धामा थिए । प्रदेशसभा १ मा पनि एमालेका चेतनारायण आचार्य निर्वाचित भए । तीनै जना अर्घाकै हुन । अर्घा गाउँ सन्धिखर्क नगरपालिका–१ मा पर्छ । हरेक चुनावमा आफ्नै गाउँका उम्मेदवारले चुनाव जित्दा अर्घाली उत्साहित छन् । रायमाझी यो सहित चौथो पटक निरन्तर चुनाव जिते ।
२०६४, ०७० र ०७४ मा निर्वाचित रायमाझी पटकपटक मन्त्री र उपप्रधानमन्त्री बन्ने अवसर पाए । पहिलो संविधानसभामा रायमाझी र भुसाल एकै पटक संसद् छिरेका थिए । रायमाझी तत्कालिन क्षेत्र नं. १ र भुसाल २ बाट निर्वाचित भए । ०७० मा पनि छुट्टाछुट्टै क्षेत्रबाट दुवै जना चुनाव लडे । रायमाझीले जिते, भुसाल पराजित भइन् । भुसाल ०७४ मा समानुपातिक सांसद बनेर काँग्रेस संसदीय दलको सचेतक हुँदै संघीय संसदको उपसभामुख बन्ने अवसर पाइन् ।
आचार्यले प्रदेश सांसदमा दोस्रो पटक निर्वाचित भए । ०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएर लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री बन्ने अवसर आचार्यले पाए ।
अर्घाकै रेवतीप्रसाद भुसालले कांँग्रेसबाट २०४८ र ०५१ को चुनावमा निर्वाचित भएर पर्यटन राज्यमन्त्री भए र कांग्रेस केन्द्रीय सदस्य भए । ०५६ मा राजमोबाट डिलाराम आचार्य निर्वाचित भए, उनी अहिले माओवादी केन्द्रको केन्द्रीय सचिव छन् । पञ्चायतकालमा पनि यही गाउँले जिल्ला चलायो । रेवतीप्रसादका पिता नारायणप्रसाद भुसाल २०१९ देखि ०२८ सम्म लगातार चार पटक चुनाव जितेर जिल्ला पञ्चायत भए ।
अर्घा रजस्थल माविका पूर्वशिक्षक शालिकराम भुसालले सधैंका चुनावमा अर्घाकै सांसद चुनिनु गौरव ठान्छन् । फररफरक पार्टीबाट अर्घा जन्मिएका नेता उम्मेदवार हुन्छन्, आलोपालो सबै निर्वाचित हुन्छन् । ‘यसरी एउटै गाउँका निरन्तर सांसद हुनु राजनीतिप्रतिको लगाव हो,’ उनले भने, ‘चुनाव जितेपछि हरेक सांसदले गाउँको विकासमा योगदान पु¥याएका छन् ।’
गाउँ विकासमा नमूना नै छ । सदरमुकाम सन्धिखर्क–धरमपानी–मिनिकोट–अर्घा सडक कालोपत्रे भएको छ । टोलबस्तीका सबै व्यवस्थित सडक छन् । सबैका घरमा विजुली पुगेको छ । घरघरमा खानेपानीका धारा छन् । सबै बालबालिका स्कुल पढ्छन् । मोवाइल फोन, इन्टरनेट, घरमा टेलिभिजन पुगेको छ । गाउँमै स्वास्थ्य चौकी छ । स्कुल भवन, मठमन्दिर सहित पूर्वाधारका काम धमाधम भैरहेको छ । मसुरपाटामा खेलकूद फिल्ड बन्दैछ ।
अग्लो डाँडामा रहेको अर्घामा सुन्दर हरियाली वनजंगल, चराचुरुङीको बथान छ । चिसो हावापानी सहित मनोरम दृश्यावलोकन अवलोकन गर्न सकिन्छ । अर्घा भन्दा अग्लो झाडी जंगल सहितको घोर्लासी चुचुरो छ । ढुंगा र जस्ता पाताका चिटिक्कका सुन्दर घर छन् ।
यहाँ परियार, नेपाली, विश्वकर्मा, गन्दर्भ, ब्राह्मण, क्षेत्री समुदाय मिलेरै बसेका छन् । ‘दलित वर्गलाई परम्परागत पेशालाई सीपमा परिवर्तन गरेर व्यावसायिक र आधुनिक बनाउन नेताहरु लाग्नुपर्छ,’ उनले भने, ‘युवा र महिलालाई सीपमूलक तालिम, घरेलु उद्योग, कृषि उद्य्ममा जोडेर गाउँमै रोजगारी दिनुपर्छ ।’ अर्घा प्राकृतिक दृश्य सहितको धार्मिक पटकीय स्थल हो । बाइसेचौबिसे राज्य छँदा अर्घामा राजाले शासन चलाएका थिए । नेपाल एकीकरणको सन्द्रभमा अर्घा र खाँचीका राजाले खर्कमा सन्धि गरे । त्यसपछि जिल्लाको नाम अर्घाखाँची र सदरमुकामको नाम सन्धिखर्क रहन गएको बुढापाका बताउँछन् । अर्घाका अन्तिम राजा दलजित राई थिए ।
अर्घा दरबार परिसरमा ठूलो भगवतीको मूर्ती प्रतिस्थापन गरिएको छ । दक्षिण एशियाकै ठूलो मुर्ती भनेर प्रचार गरिएको छ । मुर्ती हेर्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
दशैंको पूर्णिमाका दिन दरबार परिसरमै रहेको भगवती मन्दिरमा ठूलो मेला लाग्छ । हतियार नचाएर सराय जात्रा हुन्छ । सराय अर्घाबाट शुरुवात गरिएको भनाई छ । मन्दिरमा वली, परेवा, पुलपाती चढाइन्छ । अर्घाभगवती मन्दिरको दर्शन गरेपछि मनोकांक्षा पुरा हुने धार्मिक विश्वासले दैनिक जसो तीर्थालु यहाँ आउँछन् ।
धार्मिक पर्यटकको संख्या बढ्दो भएकाले अब सांसदले यहाँ होटल, रेष्टुरेन्ट, पुजा सामाग्री पसल खोलेर युवालाई व्यावसायिक बनाउनुपर्ने उनको सुझाव छ । गाउँमै युवालाई रोजगारीका अवसर सृजना गरेर बसाइसराई रोक्नुपर्ने उनले बताए ।
यसरी लगातार उम्मेदवार, सांसद र मन्त्री एउटै गाउँका हुनु राजनीतिप्रतिको सक्रियता हो । ‘कसैको निजी तरिकाले एउटै गाउँका सधै उम्मेदवार गराउने अवस्था होइन,’ अर्घामा जन्मिएका अधिवक्ता जगन्नाथ भुसालले भने, ‘राजनीतिप्रतिको क्रियाशिलता, लगाव, त्याग समपर्ण र देनले हो । विद्यार्थी देखि नै अर्घामा मान्छे राजनीतिप्रति र समाजिक काममा उत्प्रेरित छन्, त्यही भएर एउटै गाउँका सांसद भएका हुन् ।’
राजनीतिप्रति चासो र सक्रियताले पार्टीको नेतृत्व तहमा पुग्छन् । परिवर्तनको आन्दोलनमा पनि अर्घा गाउँको महत्वपूर्ण देन छ ।
उनका अनुसार पञ्चायत र राणा शासनमा पनि यस्तै सक्रियता थियो । अर्घामा बाइसेचौबिसे राज्यको मुकाम अर्घारजस्थल थियो । त्यतिबेला राजासित नजिक हुने, गाउँको मुखिया माग्ने गरेर शासन गर्न सिकेका थिए । त्यही लगाव पछिल्ला पुस्ताले निरन्तरता दिए ।
अर्घामै १९९० सालमा संस्कृत पाठशाला खुल्यो । पढ्ने लेख्ने गरेर त्यतिबेला विभिन्न ठाउँमा जागिरे पनि घरैपिच्छेका थिए । ‘अर्घाका राजाबाटै राज्य सञ्चालन, समाजसेवा गर्न अघिल्लो पुस्ताले सिक्नु, त्यही अहिलेकाले निरन्तरता दिनु र राजनीतिप्रति रुची राखेर निरन्तरता दिनु हो,’ भुसालले भने, ।
आशा परियार अर्घा गाउँ शहरमा जस्तै सुविधा भएको बताउँछिन् । तीन दशक अघि गाउँमा बाटो थिएन । सदरमुकाममा नून, चामल बोकेर घण्टौं पैदल हिंडेर ल्याउनुपथ्र्याे । अहिले गाडी चल्छन् । ट्याक्सी सुविधा छ । २० मिनेट भित्र सदरमुकामबाट घरमै सामान ल्याएर ट्याक्सी आइपुग्छ ।
यहाँ जन्मिएर सांसद जितेपछि मन्त्री भएर चर्चित नेता भएको सुन्न पाउँदा खुसी लाग्ने उनले बताइन । ‘गाउँको विकास गरेकै छन्, त्यसैमा हामी खुसी छौं,’ उनले भनिन, ‘व्यक्तिलाई जागिर लगाइदिउ भनेर भनेका छैनौं । भोट दिन्छौं, विरामी पर्दा ऋण खोजेर उपचार, दुःख पर्दा आफै समस्या हल गर्छौ, नेतालाई पैसा लिउ भनेर भन्दैनौं ।’
यहाँबाट जितेपछि देश हाँकुन, राम्रो काम गरुन । अहिलेसम्म कुनै नेताले नराम्रो काम गरे, भ्रष्ट्रचारमा मुछिए भन्ने सुन्न नपाउँदा आफुुहरुलाई यसैमा खुसी लागेको स्थानीय झविलाल परियारले बताए । ‘पाखुरा बजारेर, दुःख गरेरै ज्यान पाल्छौं,’ उनले भने, ‘जागिर दे भनेर सताउँदैनौं, देशको नेतृत्व गरुन यसैमा हामीलाई गर्व छ ।’ हरेक पाटीको केन्द्रीय स्तरका नेता अर्घा र जिल्ला नेतृत्वमा छिमेकी गाउँ बाँगीका छन् ।