© २०२३
जीत बहादुर शाह
आफूलाई शैक्षिक यात्री भन्न रुचाउने अर्जुन भट्टले पैसा नै नपर्ने र परे पनि कम मूल्य पर्ने सामग्रीको प्रदर्शन र प्रयोग गरेर यसलाई कक्षाकोठामा कसरी स्थानान्तरण गर्न सकिन्छ भन्ने बारेमा शिक्षक साथीहरूसँग छलफल चलाइरहेका थिए । कार्यक्रमको नाम थियो– एक्सन बेस्ड लर्निङ वर्कसप । वर्कसपमा सहजीकरणको क्रममा उनले आफूले बजार र सडकतिरबाट सङ्कलन गरेर ल्याएका सामग्री आफ्नो थैलोबाट घोप्ट्याएर सहभागीहरूलाई देखाए । उक्त सामग्रीहरूअन्तर्गत विग्रेको घडी, विग्रेको मोवाइल र विग्रेको क्यालकुलेटर पनि थिए । उनले विग्रेको मोवाइललाई हातमा लिएर सवैलाई देखाउदै भने– ‘यो मोवाइलले काम गर्दासम्म मान्छेलाई सबैभन्दा प्रिय यही मोबाइल लाग्थ्यो । घरमा भएका परिवारका सदस्यहरूलाई मान्छेले छोड्न सक्थ्यो तर यो मोबाइललाई छोड्न सक्दैनथ्यो । तर जब यसले काम गर्न छोड्यो अनि मानिसले यसलाई सडकमा फ्याँकेर हिँड्यो । त्यसैले प्रेम, सद्भाव र सम्मानको अस्तित्व कर्ममा रहेको हुन्छ । हामीलाई कसैले गर्ने प्रेम, सद्भाव र सम्मानमा तलमाथि ग¥यो भने सोच्नुपर्दछ कि हामीले गर्ने कर्ममा पनि केही तलमाथि भएको हुनुपर्दछ ।’
अर्जुन भट्टले गरेको यो कुराले मेरो मनको अन्तरकुन्तरसम्म छोयो र अहिलेसम्म पनि छोइरहेको छ । लाग्छः मेरो अस्तित्व रहँदासम्म पनि मेरो मनमा अर्जुन भट्टले भनेको यो कुराको पनि अस्तित्व रहनेछ । मैले उनले भनेको यो कुरालाई जीवनका हर पक्षमा हिसाव मिलान गर्दै गएँ र सवैतिर यसको हिसाव पनि मिल्दै गएको अनुभूत गरें । बोध र महशुस पनि हुँदै गयो कि आजको मानिस अरू समयकोभन्दा पनि बढि उपयोगबादी र उपभोगबादी भएको छ । उ आत्मिकभन्दा बढी नास्तिक भएको छ । उ भविष्यमाभन्दा पनि बर्तमानमा बाँच्न चाहन्छ भौतिक सम्पन्नतालाई प्राथमिकतामा राखेको छ । जो जतिबेलासम्म उपयोगी र काम लाग्ने हुन्छ मानिसले त्यसलाई त्यतिबेलासम्ममात्रै काखी च्याप्दै माया गरेर राख्छ । अन्यथा फ्याँकिदिन्छ विग्रेको घडी, मोवाइल र क्यालकुलेटर फ्याँकेजस्तै । मृत सत्यदेवीकोको देहलाई काँधमा बोकेर संसार परिक्रमा गर्ने शीवको शक्ति आजका मानिसहरूमा छैन । सुन्न र देख्न पनि पाइन्छ, आजका प्रेमी–प्रेमिकाहरूको बीचमासमेत कसले कति उपयोग गर्न सक्ने त्यसैमा प्रेमको मात्रा र स्तर निर्भर गर्दछ । शिवकोजस्तो त्याग र समर्पण खोज्नेहरू पागल र बहुलठ्ठीमा गनिन्छन् । काम गर्न सकेनन् भने आफ्नो जीवन दिने आमाबाबुलाई त बृद्धाश्रममा छोड्ने समय आइसक्यो भने अरूको के हिसाब भयो र ?
उपयोगबादी यो दर्शन र प्रबृत्तिले हाम्रो देशको सन्दर्भमा सार्वजनिक शिक्षालाई पनि नराम्ररी गाँज्न थालेको प्रष्टै देखिन्छ । दुर्गम र ग्रामीण भेकतिर त अझै यो समस्या चर्को रूपमा देखापरेको छैन । शहरतिर भने अभिभावक, समुदाय र विद्यार्थीहरूले सार्वजनिक शिक्षा छोडिसकेका छन् । त्रिभुवन विश्वविद्यालयका कतिपय विषयगत विभागहरू विना विद्यार्थीका भइसकेका छन् । प्राध्यापकहरूले हाजीर गरेर तल खान्छन् अध्यापन गरेर होइन । कुनै बेला विद्यार्थीले खचाखच भरिएका शहरी क्षेत्रका सामुदायिक कलेज र विद्यालयका कक्षाकोठाहरू समेत आज रित्ता र खण्डहर भइसकेको अवस्था छ । यसको कारण स्पष्टै छ कि हाम्रा सार्वजनिक शिक्षाका निकाय र त्यहाँ काम गर्ने जनशक्तिले आफूलाई समयअनुसार बदल्न सकेनन् । अर्जुन भट्टले भने झै उनीहरू कामयावी हुन सकेनन् । उनीहरू आजका विद्यार्थी र अभिभावकका दृष्टिमा उपयोगी हुन सकेनन् । सरकारले उनीहरूको उचित ब्यवस्थापन गर्न सकेन । त्यसैले पनि उनीहरूलाई सरोकारवालाले कुकुरले हड्डी छोडे झै छोडिरहेका छन् र छोड्ने क्रम जारी छ ।
केहीलाई अपवाद मान्ने हो भने हिजोआज शहरतिरका विद्यालयहरूको अध्ययन र अनुगमन गर्दा बोध हुन्छ कि विद्यार्थीहरूको सङ्ख्या बर्षेनी घट्दो छ । पहिले पहिले धनी–गरिब, सम्पन्न–विपन्न, शिक्षित–अशिक्षित, पढेका–नपढेका सवैले सार्वजनिक विद्यालयलाई नै गन्तब्य बनाएका थिए । मन्त्रीदेखि माग्नेका सन्तानहरूले समेत त्यहीँ अध्ययन गर्थे । अव भने त्यस्तो रहेन । सामुदायिक विद्यालयहरूबाट धनी, सम्पन्न, शिक्षित र पढेलेखेकाहरूले टाटा बाई गरेर निस्के । मन्त्रीहरूका सन्तानहरूले त झन् देशै छोडिसकेको अवस्था छ । अव हाम्रा सामुदायिक विद्यालयहरू गरीव, विपन्न, अशिक्षित, निरक्षर र मगन्तेका सन्तानहरूका निम्ति मात्र भएका छन् । अरूका त भएनन् नै । त्यही विद्यालयमा पढाउने अध्यापकहरूका सन्तानहरूकानिम्ति समेत ती विद्यालयहरू भएनन् । उनीहरूका सन्तानहरू पनि निजी विद्यालयतिरै जान्छन् । सामुदायिक विद्यालयतिर जाने त उनीहरू मात्रै हो, त्यो पनि जागीर खानका लागि । हामी आफू जहाँ काम गर्छौं त्यो विद्यालय ठीक छैन भनेर आफ्ना सन्तानहरूलाई अन्यत्र पठाउने दुःखद् विडम्बना भएका देशहरू मलाई लाग्छन् विश्वमा एकाध होलान्, जसमा हामी पनि पर्ने गर्छौ्रं ।
आफूले जागीर खाने सरकारी विद्यालय अगतिलो भयो भनेर सन्तानहरू निजीमा पठाउने तर जागीर भने सरकारीमा नै खाइरहने यो प्रचलन धेरै दिन टिक्दैन र टिकाउनु पनि हँुदैन । यसो हुनु भनेको देशको शैक्षिक पद्धति र शिक्षा नीति असफल हुनु हो । शिक्षा, शैक्षिक पद्धति र शैक्षिक नीति असफल हुनु भनेको समग्रमा देश असफल हुनु हो । किनभने देश सफल हुने तर देशको शिक्षा क्षेत्र असफल हुने कहि पनि हँुदैन । देश गतिलो बनाउने भनेको मान्छे गतिलो बनाउने हो । मान्छे गतिलो बनाउने भनेको शिक्षाले हो । त्यसैले गतिलो र गुणस्तरीय शिक्षा भनेको देशलाई समुन्नत बनाउनका लागि एउटा गतिलो साधन हो । अतः शिक्षालाई गतिलो बनाउने हो भने सवैभन्दा पहिले त्यहाँ काम गर्ने शिक्षकहरू गतिलो हुनुपर्दछ । शिक्षाका अध्येताहरू भन्ने गर्दछन्– ‘कुनै पनि देशको शैक्षिक पद्धति त्यो देशका शिक्षकहरू भन्दा राम्रो हुन सक्दैन ।’यसबाट प्रष्ट हुन्छ कि शिक्षकहरू राम्रा हुनुको विकल्प छैन । शिक्षा क्षेत्र र समग्रमा देशलाई समुन्नत बनाउने हो भने सरकारले राम्रो जनशक्तिलाई शिक्षामा आकर्षित गर्नुको पनि विकल्प देखिँदैन ।
शैक्षिक क्षेत्र राम्रो र उत्पादनशील बनाउनका लागि सर्वप्रथम त सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउनु पर्दछ । विश्वको अभ्यासलाई नियाल्ने हो भने क्यूवाले कुल ग्राहस्थ्य उत्पादनको १२.९ प्रतिशत बजेट शिक्षामा लगानी गरेको देखिन्छ । स्केन्डेनिभियन मुलुकहरूले कुल ग्रार्हस्थ्य उत्पादनको ७ प्रतिशत भन्दा बढि लगानी गरेको देखिन्छ । राजतन्त्रात्मक मुलुक भुटानले समेत कुल ग्रार्हस्थ्य उत्पादनको ७.४ प्रतिशत बजेट लगानी गरेको देखिन्छ जब कि नेपालको यो स्थिति ३.७ प्रतिशत रहेको छ । नेपालको सन्दर्भमा २०६७÷०६८ मा कुल बजेटको १७.१ प्रतिशत पुगेको शिक्षाको बजेट २०७५÷७६ मा आएर १०.२ मा सीमित भएको देखिन्छ । शिक्षामा धेरै लगानी गर्ने देशहरू धनी भएकाले मात्र त्यसरी लगानी गर्न सकेका हुन् भन्ने भ्रम हामीसँग छ । त्यसो होइन, बरु ती देशरुले शिक्षामा मनग्गे लगानी गरेका कारणले नै तिनीहरू धनी हुन सफल भएका हुन् । त्यसैले हाम्रो देशमा पनि कुल बजेटको २० प्रतिशतको हाराहारीमा र कुल ग्रार्हस्थ्य उत्पादनको ७÷८ प्रतिशतको हाराहारीमा बजेट लगानी नगर्दासम्म शैक्षिक क्षेत्रको समुन्नति सम्भव देखिँदैन ।
अर्को महŒवपूर्ण कुरा भनेको राम्रा र सक्षम मानिसहरू शिक्षकमा प्रवेश गराइनुपर्दछ । यसका लागि अहिलेकोजस्तो सवैभन्दा कम ग्रेड ल्याएकालाई शिक्षा संकायमा भर्ना गर्ने पद्धतिलाई अविलम्ब हटाइ राम्रो ग्रेड ल्याएकालाई उक्त संकायमा प्रवेश गराइनुपर्दछ । थर्ड डिभिजन होल्डर शिक्षक राखेर फष्र्ट डिभिजन होल्डर विद्यार्थी उत्पादन गर्न खोज्नु भनेको हास्याष्पद भन्दा अरू हुन सक्दैन जुन हाम्रोमा भइरहेको छ । यसकासाथै विभिन्न फ्याकल्टी टप गर्ने गोल्ड मेडलिष्टहरूलाई फिनल्यान्ड लगायतका देशहरूले गरेजस्तो शिक्षा क्षेत्रमा प्रवेश गर्नका लागि आकर्षित गर्न सक्नुपर्दछ । समाजमा राम्रो छवि बनाएका नैतिक र चरित्रबान मानिसहरू शिक्षकमा आउनका लागि सेवा प्रवेशकै समयमा त्यसप्रकारका परीक्षा लिनु पर्दछ । त्यसो भयो भने आफूले अध्यापन गर्ने विद्यालयमा राम्रो अध्यापन हुँदैन भनेर आफ्ना सन्ततिहरूलाई अर्को विद्यालयमा अध्ययन गर्न पठाउने प्रचलनको स्वतः अन्त्य हुन्छ ।
धेरै शिक्षकहरूले त सेवामा प्रवेश भइसकेपछि आफूले ल्याएर आएको उर्जा र उत्साह क्रमशः निराशामा बदलेको भोगाइहरू छन् । यसो हुन नदिनका लागि शिक्षकहरूलाई आग्रह र पूर्वाग्रहका आधारमा होइन कि उसले पेशाप्रति देखाएको त्याग र समर्पणका आधारमा मूल्याङ्कन गरी तदनुसारको जिम्मेवारी र सेवा सुविधा प्रदान गर्नु पर्दछ । सिकाइमा १०÷२०÷७० को सिद्धान्तलाई ब्यवहारमा उतार्न सक्नु पर्दछ । भन्नुको मतलव एउटा शिक्षकले विद्यालय र विश्वविद्यालयबाट उसले सिकेको कुल सिकाइको १० प्रतिशत सिक्दछ, पेशासँग सम्बन्धित तालिम र गोष्ठीहरूबाट २० प्रतिशत सिक्दछ र बाँकी ७० प्रतिशत उसले काम गर्दा गर्दै सिक्दछ भन्ने मान्यतालाई मूर्तरूप दिनु पर्दछ । यसका लागि अध्ययन, अनुसन्धान र नवप्रवर्तनात्मक कार्यहरूमा शिक्षकहरूलाई संलग्न र सहभागी हुने गरी प्रोत्साहन र प्रमोसनलाई जोडिनुपर्दछ । यसले शिक्षकलाई विग्रेको घडी, मोवाइल र क्याल्कुलेटर हुने खतराबाट जोगाउँछ ।
विद्यालय र विद्यार्थीका लागि कस्तो विधि र विषयवस्तुको जानकारी भएको शिक्षकको खाँचो छ त्यही सक्षमता भएकोे शिक्षक भित्रिने गरी शिक्षक छनौटको पाठ्यक्रममा पनि परिमार्जन गर्न आवश्यक छ । पाठ्यक्रममा आइटी एवम् कम्प्यूटर शिक्षालाई अनिवार्य रूपमा समावेश गरिनुपर्दछ । मातृभाषा एवम् अङ्ग्रेजी भाषामा पनि उत्तिकै दख्खल भएको ब्यक्ति शिक्षकमा आउनुपर्दछ । आधारभूत तहमा गीत सङ्गीत र नृत्यको बारेमा सीप भएको ब्यक्ति शिक्षक हुनु पनि त्यत्तिकै आवश्यक छ । यति हुँदाहुँदै पनि शैक्षिक क्षेत्रमा सुशासन भएन भने राम्रो जनशक्ति पनि ‘सरकारी काम कहिले जाला घाम’ भन्नेतिर लाग्छन् । त्यसैले यसतर्फ पनि गम्भीर हुन जरुरी छ, सवैलाई चेतना भया ? email: [email protected]